क्रुद्ध नेता, तुच्छ बोली र लगाम

सम्पादकीय
भनिन्छ, बोलीमा भोलि हुन्छ अर्थात् भविष्य हुन्छ । कुन व्यक्ति वा नेता कस्तो बोल्छ ? यसले पनि धेरै अर्थ र महत्व राख्छ । कसैको बोलीले उसको व्यवहार, कार्यशैली र स्वभाव कस्तो छ ? सहजै अनुमान गर्न सकिन्छ । हुन त बोली र व्यवहार बिच अन्तर भयो भने पनि त्यो विश्वसनीय हुँदैन । हामीकहाँ राजनीतिमा बोलीलाई अझ विश्वास गरिदैन । किनभने नेताहरुले बोलीलाई आफ्नो ठेगानमा राख्न सकेका छैनन् । नेताहरु जे बोल्छन्, त्यो गर्दैनन्, जे बोल्दैनन्, त्यो गर्छन् । र त बोली र व्यवहार बिच ठुलो अन्तर देखिन्छ । यसमा अझ एकले अर्को पार्टी र नेताहरुका बिचमा हुने आरोप प्रत्यारोप, गाली, आक्रोश व्यक्त गर्नमा भने शीर्ष नेताहरु नै तुच्छ शैलीमा उत्रिने गरेका छन् । जुन आम रुपमा सुन्दा पनि असजिलो महसुस हुन्छ । तर, नेताहरु त्यसलाई नै आफ्नो उचाई र गौरव ठान्छन् । गाली, आक्रोश र कुण्ठा व्यक्त गर्नमै रमाउँछन् ।

भाषणमा एक दलले अर्को दलका कमजोरी औल्याउने, आरोप प्रत्यारोप स्वभाविक विषय हो । तर, अहिले कम्युनिष्ट पार्टीका शीर्ष नेताहरुको केही महिना यताको अभिव्यक्ति सुन्ने हो भने त्यसले नेताहरुको कद कदापि बढाउँदैन । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली, नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपालले एकअर्कालाई भाषणमा प्रयोग गरेको शव्दले भाषा र सभ्य समाजलाई नै लज्जित तुल्याइरहेको छ । द्वन्द्वात्मक भौतिकवादका शब्दजाल बुनेर श्रोतालाई बिलखबन्दमा पार्ने कम्युनिस्ट नेताहरु हिजोआज सार्वजनिक गाली बेइज्जतीमा उत्रिएर राजनीति, समाज र सभ्यताको दोहोलो काढ्न थालेका छन् । ओलीले नेपाल, प्रचण्डलाई–गद्दार, देशद्रोही, संसारमै सबैभन्दा बढी लाजसरम पचेको मान्छे, ‘कुपात्र’, ‘हरियो साँप’, ‘कुहिएको फर्सी’ र ‘उम्रिन नसकेको प्युसो’, कुहिएर झरेका पात, फोहोरको झिँगा, मधु–कैटभ जस्ता शव्द प्रयोग गरिरहेका छन् भने नेपाल प्रचण्डले ओलीलाई निरंकुश, स्वेच्छाचारी, विखण्डनकारी, हिन्दु अतिवादी, दक्षिणपन्थी, सत्तालिप्सा, स्वेच्छाचारी एवं सर्वसत्तावादी चरित्र, गफाडी, अहंकारी र दम्भीको उपमा दिएका छन् ।

राजनीतिमा स्वस्थ प्रतिस्पर्धी सोच जरुर चाहिन्छ । जित्नका लागि या सत्ता प्राप्तिका लागि जे पनि गर्ने नियतले राजनीति प्रदुषित बन्छ, देश प्रणाली, बिधिमा चल्न सक्दैन । फरक फरक आस्था, विचार, सिद्धान्त बोक्ने भएकाले पार्टी फरक हुन सक्छ । तर, मर्यादित, भद्र र शालीन रूपमा पनि आफ्नो असहमति वा फरक मत राख्न सकिन्छ भन्नेमा शीर्ष नेताहरु नै चुकिरहेका छन् । यस्तो लाग्छ कि भाषण भनेको गाली, कुण्ठा, आक्रोशको बैजनी रंग हो । घृणायुक्त शब्दहरूको सहारा लिने, विषयलाई उत्तेजित रूपमा पेस गर्ने र अनेकन तुच्छ बिम्ब मार्फत विरोधीमाथि खनिने शीर्ष नेताको शैलीले सभ्य, भद्र र भाषिक मर्यादा सहितको सार्वजनिक भाषण बिर्साउँदै लगेको छ । यो नेपाली समाजका लागि दुर्भाग्य हो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *