डा. सरोज कुमार राय
धौलागिरी आयुर्वेद औषधालय,बागलुङ
जब कुनै व्यक्ति खाना खाइ सके पछि उसमा असहज हुन्छ वा खाना खाए पछि उक्त खाना अपच हुन्छ वा उक्त खानाबाट पेटमा ग्याँस बढी हुन जान्छ भने यस्तो समस्यालाई ग्यास्ट्रिक भएको भन्ने गरिन्छ । बोलिचालीमा ग्यास्ट्रिक भनेर चिनिने यो रोगलाई चिकित्सकीय भाषामा ग्यास्ट्राइटिस भनिन्छ । आमाशयको नरम झिल्ली सुन्निनुलाई नै ग्यास्ट्राइटिस भनिन्छ ।
ग्यास्ट्राइटिस हुने कारणः
हाम्रो जस्तो विकासोन्मुख देशमा ग्यासट्राइटिस बनाउने मुख्य कारण भनेको एच.पाइलोरी व्याक्टेरिया नै हो । यो व्याक्टेरिया दूषित पानी, खाना तथा मान्छेको ¥यालबाट सर्छ र पेट भित्र पुग्छ । पेटमा आमाशयको झिल्ली भित्र बस्छ । यो एच.पाइलोरी व्याक्टेयरियाले ग्यास्ट्राटाइटिस मात्र हैन, अल्सर हुँदै पछि गएर क्यान्सर समेत हुन्छ । एच.पाइलोरी व्याक्टेरिया भएका मध्ये अन्तिममा गएर एक प्रतिशत बिरामीलाई क्यान्सर पनि हुन्छ ।
यस बाहेक जथाभावी औषधि खाने, दुखाइ कम गर्ने औषधि बढी खाने कारणले पनि ग्यास्ट्राइटिस हुन्छ । खाली पेट बस्ने र समयमा नखाने गर्दा पनि ग्यास्ट्राइटिस हु्न्छ । हामी धेरै पिरो, अमिलो, चिल्लो खान्छौं । तीनले ती भागमा संक्रमण बनाउन मद्दत गर्छन् । साथै गलत जीवनशैली जस्तो, समयमा नसुत्नु, धुम्रपान र मद्यपानको प्रयोग, बढी कामको दबाब हुनु । यस्ता कारणले पनि मानिसलाई ग्यास्ट्राइटिस हुन्छ ।
विकसित मुलुकमा ३० प्रतिशत मानिसमा देखिने यो रोग हाम्रो जस्तो गरिब मुलुकमा ९० प्रतिशत मानिसलाई देखिन्छ ।
ग्यास्ट्राइटिसको लक्षणहरुः
वाकवाकी लाग्ने
उल्टी हुने
मुटु दुख्नु
घाँटी पोल्नु
छाती पोल्ने समस्या हुनु
पेट पोल्ने समस्या आउनु
अमिलो डकार आउनु
अम्लपित्त बढ्नु
गनाउने डकार आउनु
पखाला लाग्नु
खाएको खाना नपच्नु
पेट दुख्नु, पेट फुल्नु वा कोखा दुख्नु
अमिलो डकार आउनु
मुखमा अमिलो पानी आउनु
खाना खान मन नलाग्नु
पेट बढ्नु
दैनिक दिशा नआउनु, कालो दिशा आउनु
भोक हराउनु
ढ्याउ–ढ्याउ आउने
पेट कराउने समस्या हुने
कब्जियत हुने
ग्यास्ट्राइटिसको पहिचान गर्ने तरिका
ग्यास्ट्राइटिस पहिचान गर्ने उत्तम तरिका भनेको इन्डोस्कोपी परीक्षण हो ।
ग्यास्ट्राइटिसको समयमा उपचार नहुँदा उत्पन्न हुने जटिलताहरूः
ग्यास्ट्राइटिसको समयमा नै उपचार नभए अल्सर तथा क्यान्सर हुन सक्छ । अल्सर भयो भने रक्तश्राव हुने, रगत वान्ता गर्ने, दिसाबाट रगत जाने हुन्छ । बारम्बार रक्तस्रावले गर्दा रक्तअल्पताका समस्या देखा पर्छ । यसैगरी, भिटामिन बी–१२ को अवशोषणमा चाहिने तत्वहरूको उत्पादन हुन नसक्दा परनिसियस रक्त अल्पता, स्नायु तथा नाडीहरूको क्षय, अन्ननली सुन्निनु, दम बढ्ने, मुखमा घाउ खटिरा आइरहने, आन्द्रामा घाउ हुने, खानाको पाचन र अवशोषण सुचारु नहुने र मल निष्कासनमा जटिलता आई कब्जियतका लक्षण देखा पर्न सक्छन् ।
त्यस्तै, पेटमा क्यान्सर भयो भने दुब्लाउँदै जाने, खान मन नलाग्ने, रगतको मात्रा कम हुने, शरीर सेतो हुँदै जाने जस्ता लक्षण देखिन्छन् ।
उपचार तथा यसबाट बच्ने उपाय ?
ग्यास्ट्राइटिस धेरै कारणले हुने रोग हो । तीव्र ग्यास्ट्राइटिस समयमै उपचार हुन सके रोग जीर्ण हुनबाट बचाई यसका अन्य जोखिम निवारण गर्न सकिन्छ । तसर्थः चिकित्सकको निगरानीमा रोगको निदान तथा उपचार गर्नुपर्छ । समयमा खाना खाने, समयमा सुत्ने, मद्यपान, धूमपान नगर्ने, शुद्ध पानी मात्र पिउने, आहार–विहारमा ध्यान दिने, अनिँदो नबस्ने, सकरात्मक सोंच राख्ने, चिन्ता नलिने गर्नुपर्छ ।
स्वस्थ जीवनशैली र योगः
दीर्घ र जीर्ण ग्यास्ट्राइटिसको ठूलो हिस्सा जीवनशैलीसँग सम्बन्धित भएकाले जीवनशैली परिवर्तन गर्न नितान्त जरुरी छ । जीवनशैली परिवर्तन भनेको भोजन, व्यायाम, विश्राम, विचार र व्यवहारलाई स्वस्थमैत्री हुने गरी समायोजन गर्नु हो ।
दैनिक विहान व्रह्म मुहूर्तमा उठ्ने (सुर्योदय भन्दा १ घण्टा ३६ मिनेट अगाडी) उठ्ने गरौं
दैनिक कम्तीमा ४८ मिनेट (१ मुहूर्त) वाशरीरको अर्धबलसम्म योगाभ्यास÷व्यायाम गरौं , त्यसपछि तेलले सम्पूर्ण शरीरमा अभ्यंग गरीसकेपछि उद्वर्तन÷उबटन लगाउने र स्नान गर्ने गरौं
अंग व्यायाम, रिढ व्यायाम, शिथिलीकरण व्यायाम, प्रातः भ्रमण, दौडिने, सूर्य नमस्कार जस्ता व्यायाम ग्यास्ट्राइटिसमा उपयोगी हुन्छन् ।
त्यस्तै बज्रासन, पवनमुक्ताशन, सर्वांङआसन, मत्स्यन्द्र, भुजंग, उदारकर्श र धनुराशन, ताडाशन, त्रियकताडाशन जस्ता आसनविधिको अभ्यास
कपालभाती, नाडी शोधन, शीतली, सित्करी, भ्रामरी प्राणायामको अभ्यासले पनि यस रोगमा फाइदा पुर्याउछ ।
जलनेती (नाकको सफाइ), वमनधौती (पेटको सफाइ), शंखप्रक्षालन (सम्पूर्ण पाचन प्रणालीको सफाइ) जस्ता उपचार पद्धतिले ग्यास्ट्राइटिस समनमा ठूलो सहयोग पुर्यापउँछ ।
तर, यी विधिहरूको पालना चिकित्सकको परामर्श वा प्रत्यक्ष निगरानीमा गर्नुपर्छ ।
हानिकारक मानिएका खाना छाडेर रेसा र चोकरयुक्त खस्रामोटा खानेकुराहरू, साग–सब्जी, सलाद–फलफूल र अंकुरित अन्न, फलको रस, ताजा मोही, लस्सीको सेवन ग्यास्ट्राइटिसमा उपयोगी हुन्छ । फ्लेवेनाइडयुक्त पदार्थहरू जस्तैः स्याऊ, स्ट्रबेरी, मेवा, लसुन, प्याज, हिङ, जीरा जस्ता खाद्य पदार्थलाई भोजनमा समावेश गर्नुपर्छ ।
आरामदायी आसनमा बसेर मौनधारण गरी शारीरिक अवस्था, पाचन शक्ति र ऋतु अनुसारको भोजन गर्ने, दैनिक भजनमा ५ ग्रामभन्दा बढी नुनको प्रयोग नगर्ने, दैनिक २–३ ली. उमालेर सेलाएको मनतातोपानी खाने गरौं
दैनिक २५०–४०० ग्राम काँचो सलाद,उमारेको गेडागुडी र फलफुलको प्रयोग भोजनमा गर्ने, सकेसम्म आफ्नै बारीमा उब्जिएको अन्न तथा तरकारीको प्रयोग गरेर घरमै तयार गरेको भोजन गरौं
साझ ६–७ बजेसम्म भोजन गरेर १–२ घण्टा पछि करिब ८ बजे आरामदायी शैयामा सुत्ने बानी बसालौ