सांसद आलम, बदनाम वकिल र बहस

सम्पादकीय
पछिल्लो केही महिना यता एउटा बिभत्स घटनाको समाचार, उक्त घटनामा बिशिष्ट माननीय अभियुक्तको रुपमा पक्राउ, अनेक आन्दोलन, चलखेल र त्यसपछि अदातलमा भइरहेको बहसले देश तरंगित छ । इँटाभट्टामा जिउँदै मान्छे जलाउने गम्भीर अपराधमा संलग्न मोहम्मद अफ्ताब आलमको पक्षमा बहस जारि छ । अझ उक्त बहसमा नेपालका चर्चित कानुन व्यवसायीहरुले चर्को पारिश्रमिकमा बहस गरेको बिषय थप अर्को प्रश्न र बहसको बिषय बनेको छ । घटनाको पृष्ठभुमी, त्यस क्रममा भएका योजनावद्ध प्रयास, षड्यन्त्र, सरुवा, धम्की सबै बिषयको तथ्य मुलधारका मिडियाले दैनिकजसो सार्वजनिक गरिरहेका छन् । यद्यपी, अझै पनि आलम आतकं, अपराधको बिषय र यथार्थ के हो त ? त्यो अदालतले फैसला गर्ने बिषय भयो । यतिबेला उठान गर्न खोजिएको बिषय र बहस भनेको प्रतिष्ठित वकिलहरुले यस्तो चौतर्फी बदनाम र बिभत्स मुद्धाका आरोपितको पक्षमा किन र कसरी बहस गरिरहेका छन् ?

निश्चय पनि यो अहिले सतहमा छ । यसका बिभिन्न पक्षका बारेमा हामी सबै प्रष्ट हुन जरुरी छ । अहिले आलम मात्र होइन, बहस गरेका वकिलहरुको पनि पक्ष बिपक्षमा सामाजिक सञ्जालदेखि चियापसल र सार्वजनिक मञ्चहरुमा छलफल र बहस भइरहेको छ । बम विस्फोटका घाइतेलाई समेत इँटाभट्टामा हालेर जलाएको अभियोग लागेका आलमको पक्षमा बारका तीन पूर्वअध्यक्ष शम्भु थापा, प्रेमबहादुर खड्का र शेरबहादुर केसी तथा पूर्वमहासचिवद्वय रमण श्रेष्ठ र सुनील पोखरेलसहित ३३ अधिवक्ताले वकालत गरिरहेका छन् । यसरी यति भयभित घटनामा प्रतिष्ठित वकिलहरुले पक्षमा बहस गरेपछि वकिलहरुको व्यापक आलोचना समेत गरिएको छ । के वकिलहरु जतिसुकै प्रतिष्ठित होउन्, उनीहरु पैसा पाए पछि जस्तो मुद्धा र सवालमा पनि बहस गर्ने हो ? आँफ्नो नैतिकता र विवेक प्रयोग गर्ने की नगर्ने ? एक फेसबुक प्रयोगकर्ताले त गम्भिर प्रश्न उठाउँदै फेसबुकमा लेखेका छन् । के भोलीका दिनमा तपाईहरु मध्ये कुनै वकिलको श्रीमति या छोरी चेलीलाई कसैले बलात्कार गरे त्यो अवस्थामा पनि पेशागत र व्यवसायिक जिम्मेवारी हो भने पीडककै पक्षमा बहस गर्नुहुन्छ ? निश्चय पनि अहिलेको आलम प्रकरण र त्यसपछि प्रतिष्ठित वकिलहरुले गरिरहेको बहसले अब नेपाली समाजमा पेशागत र व्यवसायिक जिम्मेवारीको सीमाका बारेमा पनि छलफल गर्नुपर्ने आवश्यकता देखिएको छ ।

यो सत्य हो की हरेक आरोपित र अभियुक्तले आँफुलाई अदालत मार्फत निर्दोष प्रमाणित गर्ने अधिकार राख्छन् । त्यो नेपालको संविधानले गरेको व्यवस्था हो । यस अर्थमा कानुन व्यवसायीले आरोपितको पक्ष र बिपक्षमा बहस गर्ने पेशागत र व्यवसायिक अधिकार राख्छन् । तर, यो बिर्सनु हुँदैन की आँफुले गरेको बहसले वर्तमान समाजलाई के दिन्छ ? र त्यसले भोलीलाई कुन दिशामा निर्देश गर्छ ? पेशागत जिम्मेवारी, व्यवसायिकता र सामाजिक उत्तरदायित्व सहितको पेशागत भुमिका फरक फरक कुरा हुन् । यदी कुनै वकिलले रोजिरोटीका लागि मात्र बहस गर्छ भने यो स्वभाविक हुन सक्छ । तर, त्यस भन्दा माथि उठेर सामाजिक उत्तरदायित्व बहन गर्छु र यसको अभियन्ता पनि बन्छु भन्छ भने त्यो अशोभनिय हुन्छ । ‘जसको पनि’ मुद्दा लड्ने वकिलले अरूलाई अर्ति उपदेश दिन मिल्दैन किनकि उसको सामाजिक दायित्व हुँदैन, केवल व्यक्तिगत र पेसागत दायित्व मात्र हुने कुरामा सबै प्रष्ट हुन जरुरी छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *