सम्पादकीय
बिधि चाहे सामाजिक सघं संस्थामा होस् या राजनीतिक पार्टी, राज्य सञ्चालनमा होस् । यो अपरिहार्य कुरा हो । तर, बिधि धेरैका लागि ओठमा जप्ने अस्त्र मात्र भएको छ । व्यवहारतः समस्या, जटिलता, वैमनस्यता देखिन्छ । सामाजिक संघ संस्थाहरु चरम विवादको उल्झनमा फस्ने गरेका छन् भने बिधिको यथेष्ट प्रयोग अभ्यास विना राजनीतिक पार्टीहरु विवाद हुँदै विभाजनसम्म पुगेका दर्जनौ उदाहरणका फेहरिस्त छन् । सरकार बिधि सम्मत रुपमा नचल्दा तीब्र आलोचनाको सिकार हुने गरेको छ । तर पनि बिधि, पद्धति र प्रणालीको अभ्यासमा गम्भीरता पूर्वक लाग्ने सोच र संस्कार नेपाली समाज र राजनीतिमा अझै देखिदैन । यो नेपाल र नेपालीकै लागि बिडम्बनाको विषय हो ।
कुनै पनि समाज या देश कस्तो अवस्थामा चलिरहेको छ भन्ने बुझ्न त्यसको बिधि, पद्धति र प्रणाली नै मुख्य रुपमा हेरिन्छ । हामीकहाँ बिधि भन्दा पनि व्यक्ति प्रधान देखिन्छ । अहिलेको सरकार र राजनीतिक पार्टी सञ्चालनका तौरतरिकाहरु हे¥यौ भने पनि यति बुझ्नका लागि काफी हुन्छ । तत्कालीन नेकपा पार्टी सञ्चालनकै बिधि पद्धतिको विषयलाई लिएर चरम विवादको सिकार बन्यो । पछि सर्वोच्च अदालतले फुटाएर पुरानै अवस्थामा एमाले माओवादी बनाइदियो । अहिले पनि यी दुवै पार्टीमा नेता प्रधान कि नीति प्रधान भन्ने अन्यौल देखिन्छ । भन्दा बिधि पद्धतिको कुरा गरे पनि व्यवहारमा स्वेच्छाचारी शैली नै नेताहरुले अपनाइरहेका छन् । कम्युनिष्ट पार्टीमा मात्रै होइन, १४ औं महाधिवेशनमा होमिरहेको नेपाली कांग्रेसमा पनि बिधिको समस्या व्याप्त छ ।
जेसीजकर्मीहरुको मननीय नारा छ, ‘शासन व्यक्तिको होइन, बिधिको हुनुपर्दछ ।’ दुर्भाग्य भन्नुपर्छ, हामीकहाँ शासन बिधिको होइन,व्यक्तिको बोलवालामा चलिरहेको छ । बिधि, पद्धति, प्रणालीले के भन्छ ? के खोज्छ ? त्यसको सर्वथा नेताहरु बेवास्ता गर्छन् । सामाजिक संघ संस्थाका नेतृत्वकर्ता पनि मनोमानी गर्छन् । सत्ता र शक्तिका लागि जे गर्न पनि तयार हुने प्रवृत्तिले अनेकन समस्या सिर्जित छ । कहिल्यै विधिमा चल्नु नपर्ने, थितिमा बस्नु नपर्ने, बेथितिको जिम्मा लिनै नपर्ने जस्तो प्रवृत्ति ठुला भनिएकाहरुमै देखिन्छ । नेताले आदेश दिए पुग्ने र कार्यकर्ता आदेश कुरेर बस्नुपर्ने प्रवृत्ति व्याप्त छ । अब यस्तो गलत अभ्यास र प्रवृत्तिको सिकार बनिरहने कि नयाँ हिसाबले सोच्ने र बदल्ने ? यसमा सबैको गम्भीरता र ध्यान जान आवश्यक छ ।