कांग्रेस, पालिका अधिवेशन र परिदृश्य

सम्पादकीय
नेपाली कांग्रेसको १४ औं महाधिवेशनको चुनावी सरगर्मीले गाउँ शहर तातेको छ । राज्य सत्ता पछिको अर्को महत्वपूर्ण शक्ति आर्जन र अवसरको थलोको रुपमा हेरिने पार्टी सत्ता आफु र आफ्नो निकटको पक्षमा पार्न यतिबेला ठुलो रस्साकस्सी चलिरहेको छ । केन्द्रदेखि प्रदेश र स्थानीय स्तर सम्म नै कांग्रेसका नेता, कार्यकर्ता केन्द्रित र विभाजित छन् । केन्द्रीय स्तरमा जे जस्ता पार्टी गुट उपगुट समूहहरु छन् । तल्लो स्तरमा पनि त्यसको प्रभाव देखिएको छ । सुखद कुरा के भने अहिले कांग्रेसको गाउँ तह सम्म युवा नेतृत्वको आगमन भएको छ । राजनीतिलाई फोहोर खेल ठानेर वितृष्णा व्यक्त गर्ने पुस्ता राजनीतिमा आउनु सकारात्मक मान्नुपर्दछ ।

कांग्रेसको १४ औं महाधिवेशनले नेता कार्यकर्ता बिचमा ठुलो परिवर्तन र उत्साहको उभार निश्चित ल्याएको छ । यस महाधिवेशनको श्रृखंला यस्तो अवस्थामा सुरु भएको छ कि तीन तहको निर्वाचनमा पहिलो शक्तिबाट दोस्रोमा खुम्चिए पनि परिस्थितिवस संघीय सरकारदेखि केही प्रदेशमा कांग्रेस नेतृत्वमै गठबन्धन सरकार बनेको छ । यसले नेता कार्यकर्तामा स्वभाविक उत्साह छ । तर, कांग्रेसमा केन्द्रमा देखिएको गुट उपगुटको लफडा पालिका र वडा तह सम्मै पुगेको छ । र वडा तहमा समेत निर्वाचनबाट नेतृत्व चयन गरिएको थियो भने पालिका तहको निर्वाचनमा पनि अधिकांशमा संस्थापन र त्यस इतरको दुई समूहको चुनावी प्यानल नै बनिरहेको छ । गुटकै कारण केन्द्रीय नेताहरु वडा तहमै नराम्रो सँग पराजय बेहोरेका खबर सार्वजनिक भइरहेको छ भने एक अर्को पक्षलाई निषेध गर्ने राजनीतिको निर्मम परिदृश्य पनि अहिलेको निर्वाचनमा देखिएको छ ।

राजनीतिमा अन्तर पार्टी निर्वाचन प्रतिस्पर्धा जति कडा र निर्मम हुन्छ । त्यो भन्दा निर्मम पार्टीको आन्तरिक निर्वाचन देखिन थालेको छ । पार्टीमा राम्रो नेता भन्दा पनि गुट उपगुट बलियो बनाउने होडले राम्रो नभई गुटले जित्ने सम्भावना देखिएको छ । कांग्रेस मुलुककै सबै भन्दा पुरानो पार्टी हो । यो पार्टीले आफूलाई देशकै सबै भन्दा लोकतान्त्रिक पार्टी दाबी गर्छ । यसका लागि प्रतिस्पर्धा, विधि, पद्धति, प्रणालीलाई कांग्रेसले कुन रुपमा आत्मसाथ गरेको छ ? त्यो हेर्नुपर्दछ । अहिलेको गतिविधि र परिदृश्य हेर्दा कांग्रेसमा थुप्रै बेथिति गाँजिएर बसेको छ । अहिलेको अधिवेशन र नयाँ नेतृत्वले यसलाई तोडेर अघि बढ्न सक्नुपर्दछ । राम्रो भन्दा पनि हाम्रोलाई च्याप्ने प्रवृत्तिले कांग्रेस बलियो होइन, कमजोर बन्नेछ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *