बाङ्गेचौर बन्दैछ आधारभूत रङ्गशाला


–खेमराज गौतम, बागलुङ

बजेट अभावमा अल्झदै आएको बाङ्गेचौर खेल मैदानलाई स्तरोन्नती गरी रङ्गशाला बनाउने योजना बागलुङ नगरपालिकाले अगाडी बढाएको छ । बागलुङ नगरपालिका र संघीय सरकारको समपूरक साझेदारी बजेटमा रङ्गशाला निर्माणको काम यसै आर्थिक वर्षबाट प्रारम्भ गरिनेछ ।

घाँसेमैदानका रुपमा रहेको खेलमैदानलाई रङ्गशाला बनाउनका लागि बागलुङ नगरपालिकाले मात्रै आर्थिक वर्ष २०७९÷८० सम्म चार करोड रकम लगानी गर्ने भएको छ । बागलुङ नगरपालिका र राष्ट्रिय योजना आयोगले छनोट गरेको विषेश योजना अन्र्तगत आर्थिक वर्ष २०७९÷८० सालको असार मसान्त सम्म नगरपालिका र संघीय सरकारको संयुक्त रुपमा रु. ८ करोड २२ लाख बराबरको काम हुँने छ । जसमध्ये संघीय सरकार र नगरपालिकाको ५०÷५० प्रतिशत लगानी हुँनेछ ।

बागलुङ नगरपालिका–१ रामरेखामा रहेको उक्त मैदान अहिले घाँसे मैदानको रुपमा मात्रै छ । मैदानमा अहिले संरचनाको अभाव छ । रु. ८ करोड २२ लाख खर्चेपछि घाँसे मैदानको रुपमा रहेको खेलमैदान आधारभूत रङ्गशालामा परिणत हुने बागलुङ नगरपालिकाका नगर प्रमुख जनकराज पौडेलले जानकारी दिनुभयो ।

“नगरपालिकाले खेलकूद क्षेत्रमा समेत ठूलो लगानी गर्न थालेको छ, घाँसे मैदानको रुपमा रहेको बाङ्गेचौरमा हामीले आधारभूत रङ्गशाला निर्माणका लागि ठेक्का प्रकृयामा जान थालेका छौं” नगर प्रमुख पौडेलले भन्नुभयो “हामी निर्वाचित भएर आइसकेपछि ठूलो पहल र प्रयासका बीच खेलमैदानको स्तरोन्नतीका लागि राम्रै रकम बिनियोजन गरेका समेत छौं, आर्थिक वर्ष २०७९÷८० सम्ममा पाँच हजार दर्शकले एकैसाथ खेल हेर्न सक्नेगरी आधारभूत रङ्गशाला निर्माण हुँने हाम्रो अठोट रहेको छ ।”

तत्कालिन खेलकूद विकास समितिका अध्यक्ष धन बहादुर परियारको नेतृत्वमा तीन वर्ष अघि रंगशालाको बिस्तृत प्ररियोजना प्रतिवेदन (डिपिआर) तयार गरिएको थियो । डिपिआर तयारपछि छलफलका क्रममा केही संरचनाहरु थप भएका कारण डिपिआरमा उल्लेख भए भन्दा बढी लागत लाग्ने परियारले बताउनुभयो ।

झण्डै रु.३० लाख खर्चेर बनाइएको डिपिआर पछि सुझाव संकलनका क्रममा सरोकरावालाहरुको सुझावका आधारमा पार्कीङ्, ढोका, भित्री खेलका लागि संरचना लगायतका संरचना थप गर्न भनिएको थियो ।

बागलुङ नगरपालिकाका इन्जिनियर मनोज शर्माको अनुसार डिपिआरमा केही त्रुटी भएको छ । डिपिआरमा राखिएका संरचना ठिक भएपनि लागत अनुमान भने झण्डै आधा कम अनुमान गरिएको ईन्जिनियर शर्माको भनाई रहेको छ । “तीन वर्ष पुरानो डिपिआर हो, केही लागत अनुमान थोरै छ, तर उल्लेखति संरचना निर्माण गर्न धेरै खर्च लाग्छ” मनोज शर्माले भन्नुभयो “उल्लेख डिपिआरमा लागत अनुमान रु. ११ करोड भएपनि अहिले रु. ८ करोडको ठेक्का मार्फत गराईने संरचना रङ्गशालाको एक चौथाई मात्रै हुनेछ ।” सुविधा सम्पन्न रङ्गशाला निर्माण गर्न झण्डै ३० करोड भन्दा माथी लाग्ने अनुमान गरिएको छ । शर्माका अनुसार अहिले खेलमैदानको पूर्व तर्फ प्याराफिट लगायतको संरचना निर्माण थालिनेछ । अहिलेको रु.८ करोड २२ लाखको ठेक्का अन्र्तगत खेल मैदानमा दूबो लगाईने, पाँच हजार दर्शकले हेर्न मिल्ने प्याराफिट निर्माण गर्ने र सामान्य रुपमा खेलमैदानलाई मापदण्ड अनुसारको बनाईनेमात्रै काम हुनेछ । पछि बजेट थप हुँदै गएर पुन ठेक्का लगाएमा खेलमैदानको पश्चिम तर्फ संरचना निर्माण हुनेछ ।

राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको मध्यपहाडी पुष्पलाल लोकमार्गसंगै जोडिएको खेलमैदान सडकको मापदण्ड छोडेर अथवा सडकलाई भूमिगत गरेर मात्रै पश्चिम क्षेत्रका संरचना बनाइनेछ ।

खैल मैदान र खेल हेर्ने प्याराफिट, शौचालय, पार्कीङ लगायतका संरचना बनेपछि खेलकुदका गतिविधि गर्न निकै सहज हुँनेछ । संरचनाहरु पूर्ण रुपमा भूकम्प प्रतिरोधी समेत हुँनेछन् । बागलुङ नगरपालिकाले यस वर्ष खेलमैदानका लागि रु. एक करोड ७१ लाख नगरपालिकाको र एक करोड ७१ लाख संघीय सरकारको गरी चालु आर्थिक वर्षमा मात्रै रु. तीन करोड ४२ लाख रकम खर्च हुनेछ । रङ्गशाला ३५ रोपनी जग्गामा निर्माण गर्न थालिएको छ ।

लामो समयको प्रयासपछि रङ्गशाला निर्माण गर्नका लागि ठेक्का प्रकृयामा जानथालेपछि खेलकूदप्रेमीहरु समेत खुसी भएका छन् । बागलुङ जिल्लामै ठूलो र भौगोलिक हिसाबले सदरमुकाम संग जोडिएको बाङ्गेचौर खेलमैदान जिल्लामै उत्कृष्ट छ ।

पूर्व फूटवल खेलाडी तथा जिल्ला फूटलव संघ बागलुङका कोषाध्यक्ष सुर्य लामिछाने २० औं वर्ष देखिको रङ्गशाला निर्माणको सपना नगरपालिकाको समन्वय र साझेदारीमा अगाडी बढ्न थालेकोमा खुसी व्यक्त गर्नुभयो । “२० वर्ष अघि देखि रङ्गशालाको कल्पना गरेका थियौं, हामी घाँसे मैदानमा खेलेपनि आगमी पुस्ता रङ्गशालामै खेल्न पाउनेछन् भन्ने छ” लामिछानेले भन्नुभयो “रङ्गशाला निर्माणलाई छिटो सार्थकता तुल्याउन हामी सबैले सक्दो सहयोग गर्न सके धौलागिरीको खेलकूद विकासमा ठूलो टेवा पुग्ने छ ।”

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *