गण्डकी प्रदेशका अस्पतालको शैया बढ्यो, दरबन्दी बढेन


–खेमराज गौतम, बागलुङ

पर्वत जिल्ला अस्पताल व्यवस्थापन समितिका अध्यक्ष गोविन्द पहाडीले आफू अस्पताल व्यवस्थापन समितिको अध्यक्ष भएको तीन वर्ष वितिसक्दा २० औं पटक गण्डकी प्रदेशका स्वास्थ्यमन्त्री तथा सरोकारवाला निकायलाई भेटेर अस्पतालमा जनशक्ती व्यवस्थापन गर्नका लागि आग्रह गरिसक्नुभयो । उहाँको आग्रह व्यवस्थापन समितिको कार्यकाल सकिदा सम्म समेत सुनुवाई भएन । गण्डकी प्रदेशका ११ अस्पतालका व्यवस्थापन समितिको संयोजन समेत गरिरहनुभएका अध्यक्ष पहाडीले अस्पतालको भौतिक पूर्वाधार तथा उपकरणमा गण्डकी प्रदेशले सहयोग गरेपनि दरबन्दी मिलान हुन नसक्दा समस्या भएको बताउनुभयो ।

“अस्पताललाई शैया वृद्धि घोषणा नै गरेको दुई वर्ष वित्यो, भौतिक पूर्वाधारका हिसावले समेत शैया स्तरवृद्धिमा सेवा सञ्चालन गर्न अस्पतालहरु सक्षमनै छन्, केही उपकरणहरु र केही भौतिक पूर्वाधारहरु समेत बनिसके” गण्डकी प्रदेशका अस्पतालका व्यवस्थापन समितिहरु मिलेर गठन गरेको अस्पताल व्यवस्थापन समन्वय समितिका अध्यक्ष समेत रहनुभएका पहाडीले भन्नुभयो “पूर्वाधार र उपकरणले मात्रै नपुग्दो रहेछ, जनशक्ति अभावले ११ जिल्लाकै अस्पताललाई आजित बनाएको छ, गण्डकी प्रदेशलाई २० औं पटक भन्दा समेत अस्पतालको अध्ययन गरी दरबन्दी थप(ओएनएम)गर्ने कुरा सुनुवाई भएन ।”

११ जिल्लाका अस्पताल व्यवस्थापन समितिका पदाधीकारीहरुले गण्डकी प्रदेशले अस्पतालको शैया वृद्धि गरेपनि स्वास्थ्यकर्मीको क्षमता नबढाउदा समस्या भएको भन्दै गण्डकी प्रदेश सरकारलाई गुनासो समेत गर्दै आएका छन् । धौलागिरी अस्पताल व्यवस्थापन समितिका सदस्य शालिकराम शर्माले धौलागिरी अस्पतालमा २६ चिकित्सकको दरबन्दी रहेको अस्पतालमा अहिले तीन जना मात्रै दरबन्दी अनुसारका चिकित्सक भएको जानकारी दिनुभयो ।


धौलागिरी अस्पतालमा अहिले करारका १२ चिकित्सक कार्यरत छन् । कोरोना महामारीमा २७ भन्दा बढी चिकित्सकहरुले सेवा दिएपनि दरबन्दी अनुसारका चिकित्सक नहुँदा केहीको करार सकिएको र केहीको सरुवा हुँदा अहिले अस्पताल समस्यामा परेको उहाले बताउनुभयो । धौलागिरी अस्पताललाई गण्डकी प्रदेश सरकारले २०० शैयाको अस्पताल बनाउने घोषण गरेर केही उपकरण तथा सामाग्री समेत पठाई सकेपनि ५० शैयाका लागि कायम गरिएका दरबन्दी समेत खाली हुँदा अस्पताल सञ्चालनमा समस्या भएको धौलागिरी अस्पताल व्यवस्थापन समितिका अध्यक्ष केबी राना मगरले बताउनुभयो । गण्डकी प्रदेश सरकारले दुई वर्ष अघिनै ११ जिल्ला मध्ये ५० शैया रहेको धौलागिरी अस्पताललाई २०० शैया र १५ वेडका १० जिल्लाका अस्पतालमध्ये मनाङ र मुस्ताङलाई ३० शैया र अन्य ८ जिल्लाका अस्पताललाई ५० शैया बनाउने घोषणा गरिसकेको छ ।

गण्डकी प्रदेशले घोषणा गरेको शैया बृद्धि पछि उपकरण तथा पूर्वाधारमा केही बजेट पठाएपनी मुख्य कुरा दरबन्दी रहेको भन्दै दरबन्दी बढाएर चिकित्सक खटाउन सकेमात्रै अस्पताल स्तरवृद्धिको अर्थ हुने मध्यबिन्दु जिल्ला अस्पताल नवलपुरका अस्पताल व्यवस्थापन समितिका अध्यक्ष डा. गोपाल खनालले बताउनुभयो । गण्डकी प्रदेशका सबै जिल्ला अस्पतालहरुको एउटै व्यथा चिकित्सक अभाव भएको उहाँले बताउनुभयो । सरकारले २०५० साल देखि यता गण्डकी प्रदेशका कुनै पनि सरकारी अस्पतालको दरबन्दी थप गरेको छैन । दरबन्दी थप नहुँदा भौतिक पूर्वाधार र उपकरणले मात्रै विरामीको सेवा दिन नसकिने डा. खनालले गुनासो गर्नुभयो । गण्डकी प्रदेशमानै पहिलो कोरोना संक्रमितको उपचार गरेको धौलागिरी अस्पतालमा कोरोना कहरमै स्थापना भएको आइसियु सेवा समेत दरबन्दी नहुँदा बन्द भएको छ ।
कोरोनाले स्वास्थ्य क्षेत्रको समस्या छर्लङ्ग बाहिर आएको भन्दै गण्डकी प्रदेशका प्रवक्ता तथा भौतिक पूर्वाधार, यातयात तथा शहरी विकास मन्त्री कुमार खड्काले अबको प्राथमिकता स्वास्थ्य क्षेत्र भएको जानकारी दिनुभयो ।
“११ जिल्लामा एउटा भेन्टिलेटरलेट चलाउन सक्ने जिल्ला बागलुङ मात्रै रहेछ, हामी कस्तो स्वास्थ्य सेवा दिइरहेको रहेछौ भन्ने कोरोनाका कारण बाहिर आएको छ” प्रवक्ता खड्काले भन्नुभयो “गण्डकी प्रदेशले भौतिक पूर्वाधार भन्दा स्वास्थ्यको गुणस्तर वृद्धिका लागि काम गर्ने योजना बनाएको छ, कोरोना पछि स्वास्थ्य क्षेत्र पहिलो प्राथमिकतामा छ ।” उहाँले दरबन्दीका लागि ऐन नबन्दा समस्या भएको बताउनुभयो । अस्पताल व्यवस्थापन समितिले करारमा चिकित्सक समेत राख्न पाएको खण्डमा अस्पतालमा दिने स्वास्थ्य सेवामा वृद्धि हुने अस्पताल व्यवस्थापन समितिहरुको अनुभव रहेको छ । संघीय निजमती सेवा ऐन नबन्दा प्रदेश निजामती ऐन नआएका कारण यो समस्या परेको गण्डकी प्रदेश सरकारले जनाएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *