म्याग्दीको बेनीमा तोरन्ला तारो गोल्ड कप सुरु

आदर्श अनलाइन, म्याग्दी

थकाली सेवा समितिको आयोजनामा म्याग्दीको बेनीमा शुक्रबारदेखि ११ औं केन्द्रीय तोरन्ल गोल्डकप अन्तर क्षेत्रीय तारो प्रतियोगिता सुरु भएको छ।

थकाली सेवा समिति नेपालको बेनी क्षेत्रको आतिथ्यतामा तीन दिनसम्म सञ्चालन हुने प्रतियोगितामा देशका विभिन्न ठाउँबाट आउका १८ समूहका १२६ जना खेलाडीहरु सहभागी छन्।

एक समूहमा एक जना वैकल्पिक सहित सात जनाले सहभागिता जनाउने यो प्रतियोगितामा प्रतिस्पर्धा गर्ने सबै थकाली समुदायका खेलाडीहरु हुन्। थकाली समुदायको पौराणिक तारो हान्ने खेलको संरक्षण, खेल पर्यटनको विकास र प्रर्वद्धन गर्ने उद्देश्यले आयोजित प्रतियोगिताको प्रतिनिधिसभा सदस्य प्रेमप्रसाद तुलाचनले उद्घाटन गर्नुभयो ।

समितिले प्रत्येक तीन(तीन वर्षमा तोरन्ल गोल्डकप आयोजना गर्दै आएको छ। २०७७ मा हुनुपर्ने प्रतियोगिता कोरोना भाइरसको जोखिमका कारण एक वर्षपछि धकेलिएको थकाली सेवा समितिका अध्यक्ष सोमप्रसाद तुलाचनले बताउनुभयो।

‘दसौंपटक सम्मको प्रतियोगिता चन्दा र सहयोग जुटाएर सञ्चालन गरेका थियौ’, उहाँले भन्नुभयो, ‘तोरन्ल गोल्डकप निरन्तर सञ्चालन गर्न यसपालि ५१ लाख रुपैयाँको अक्षयकोष बनाएका छौं।’ कोषमा निर्माण व्यवसायी महासंघका तत्कालीन अध्यक्ष स्वर्गीय शरदकुमार गौचनको नाममा उहाँकी श्रीमति आशाले दश लाख रुपैयाँ सहयोग गर्नुभएको छ ।

प्रतियोगिताको बिजेताले सुनको पाँच तोलाको मेडल, रनिङ शिल्ड, कप र एक लाख रुपैयाँ नगद पुरस्कार पाउने छन्। दोस्रो, तेस्रो र सान्तवना हुनेले क्रमशस् पचास हजार, पच्चिस हजार र दश हजार रुपैयाँ पुरस्कार पाउने थकाली सेवा समितिका महासचिव रबिन भट्टचनले जानकारी दिनुभयो।

सर्वोकृष्ट धनुषकर, विशिष्ट धनुषकर, अनुसासीत टिम, जेष्ठ र कम उमेरका खेलाडीलाई समेत नगद तथा प्रमाणपत्र प्रदान गरिने उहाँले बताउनुभयो। प्रथम पुरस्कारको सांसद तुलाचन, द्वितीयको जापानका बुद्धीप्रसाद शेरचन र तेस्रो पुरस्कार रमेश भट्टचनले प्रायोजन गर्नुभएको छ।

प्रतियोगिता उद्घाटन गर्दै प्रतिनिधिसभा सदस्य तुलाचनले थकाली समुदायको भाषा, कला, संस्कृति र संस्कारको संरक्षणमा जोड दिनुभयो। ‘थकाली समुदायको बसोबास भएको ठाउँमा समाजघर लगायत भैतिक संरचनाहरु बनाएर अन्य सामाजिक काममा पनि सहयोग पुगेको छ,’ उहाँले भन्नुभयो, ‘थकाली भाषा, फागुमा तारा खेल्दा गाउने गीत र मृत्युमा गरिने झाक्री संस्कार हराएको छ।’

थकाली सेवा समिति अन्तरगतका क्षेत्रीय समितिहरुले लोपोन्मुख भाषा, संस्कृति र संस्कारको संरक्षणका लागि गम्भीर भएर सोच्न तथा सरकारको ध्यानाकर्षण हुनुपर्ने तुलाचनले बताउनुभयो।

मुस्ताङ उद्गम थलो भएका थकाली समुदायले तारो खेललाई मौलिक परम्परा मान्छन्। परापूर्व कालमा खेतीबाली लगाए र थन्काएपछि मनोरञ्जनका लागि तारो खेल्ने चलन थियो। तारो खेलमा बाँसको धनुषबाण र जरबुटाको तिर हुन्छ। करिब डेढ सय मिटर वारीपारी राखिएका दुई वटा फल्याकमा तिर हान्ने गरिन्छ।

जुन समुहले धेरै पटक फल्याकमा तिर हान्छ उसैले प्रतियोगिता जित्ने गर्छ। फल्याकको बिचमा राखिने गोलो आकारको सानो भागमा तिर कोपेपछि खोल भएको मानिन्छ। प्रतियोगिताको उद्घाटन हुनुपुर्व थकाली समुदायको जातीय पहिचान झल्कने झाँकी र बाजागाजा सहित बेनी बजार परिक्रमा गरिएको थियो।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *