बेनी-भकुण्डे सडककाे बिजाेग

आदर्श अनलाइन, म्याग्दी
गत बुधबार बेनी नगरपालिका-२ बगरफाँटका गोविन्द शर्मा काम विशेषले ऐतिहासिक तथा पर्यटकीयस्थल खड्गभवानी कोटमा जान मोटरसाइकल चढेर बेनी-भकुण्डे मोटरबाटो हुँदै जानुभयो । 

पर्यटकीयस्थल लभ्लीहिल कटेर खबराको उकालो सुरु नहुँदै ग्रेड नमिलेको हिलाम्ये सडकमा बाइक अघि बढ्न सकेन । उहाँले बाइक डोर्‍याएर बल्लबल्ल उकालो त पार गर्नुभयो । तर, १० मिनेटपछि कन्थराजको थान नपुग्दै बाइक अघि बढाउन सक्ने अवस्था रहेन । बिहानपख सिमसिम पानी परेकाले सडक चिप्लो र दलदले भएको थियो । बाइक त्यहीँ छाडेर पैदल नै उहाँ खड्गभवानी कोट पुग्नुभयो । 

यस्तो दुःख शर्माले मात्रै होइन बेनी-भकुण्डे सडकमा सवारी साधनमार्फत यात्रा गर्ने सबै यात्रुहरूले भोग्दै आएको ठ्याक्कै १३ वर्ष भयो । ट््याक खुलेको १३ वर्ष बित्यो । तर, यो सडकमा न त यातायातका साधनहरू नै सञ्चालन भए न त सडकको स्तरोन्नतिमा नै कसैले चासो दियो । 

२०६५ सालमा ट््याक खुलेको साढे ७ किमि दूरीको यो सडक मर्मतका लागि अहिलेसम्म करिब एक करोड खर्च भइसकेको भए पनि सडकको अवस्था भने झन्झन् खराब हुँदै गइरहेको स्थानीयहरूको गुनासो छ । बेनी-भकुण्डे सडकको ट््याक खुलेदेखि अहिलेसम्म ट्याक्टर, साना जिप र मोटरसाइकलबाहेक ठूला सवारीसाधनहरू सञ्चालन हुन सकेका छैनन् । स-साना सवारीसाधनहरू पनि पानी नपर्दाको दिन र हिउँदका महिनामा मात्रै सञ्चालन हुने गरेको भकुण्डेका समाजसेवी भीमबहादुर पौडेलले बताउनुभयो ।

‘साना सवारीसाधनहरू वर्षका चार महिना मात्र मुस्किलले सञ्चालन हुन्छन्, सडक बनेको १३ वर्ष बितिसक्दा पनि न यो सडकबाट कुनै बस गुडेको छ, न मालबाहक ठूलो ट्रक’ पौडेलले भन्नुभयो, ‘मर्मत र स्तरोन्नतिका लागि एक करोडको हाराहारीमा नगरपालिका र प्रदेश सरकारले खर्च गरेको यो सडकमा अलिअलि पानी पर्दा मोटरसाइकलसमेत गुडाउन सकिँदैन ।’

उक्त सडकखण्डको रोहोटे, कन्थराजथान क्षेत्र र सल्लेरीको तल्लो क्षेत्रमा पटक-पटक सडक मर्मतका लागि ठूलो रकम खर्च गरिए पनि उपभोक्ता समितिले सडकमा नाली निर्माण नगरी सामान्यरूपमा डोजर मात्र घुमाएर बजेट सक्ने प्रवृत्तिले गर्दा यातायातका साधनहरू सञ्चालन हुन नसकेका सो बाटो भएर ओहोरदोहोर गर्ने खबराका उद्यमी युवा शोभित सापकोटाले बताउनुभयो । 

बेनी नगरपालिकाको गेटदेखि हाडेभीर, लम्भलीहिल हुँदै बेनी नगरपालिका-२ भकुण्डेको वडा कार्यालयको गेटसम्म पुग्ने यो बाटोको स्तरोन्नतिका लागि स्थानीय जनप्रतिनिधि र सरोकारवाला निकायले ध्यान नदिएको स्थानीय वासिन्दाहरूको गुनासो छ । बेनी नगरपालिका-२ ज्यामरुककोटका वडा अध्यक्ष हिराबहादुर थापाले कमजोर भू-बनोट, धेरै घुम्ती भएको र वन क्षेत्र रहेकाले बेनी-भकुण्डे मोटरबाटो जति मर्मत गरे पनि सुधार हुन नसकेको बताउनुभयो । सडकको स्तरोन्नतिका लागि ठूलै बजेटको आवश्यक पर्ने भएकाले नगरपालिकाबाट मात्रै सम्भव नभएकाले प्रदेश सरकारबाट बजेट माग गरी सडकलाई व्यवस्थित बनाउने प्रयास थालिएको वडा अध्यक्ष थापाले हिमालय टाइम्सलाई जानकारी दिनुभयो । 

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *