नजिकिँदो चाडबाड, कोरोना र बिर्सिदो सचेतता

सम्पादकीय
अहिले देशभर चाडपर्वको रौनकता सुरु हुन थालेको छ । शहर बजारमा चहल पहल बढेको छ । मानिसहरुको भिडभाड र दौडधुप देख्दा यस्तो लाग्छ कि यो देशबाट कोभिड १९ पूर्णतः नियन्त्रण भइसक्यो । तर, कोरोना परीक्षणको दैनिक तथ्यांकले यस्तो संकेत गर्दैन । दुई वर्ष यता कोरोना भाइरस (कोभिड १९)को संक्रमण र जोखिमले विश्व समुदाय प्रभावित छ । नेपाल पनि सुरुवाती समयदेखि नै कोरोनाबाट ग्रस्त बनेको छ । कोरोनाको पहिलो चरणमा संक्रमण र मृत्यु दरमा केही कमी भए पनि दोस्रो भेरियन्टबाट धेरैले ज्यान गुमाएका छन् । भर्खरका तन्नेरी युवादेखि ज्येष्ठ नागरिक सम्मले कोभिड १९ संक्रमणकै कारण ज्यान गुमाएका छन् ।

आइतबार मात्रै देशभर थप ६७९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ७ जनाको मृत्यु भएको छ । यद्यपि १ हजार ४ सय ५ जना संक्रमण मुक्त भएका पनि छन् । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा ७ हजार ७० जनाको पिसिआर परीक्षण र तीन हजार आठ सय ५० जनाको एन्टिजेन परीक्षण गरिएको थियो । हाल देशभर १६ हजार आठ सय चारजना सक्रिय संक्रमित छन् । हालसम्म मृत्यु हुने संक्रमितको संख्या ११ हजार एक सय ६४ पुगेको छ । यसरी हेर्दा कोरोना सरकारले देशभरका सबैजसो जिल्लामा लामो समयदेखि गरेको लकडाउन लुज डाउनमा रुपान्तरित गर्दै खुलाए पश्चात सर्वत्र चहल पहल छ । पुरानै दैनिकी र नियमिततामा व्यापार व्यवसाय र अरु कामहरु भइरहेका छन् । तर, स्वास्थ्य सुरक्षा मापदण्डको कार्यान्वयन र सचेतनालाई क्रमशः बेवास्ता गर्न थालिएको छ ।

कोरोना संक्रमणको सामना गरेका अधिकांशले भन्छन्–‘कोभिड १९ लाई सामान्य खेलाची ठान्ने भुल कदापि गर्नुहुँदैन ।’ कोभिड संक्रमण भए पछिको आफ्नो शारीरिक सास्ती र सकस मात्रै होइन, परिवारले पाउने तनाव र पीडा पनि उस्तै नमिठो हुन्छ । यो दुई वर्ष नेपाली समाजमा धेरै नागरिकले खेपिरहेको साझा पीडा हो । अहिले सरकारले खोप त दिइरहेको छ, तर अझै प्रयाप्त सबै नागरिक समक्ष पुग्न सकेको छैन । यही बेलामा नेपालीहरुको महान पर्वहरु दसैं, तिहार, छठ लगायतका पर्व सम्मुखमा आएको छ । जसका कारणले बजार, सडक, सार्वजनिक स्थल कतै पनि कोरोनाको गुञ्जायस देखिन्न । तर, हाम्रो चरम लापरवाहीका कारण कोरोना फेरि खतरानक रुप धारण गरेर आउने तर्फ कोही कसैले पनि खेलवाड गर्नुहुँदैन ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *