दसैँका लागि गाउँमै दुई हजार खसी बोका तयार

सिर्जना पन्त, बागलुङ
बागलुङका ४ सहकारीमा आवद्ध महिलाले नजिकिँदै गरेको बडा दसैैँमा २ हजार १ सय ४७ खसी बोका विक्रीका लागि तयार गरेका छन् । बागलुङको जैमिनी नगरपालिकाको रुद्रताल सामाजिक महिला उद्यमी सहकारीले दसैंको लागि ८ सय ८२ गोटा खसी बोका विक्रीका लागि तयार गरेको छ भने भाग्योदय सामाजिक महिला उद्यमी सहकारीले १ सय ५० तयार गरेको छ । काठेखोलाको वसन्त सामाजिक महिला उद्यमी सहकारीले दसैंको अवसरमा विक्री गर्नको लागि १ हजार खसी बोका तयार गरेको छ । सप्तरङ्गी सामाजिक महिला उद्यमी सहकारीले १ सय १५ गोटा खसी बोका विक्रीको लागि तयार गरेको छ ।

उनीहरुले एक आर्थिक वर्षमा खसी बोका बेचेरै ४ करोड रुपैयाँ गाउँ भित्राउने गरेका छन् । काठेखोला गाउँपालिकाका २ र जैमिनी नगरपालिकाका २ वटा महिला उद्यमी सहकारीले आर्थिक वर्ष २०७७/०७८ मा बाख्रा बेचेर ४ करोड ७८ लाख ८९ हजार ५ सय ५० रुपैयाँ आम्दानी गरेका हुन् ।

हेफर इन्टरनेशनलको आर्थिक तथा प्राविधिक सहयोग र भीमापोखरा युवा क्लव (बिवाइसी) बागलुङको व्यवस्थापनमा विगत ९ वर्षदेखि बागलुङका ४ महिला उद्यमी सहकारीमा आवद्ध शेयर सदस्यहरुको लागि पशु वस्तुको मूल्य श्रृंखलामा आधारित साना किसानहरुको संस्था सवलकीरण परियोजना सञ्चालनमा छ ।

सोही परियोजना अन्तर्गत काठेखोला गाउँपालिका वडा नम्बर ४ को सप्तरंगी सामाजिक उद्यमी महिला सहकारी संस्थामा आवद्ध २ सय ९६ र वसन्त सामाजिक उद्यमी महिला सहकारी संस्थामा आवद्ध ६ सय ११ सँगै जैमिनी नगरपालिकामा गठित भाग्योदय सामाजिक उद्यमी महिला सहकारी संस्थामा ३ सय ७० र रुद्रताल सामाजिक उद्यमी महिला सहकारी संस्थामा आवद्ध ५ सय २० जना शेयर सदस्य आवद्ध रहेको बिवाइसी बागलुङका सहकारी क्षमता विकास सहजकर्ता रिता शर्माले जानकारी दिनुभयो ।

आर्थिक वर्ष २०७७/०७८ मा सप्तरंगी सहकारी मार्फत ७ सय ९१ गोटा खसी विक्री गरी १ करोड १५ लाख ८४ हजार १ सय ९५ रुपैया आम्दानी गरेको संस्थाका सह–प्रबन्धक नरमाया पुनले जानकारी दिनुभयो । संस्थाले २२ हजार ९ सय ३९ केजी जिउँदो खसी बजारमा विक्री गरेको हो ।

यस्तै, वसन्त सहकारी मार्फत् ९ सय १३ गोटा खसी बोका विक्री गरि १ करोड ३३ लाख ७० हजार ८ सय ८५ रुपैयाँ आम्दानी गरेको छ । संस्थाले २६ हजार ४ सय ७७ केजी जिउसो खसी विक्री गरेको संस्थाका प्रवन्धक हेमा विकले जानकारी दिनुभयो । एउटै वडामा रहेका २ वटा सहकारीले वार्षिक २ करोड ४९ लाख ५५ हजार ८० रुपैयाँ रकम गाउँ भित्राएका हुन् ।

जैमिनी नगरपालिकाको भाग्योदय सहकारी मार्फत ६ सय ५४ गोटा खसी विक्री गरि ९५ लाख ७७ हजार ८ सय ३० रुपैयाँ आम्दानी गरेको छ । संस्थाले १८ हजार ९ सय ६६ केजी जिउँदो खसी बजारमा विक्री गरेको संस्थाका प्रबन्धक प्रगति शर्माले जानकारी दिनुभयो ।

रुद्रताल सहकारी मार्फत् ९ सय ७२ गोटा खसी बोका विक्री गरि १ करोड ४२ लाख ३४ हजार ९ सय ४० रुपैयाँ आम्दानी गरेको सहकारीका प्रबन्धक तारा पुनले जानकारी दिनुभयो । सहकारीले २८ हजार १ सय ८८ केजी जिउदो खसी बोका विक्री गरेको हो ।

चारवटै सहकारीले आफ्ना सदस्यहरुको खसी बोका प्रतिकेजी ५ सय रुपैयाँमा संकलन गर्ने र ५ सय ५ रुपैयाँमा विक्री गर्ने गरेका छन् । प्रतिकेजी जम्मा ५ रुपैया बढी लिएर सदस्यहरुका उत्पादन संकलन गरी बजारमा लगेर विक्री वितरणको व्यवस्था गरिएको सहकारी संस्थाले जनाएका छन् । सहकारीका शेयर सदस्यहरु मध्य कतिपयले ३५ वटा सम्म बोका विक्री गर्ने गरेको सहकारी क्षमता विकास सहजकर्ता रिता शर्माले जानकारी दिनुभयो ।

उहाँका अनुसार सहकारीले उत्पादन गरेका खसी बोका बागलुङ बजार र आसपासका क्षेत्रमा विक्री हुँदै आएका छन् । महिलाहरुलाई सदस्य बनाइ आयआर्जनमा केन्द्रित गरेको र उनीहरुलाई परिवारका पुरुष सदस्यहरुले सहयोग गरेका कारण विगत ७ वर्षदेखि वार्षिक १ करोड भन्दा बढी रकम आम्दानी गर्न थालेका हुन । सहकारीका शेयर सदस्यहरुलाई बाख्रापालन व्यवसायमा केन्द्रित गराउने र सहकारी संस्थाले खरिद गरेर बजारमा विक्री वितरणको व्यवस्था गरेपछि बाख्रापालन गर्नेहरुको संख्या बढेको हो ।

प्रत्येक परिवारमा २/४ वटा बाख्रा अनिवार्य पाल्ने गरेका छन्, व्यवसायिक रुपमा बाख्रा पाल्नेहरुको संख्या दिन प्रतिदिन बढ्दै गएको सप्तरंगी सामाजिक उद्यमी सहकारी संस्थाका अध्यक्ष थम कुमारी श्रीसले जानकारी दिनुभयो । सहकारी मार्फत सदस्यको उत्पादन विक्री गरेर उनीहरुको आयआर्जन वृद्धि गराउन पाउँदा आनन्द आउने गरेको सप्तरंगी सामाजिक उद्यमी महिला सहकारी संस्थाका अध्यक्ष थमकुमारी श्रीसले बताउनुभयो ।

महिला सहकारीलाई आर्थिक वर्षको सुरुमै वर्षभरी विक्री गर्ने खसी बोकाको लक्ष्य प्रदान गर्ने गरिएको छ । बिवाइसी बागलुङले आर्थिक वर्षको सुरुवातमै जिल्लाका ४ वटै सहकारी संस्थालाई बसी बोका विक्री गर्ने लक्ष्य प्रदान गर्छ । चालु आर्थिक वर्षको लागि सप्तरङगी सहकारी संस्थालाई १ हजार १ सय ४५, वसन्त सहकारीलाई १ हजार ७ सय ४१, रुद्रताल सहकारीलाई १ हजार ४ सय ४ र भाग्योदय सहकारीलाई १ हजार ८५ वटा खसी बोका विक्री गर्ने लक्ष्य प्रदान गरिएको सहकारी क्षमता विकास सहजकर्ता रिता शर्माले बताउनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *