विद्यार्थी संगठन, सम्मेलन र टिके प्रथा

सम्पादकीय
कुनै बेला मुलुकको परम्परागत व्यवस्था बदल्न जुझारु र सशक्त भूमिका निर्वाह गरेका विद्यार्थी संगठन अहिले सुसुप्त अवस्थामा छन् । डिजेल पेट्रोलको मूल्य बृद्धि हुँदा अलि अलि बिरोधका स्वरहरु सुनिने बाहेक अरु शैक्षिक र समसामयिक सवालमा प्रभावकारी भूमिका देखिदैन । नेपालको राजनीति व्यवस्था बदलिएर नयाँ परिवर्तित समयमा आए पनि उस्तै फोहोरी राजनीतिको निरन्तरता र बेथितिमा छ । यसबाट अलिकति भए पनि पार लगाउन विद्यार्थी आन्दोलन चुकिरहेको छ । जसले गर्दा देशका शासकहरुमा स्वेच्छाचारिता बढ्दै गएको छ । र यसले देशलाई बिधि, प्रणाली र गतिशीलतामा होइन, फेरि यथास्थितिमै अलमलाउने या रोकिने विन्दुमा पु¥याएको छ ।

विद्यार्थी संगठन कुन अवस्थामा छ ? आम मानिसकै बिचमा छर्लङ्ग छ । हालै मात्र नेकपा माओवादी केन्द्रको विद्यार्थी संगठन अखिल क्रान्तिकारीको २२ औं राष्ट्रिय सम्मेलन राजधानीमा भयो । तर, सम्मेलनले नेतृत्व चयन गर्न सकेन । निर्वाचनबाट नेतृत्वका आकांक्षी बिच निर्वाचन गरिएन । पार्टी अध्यक्ष प्रचण्डले पञ्चा सिंहलाई अध्यक्ष तोकिदिए । यही विषयलाई लिएर बन्द सत्रमा विवाद र तोडफोड समेत भए । एक मात्र केन्द्रीय अध्यक्ष बाहेक अन्य कुनै पनि पदाधिकारी र केन्द्रीय समितिको घोषणा नगरी सम्मेलन सकिनुले विद्यार्थी संगठनको हालत प्रष्ट हुन्छ नै । अखिल क्रान्तिकारी मात्रै होइन, नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियूको अवस्था पनि उस्तै छ । असोज २ गते अनेरास्ववियुको अध्यक्षमा पार्टी केपी ओलीको निर्देशनमा सुनिता बराललाई चुनियो । अध्यक्षका दाबेदार आरसी लामिछानेलाई वरिष्ठ उपाध्यक्ष बनाइयो । सबैभन्दा ठूलो संगठन दाबी गर्ने अनेरास्ववियुको अध्यक्ष दाबी गर्ने केहीलाई भने आफ्ना आकांक्षा राख्ने फोरम नै दिइएन । अर्थात्, सचिवालय बैठकले नै अध्यक्ष चयन ग¥यो । उता, मुलुककै एक मात्र प्रजातान्त्रिक पार्टी दाबी गर्ने नेपाली कांग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघको पनि उस्तै दुरावस्था छ । वर्षौदेखि महाधिवेशन हुन नसकेर पटक पटक म्याद थप्दै कांग्रेस सभापति शेरबहादुर देउवाले सिधै अध्यक्ष तोकेर जिम्मेवारी दिएरै चलिरहेको छ ।

परिवर्तनको हुंकार बोक्ने विद्यार्थी संगठनको यो हालत हुनु नेपाल र नेपाली राजनीतिको दुर्भाग्य हो । हामीले पुराना पुस्ताका भनेर वर्तमान शीर्ष नेतृत्वलाई सत्तेसराप गरिरहेका छौ । तर, विद्यार्थी संगठनले स्वस्थ प्रतिस्पर्धाबाट मर्यादित रुपमा आफ्नो नेतृत्व आफै छनोट गर्न किन सक्दैनन् ? सहमति नभए लोकतान्त्रिक प्रक्रियाको अन्तिम विकल्प निर्वाचनलाई किन निषेध गरिएको छ ? जित र हार दुवैले नेता र राजनीतिलाई अझ परिपक्व बनाउँछ । नीति र नेता छान्ने महाधिवेशन सम्मेलन कुम्भ मेलाको रुपमा आयोजना गर्ने तर नेतृत्व कुनै एक नेताको तजबीजमा छान्ने कुराले विद्यार्थी आन्दोलन लज्जाजनक अवस्थामा पुगिरहेको छ । ऐतिहासिक जनआन्दोलन जस्ता संघर्षमा पृथक छाप छोडेको विद्यार्थी आन्दोलन यही रुपमा कमजोर बन्दै जाने हो भने भोलिको राजनीति र देशको भविष्य पनि अहिलेको दुराबस्थाबाट गुज्रिनेमा दुई मत नहोला ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *