तलब नपाएको विरोधमा म्याग्दी अस्पतालमा आन्दोलन

सन्तोष गौतम,बेनी

म्याग्दीको सदरमुकामस्थित बेनी अस्पतालका चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीहरुले चाडपर्वको मुखमा समेत तीन महिनादेखिको तलब नपाएपछि बुधबारदेखि आन्दोलनमा उत्रिएका छन् ।

आन्दोलनका कारण ६४ शैया बराबरको सुविधा दिइरहेको अस्पतालको आकस्मिक बाहेकको सेवा ठप्प भएको छ । औषधि उपचार र प्रशासनिक काम ठप्प पारेर चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीहरु आकस्मिक कक्ष अगाडि धर्ना बसेका छन् ।

बहिरंग, ल्याव, आँखा उपचार, एक्सरेलगायत औषधि उपचारसम्बन्धी सेवाका साथै प्रशासनिक काम ठप्प पारेका छन् । ठूला चाडपर्व नजिकिएको र लामो समयको विदा सुरु हुन लाग्दा समेत तलब नदिएकाले बाध्य भएर आन्दोलनमा उत्रनुपरेको नर्स मनदेवी गौतमले बताउनुभयो।

‘अस्पताल प्रशासन, व्यवस्थापन समितिमार्फत लेखा शाखामा पटक(पटक आग्रह गर्दा पनि सुनुवाइ नभएपछि बाध्य भएर आन्दोलनमा उत्रनुपरेको हो,ु उहाँले भन्नुभयो, ‘अहिलेसम्म तलब आउने आशामा कुरेर बसेका थियौं। चाडपर्वको मुखमा अन्तिम अवस्थामा तलब नदिएपछि आन्दोलन गर्नुपरेको हो।’

आन्दोलनका कारण सेवा लिन आएका सर्वसाधारण बिरामी मर्कामा परेका छन् । आँखा दुख्ने समस्या भएपछि उपचारका लागि आएका रघुगंगा गाउँपालिका–३ का डम्मरबहादुर कार्कीले सेवा नपाउँदा समस्या भएको बताउनुभयो ।

बिरामी बच्चाको उपचारका लागि आएकी मंगला गाउँपालिका–१ कुहुँकी देबी खत्रीले आन्दोलनका कारण सेवा नपाउँदा मर्कामा परेको बताउनुभयो । दृष्टिबिहिन छिमेकीको उपचारका लागि आएका बेनी नगरपालिका–२ भकुण्डेका गणेश सुबेदीले पनि सेवा नलिई घर फर्कदा दुख मात्र पाएको गुनासो गर्नुभयो ।

अस्पतालमा स्थायी र करार दरबन्दीका विभिन्न पदमा १२३ जना चिकित्सक, कर्मचारी र स्वास्थ्यकर्मी छन् । गत साउन महिना यता कसैले पनि तलब पाएका छैनन् । नियम अनुसार मासिक रुपमा तलब भत्ता बितरण हुनुपर्ने हो । अस्पतालमा प्रसुति सेवा लिएका सुत्केरीहरुले पाउनुपर्ने आमा सुरक्षा कार्यक्रमको भत्ता वितरण भएको छैन् ।

अस्पताल व्यवस्थापन समितिका अध्यक्ष बेलबहादुर कटुवालले कोष तथा लेखा कार्यालयले अन्य दुई वटा कार्यालय समेत हेर्ने गरी खटाएका लेखापाल नारायण सुबेदीले अस्पताललाई प्राथमिकता नदिएको र ढिलासुस्ति गरेर समस्या भएको बताउनुभाये।

गण्डकी प्रदेश सरकार अन्तरगतको बेनी अस्पतालमा लेखापालको दरबन्दी नहुँदा कोलेनिकाले खटाउने गरेको छ । आर्थिक वर्षको पहिलो महिना मन्त्रालय फुटेको र अख्तियारी आउन ढिलाई भएपनि त्यसपछिको समयमा लेखापालले समय नदिएकाले तलबका साथै अन्य भुक्तानीका काम रोखिएको अस्पतालका प्रमुख चिकित्सक जितेन्द्र कडेलले बताउनुभयो ।

लेखापाल सुबेदीले तीनवटा कार्यालयको जिम्मेवारी भएको र महालेखा परिक्षकको टोली लेखापरिक्षणमा आएकाले ढिलाइ भएपनि तलब भुक्तानीको काम गरिरहेको बताउनुभयो । चिकित्सक, स्वास्थ्यकर्मी, कर्मचारी, प्रशासन, कोलेनिका, अस्पताल प्रशासन र व्यवस्थापन समितिबीच छलफल गरेर सेवा सूचारु गराउन पहल गरेको प्रमुख डाक्टर कडेलले बताउनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *