आदर्श अनलाइन, बागलुङ
नेकपा एमाले काठेखोला गाउँपालिका बागलुङले सञ्चालन गरेको वडा भेला अन्तरगत बुधवार वडा नं. ८ लेखानीमा कार्यकर्ता भेला सम्पन्न भएको छ ।
भेलामा बोल्दै जिल्ला कमिटी बागलुङका अध्यक्ष इन्द्रलाल सापकोटाले पार्टी फुटाउनु राम्रो नभएको र फुटेर जानेहरु धेरै समय नटिक्ने बताउनुभयो । उहाँले पार्टी फुटाएर गएकाहरु केहि समय पछि पुनः एमालेमै फर्किने बताउनुभयो ।
उहाँले गण्डकी प्रदेश र बागलुङमा फुटको असर नै नपरेको बताउनुभयो । सापकोटाले बागलुङमा फुटको असर न्यून भन्दा न्यून रहेको भन्दै गणना नै नहुने रहेको बताउनुभयो । सापकोटाले कार्यकर्ताहरुलाई कात्तिक ६ गते हुने वडा अधिवेशनमा केन्द्रीत हुन समेत अनुरोध गर्नुभएको थियो । प्रदेशसभा सदस्य समेत रहनुभएका सापकोटाले एमाले सरकारमा हुँदा चार वर्षसम्म विकास निर्माणमा काम गरेको बताउनुभयो । चार वर्षमा गरेका विकास निर्माणको कामको बारेमा जनता पनि जानकार रहेको र कार्यकर्ताहरुले जनताहरुलाई अझै मसिनो गरेर बुझाउनुपर्ने बताउनुभयो ।
कार्यक्रममा नेकपा एमाले गण्डकी प्रदेश कमिटीका सदस्य हिरा बहादुर केसी, काठेखोला गाउँपालिका पार्टी कमिटीका अध्यक्ष डिल बहादुर कार्की, नेकपा एमाले बागलुङका सचिवालय सदस्य एवं काठेखोला–८ लेखानीकी वडा अध्यक्ष चित्रकला छन्त्याल, श्रीस, जिल्ला कमिटी सदस्य विश्व गौतम र जिल्ला कमिटीका सल्लाहकार मन बहादुर काउचाले मन्तव्य राख्नुभएको थियो ।
उक्त कार्यक्रममा कल्पना श्रीसको अध्यक्षतामा ६५ सदस्यीय अखिल नेपाल महिला संघ वडा कमिटी लेखानी गठन गरिएको छ । कमिटीको उपाध्यक्षमा मिरा श्रेष्ठ, सचिवमा रिता गैरे, सहसचिव कमला पुन र कोषाध्यक्षमा रितु सुनार चयन हुनुभएको छ ।
नेकपा एमाले काठेखोला गाउँपालिका वडा नम्बर ८ लेखानी वडा कमिटीका अध्यक्ष दिल बहादुर क्षेत्रीको अध्यक्षतामा सम्पन्न भएको भेलाको स्वागत लेखानी टोल कमिटीका संयोजक डम्मरसिंह घर्ती मगर र संचालन सचिव देवबहादुर श्रीसले गर्नुभएको थियो ।