सरलाई दिनुस् न भन्ने फोन आउँछन्ः वडा अध्यक्ष लक्ष्मी बास्कोटा

लक्ष्मी बास्कोटा बागलुङ नगरपालिकाको एक मात्र महिला वडा अध्यक्ष । वडा नम्बर ३ को वडा अध्यक्षमा निर्वाचित भएपछि अहिले सम्म उहाँले महिला वडा अध्यक्ष भएकै कारण गर्नुभएको अनुभुति संगैं वडा नम्बर ३ का मुख्य योजनाहरुको बारेमा आदर्शकर्मी साधना पन्तले गरेको कुराकानीको संपादीत अंश ।

वडा अध्यक्ष भए पछिको अनुभव कस्तो रह्यो ?
महिला भएकै कारणले तपाईले यो काम गर्न सक्नुहुन्छ, यो काम गर्न सक्नुहुन्न भन्ने खालको भेदभाव त मैले अनुभुति गरेको छैन । तर हाम्रो जुन पितृसत्तात्मक सोच छ त्यसले गर्दा खेरी मानिसहरुमा अहिले पनि असर गरेको छ कि भन्ने मेरो अनुभुति छ । म वडा अध्यक्ष भएर आएपछि अहिले सम्म पनि कस्तो फोनहरु पाउछु भने सरलाई फोन दिनुस् भन्ने फोनहरु पाउछु । के समस्या भएर के कामले फोन गर्नुभयो भन्नुस् म वडा अध्यक्ष बोल्दैछु भन्दा पनि कतिपयले पत्याउनु भएन । यहाँ त महिला वडाअध्यक्ष रहेछ भन्ने अझ कतिसम्म भने कतै आसन ग्रहण गराउदा बागलुङ नगरपालिकाको महिला वडा अध्यक्ष भनेर समेत भनिराख्नुहुन्छ । सबै व्यवस्था परिर्वतन भएपनि हाम्रो सोचमा परिर्वतन नभएसम्म काम गर्न ग्राहो हुन्छ । महिलाको नेतृत्वलाई समाजले स्विकार नगरेको हो कि भन्ने मलाई लाग्छ ।

महिला भएकै कारण बढी बिभेद र उपेक्षा झेल्नुभएको अनुभव हो ?
म आफुले आफुलाई हेर्दा सबै काम गर्न सक्छु भन्ने लाग्छ तर बाहिर हेर्दा महिलाहरुको बस उठ भनेको १० देखि ५ बजेसम्म हुन्छ । अरु समयमा हामीहरु रमाउन पनि पाएको हुँदैनौं अरु समयमा हामीहरु घर भित्रै हुन्छौं । त्यसले गर्दा पनि महिला छ त्यसलाई नबोलाए पनि हुन्छ । आउँदैनन् क्यारे भ्याउँदैनन् क्यारे भन्ने उनिहरुको दिमागमा हुँदो रहेछ । मलाई के लाग्छ भने जहिले सम्म समाजमा महिलालाई हेर्ने महिलाको कामको मुल्याँकन गर्ने दृष्ट्रीकोणमा परिर्वतन हुँदैन हामीहरुलाई काम गर्न ग्राहो नै छ । बेफाईदाको मात्र कुरा नगरौं कहिलेकाही महिला भएकै कारणले अवसर पाएको पनि छु, तपाई मात्र हुनुहुँदो रहेछ तपाई अगाडी जानुस तपाई बोल्नुस भन्ने पनि गर्नुहुन्छ साथिहरुले तालीममा जाँदा पनि तपाई जानुहुन्छ कि भनेर प्राथमिकता दिने पनि हुन्छ । तर हाम्रो पितृसत्तात्मक सोचाईले गर्दा, हाम्रा हेर्ने काम गर्ने तौर तरिकाहरुमा परिर्वतन नआएका कारणले अफ्ट्याराहरु धेरै छन् ।

यहाँको वडा त साविकको अञ्चल सदरमुकाम, बजार र गाउँ दुवै भुगोल समाहित छ । मुख्य पाँच प्राथमिकताका योजना के छ ?
बागलुङ नगरपालिका वडा नम्वर ३ भुगोल जनसंख्याको हिसाबले नगरपालिकाकै ठूलो वडा पनि हो । साबिकका ३ वटा वडा मिलेर बनेर ३ नम्बर वडा बनेको छ । यो वडाका योजनाहरु बनाउँदा हामिहरुले बजार र ग्रामिण क्षेत्र गरेर दुई प्रकृतिबाट यहाँका योजनहरु अगाडी बढाउँने गरेका छौं । ग्रामिण र सहरी दुवै वस्ती यो वडामा पर्ने भएकाले ग्रामिण बस्तीको आवश्यकता र सहरी बस्तिको आवश्यकता फरक–फरक छ त्यही हिसाबले योजनाका मागहरु पनि आउने गर्छन । यो बर्ष हामिहरुले २०७६/७७ का प्रस्तावित कार्यक्रमहरु भनेर केही कार्यक्रम अगाडी बढाएका छै । मुख्य गरी ५ वटा योजना प्राथमिकतामा छन् ।

योजना नम्वर-१
पहिलो प्राथामीकता सडक हो । यो वडामा अल्लि ठूलो सडक नगर स्तरीय योजनाबाट बन्ने भनेका १९ लाख रुपैयाँको छ । नगरापलिकाको कार्यालय(रातमाटाको) घुम्टी देखी तातोपानी र मूलपानी स्कुल सम्म जाने सडकलाई १९ लाखको छुट्याएको छौं ।

पोहोर साल भन्दा यो योजनामा फेरबदल भएको छ । पहिला मध्यपाहाडी लोकमार्गको बडरे भन्ने ठाउँबाट तातोपानी हुँदै मुलपानी जोडने योजनामा थियौ र अहिले त्यहाँको काम सकिएको हुँदा रातमाटाको नगरपालिकाको घुम्टीबाटा सुरु गर्ने योजना छ । त्यहाँ विषेशत अफ्ट्यारा ठाउँहरुमा ढलनका कामहरु हुन्छन्, नाली बनाउने काम हुन्छ, र ग्याबीन चिन्न पर्ने ठाउँमा ग्याबीन चिन्ने काम हुनेछ । धेरै जसो सडक बनाउने माग आउने भएको हुदाँ झन्डै झन्डै नगरपालिका बाट छुटिएको ७२ लाख बजेटमा आदि त हाम्रा गोरेटो बाटा र मोटरेवल बाटोमा नै बढी खर्च हुने रहेको छ । त्यो योजना बाहेक अहिले पनि हामीले त्यो साना–साना नाकाहरु खोल्ने र एउटा वडा देखि अर्को वडामा नाकाहरु जोडने र भईरहेका सडकहरुको स्तरीकरण गर्ने कामहरु भएका छन् । भने साना योजनाहरुमा ३ लाख देखि ५ लाखका योजना पनि छन् ।

पैदल मार्गहरुको स्तोरन्नतीको लागि पनि डेढ लाख दुईलाखका पैदल मार्गाहरु निमार्ण गर्नु पर्ने योजनाहरु छन् । त्यो संगै बजारको क्षेत्रमा धेरै जसो नालीहरुको समस्याहरु पक्की सडकहरुको कुरा निस्कन्छ र हामीहरुले पक्की सडकका लागि सडक बोर्डको कार्यक्रमसंग जोडेर बजारको पिज गर्ने कार्यक्रमहरु बनाउने गरेका छै । त्यही अन्तरगत बागलुङ एफ एम चोक देखि स्याने पिपल सम्म अहिलेको वर्षमा पिजको काम हुँदै छ । नाली हामीहरुले पहिलै बनाई सकेका छै ।

योजना नम्वर-२
दोस्रो नम्बरमा कृषिलाई प्रथामिकता दिएका छै । हामी संग आदि ग्रामिण बस्ती भएका कारण र पुरानो ५ नम्वर तरकारीको पकेट क्षेत्रको रुपमा चिनिएका कारण ५ लाख रुपैयाँ कृषिमा विनियोजन भएको छ । त्यो पाँच लाख रुपैया कृषिको तालिम, कृषि यान्त्रिकरणका लागि, घाँस बीउ बितरणका लागि त्यसको संग संगै फलफुल र तरकारीको बोट विरुवा, पशुपंक्षी संगैं कृषि र पशु विमामा खर्च गर्ने गरेर गरेर पाँच लाख विनियोजन गरेको हो । फलफुल तर्फ केरा, सुन्तला, कागतीलाई अगाडी बढाउँने तयारी गरिएको छ । बस्तीमा रहेका काम नलाग्ने रुखहरुलाई काटेर केराखेती गर्ने कृषकहरु संग सर सल्लाह भएको छ ।

योजना नम्वर-३
त्यसको संग संगै हामिसंग पर्यटनका लागि स–साना पूर्वाधार भएपनि तयार गर्नुपर्छ भनेर योजनाहरु छन् । किनभने बागलुङ नगरपालिकाले २०७७ लाई बागलुङ भ्रमण वर्षको रुपमा मनाउँने भनेर नगर परिषदमा घोषणा गरेर बजेट विनियोजन गरेको छ । हामिहरुले त्यसलैलाई सहयोग पुगोस भनेर बागलुङ नगरपालिका वडा नम्बर ३ को चिप्लेटि देखी ९ नम्बर वडा जोडने लामो झोलुङगे पुलको वरीपरि फुलका विरुपमा लगाउँने र पार्क बनाउँने भन्ने योजना पनि छ ।

योजना नम्वर- ४
वडाको प्रोफाईल तयार गर्ने भन्ने अर्काे योजना छ । हिमिहरुले सके सम्म डिजिटल प्रोफाईलनै तयार गर्ने र पूर्वाधार कहाँ कहाँ तयार भए कहाँ भएनन् , कुन घर र कुन टोलको अवस्था कस्तो छ भनेर हेर्न मिल्ने गरि अघिल्लो वर्षबाटै काम सुरु गरेका छौं । अहिले पनि बजेट विनियोजन गरिएको छ । त्यो कामलाई निरन्तरता दिन्छौं ।

योजना नम्वर-५
त्यसको संग संगैं हामिसंग जोडिएको स्वास्थ्यको समस्या देखिएको छ । धेरै मानिसहरुको स्वास्थ्यमा सहज पहुँच नभएका कारणले धेरै समस्याहरु भोगेको हामिहरुले देखेका छौं । त्यसैले स्वास्थ्यको पहुँच घर घरमा पु¥याउँनको लागि स्वय सेवीकाहरुलाई चलायमान बनाउनु पर्छ भनेर अगाडी बढेका छौं । त्यसको संगै आम रुपमा महिलाहरुको स्वास्थ्यमा परेको समस्या, खानपान, शशक्तिकरणका कारर्यक्रममा जोड दिएका छौं । टोलविकास संस्थाहरुसंग महिलालाई जोडेर आर्थिक उत्पादनमा महिलाहरुलाई अगाडी बढाउँने कुराहरु हाम्रो योजनामा छन् ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *