सम्पादकीय
अनुगमन योजना आयोजनाहरुको त महत्वपूर्ण चरण नै हो । सुशासन, जवाफदेहिता र पारदर्शिताका लागि अपरिहार्य विषय हो । चाहे त्यो कुनै सार्वजनिक सरोकारको कामको होस् सरकारी निकायबाट सम्पादन हुने विकास योजना, आयोजनाहरु किन नहोउन् ? हर चिजको चुस्त अनुगमन आवश्यक छ । यस्ता अनुगमनले समाजमा हुने मनपरी, बेथिति, अनियमितता र भ्रष्टाचार रोक्न महत्वपूर्ण भूमिका निर्वाह गर्दछ । अहिले नेपालीहरुको महान पर्व बडादसैं, तिहार, छठ लगायतका पर्व सुरु हुँदै गर्दा फेरि बजार अनुगमनले चर्चा पाउन थालेको छ । अनुगमनमा बजारको अखाद्य सामग्री मात्रै होइन, महंगी मनपरीमा पनि ध्यान दृष्टि पुग्नुपर्दछ । तर, पछिल्लो समय गरिने बजार या अन्य अनुगमन आफै थप अनुगमन गर्नुपर्ने शंकाको घेरामा पर्ने गरेको छ ।
चाडपर्व केन्द्रित गरेर बागलुङ बजारमा बुधवार अनुगमन गरियो । यस क्रममा उपल्लाचौरको जाल्पा सपिङ सेन्टरमा ठूलो मात्रामा अखाद्य सामग्री भेटियो । अनुगमन टोलीले किराना पसलमा ८० प्रतिशत म्याद गुर्जेका सामग्री फेला परेको जनायो । उक्त पसललाई तत्कालै सिल गरेर रु.एक लाख ५० हजार जरिवाना सहित प्रशासनमा हाजिर हुन निर्देशन जारी गरियो । चाडपर्वका बेला स्वभाविक व्यापार व्यसायमा बृद्धि हुन्छ । यसबेलामा पहिले विक्री नभएका सामान पनि खपत गर्ने र मनग्गे मुनाफा आर्जन गर्ने ध्ये व्यवसायीको हुन्छ । नाफाघाटा मात्रैको सोचले मानव स्वास्थ्यमा कति असर गर्दछ ? यो पाटोमा सायदै सोच्दछन् । फलस्वरुपः ढिलोचाडो जाल्पा सपिङ सेन्टरकै नियतिमा पुग्दछन् ।
चाडपर्वका बेला महंगी, कालोबजारी नियन्त्रण गर्न गरिने अनुगमन स्वागतयोग्य कुरा हो । तर, यसरी जाने अनुगमन पूर्ववत सूचना विना, कुनै पक्षपात नगरी नितान्त स्वच्छ अनुगमन गर्ने अभिप्रायले हुनुपर्दछ । नेपाली समाज र बजारमा हुने अनुगमन कतिपय ठूला, पहुँचवाला, निकट व्यवसायीलाई पूर्ववत सूचना दिएर गर्ने, उनीहरुकहाँ सके सम्म नजाने, गए पनि कर्मकाण्ड पुरा गरेर मात्रै निस्किने, अनुगमन टोलीका कुनै सदस्यसँग अरु कारणले सम्बन्ध बिग्रिएका सँग पूर्वाग्रह साँध्ने हिसाबले प्रस्तुत हुने, कति विज्ञापन, घुस, कमिसनमा तालतुल गर्ने जस्ता घटना र चर्चा हरेक वर्ष हुने गर्दछ । यो राम्रो कुरा र संकेत होइन । अनुगमनले मानव स्वास्थ्यमा ख्याल होइन, खेलवाड गर्नेलाई कारबाहीको दायरामा लिनै पर्दछ । नियतवस नगरेकालाई सचेत बनाउनु पर्दछ । यद्यपि, अनुगमन टोली आफै माथि पनि अनेक प्रश्न र आंशका उत्पन्न हुने अवस्था आउने गरेकाले त्यस तर्फ पनि सरकार र सरोकारवाला सजग बन्नुपर्दछ ।