कृषिमा रमेका सापकोटा परिवार, बहुआयामिक कृषि उपजमा ३० वर्ष

आदर्श अनलाइन, बागलुङ
बागलुङ नगरपालिका–४ ढोडेनीका त्रिलोचन सापकोटाको दैनिकी निकै व्यस्त छ । उहाँको दैनिकीको काम र व्यस्ततालाई आँकलन गर्ने हो भने लामो सूचि नै तयार हुन्छ ।

विहान ५ बजे उठेर गाई भैसीको स्याहार सुसार, दूध दोएर खोलापारी सहकारीको संकलन केन्द्रमा पठाउने । घरमा पालिएका माछा, टर्की तथा हाँसलाई दाना पानी हालेर उहाँ सोझै घाँस काट्न भीरमा पुग्नुहुन्छ । घर नजिकैको खरबारीबाट घाँसको भारी सहित घरमा आउनुभएका सापकोटालाई खाना खाने समय व्यवस्थापन गर्न समेत हम्मे हम्मे पर्छ ।

४८ वर्षका सापकोटालाई कृषिमा आउन बुवाको प्रेरणा र परिवारको साथ छ । खाना खाए पछि उहाँ टनेलमा तरकारीको स्याहार सुसारमा लाग्नुहुन्छ । उहाँले दैनिक रुपमा उत्पादन भएका माछा, तरकारी, दूध लगायतका कृषि उपजहरु सहकारीको दूध संकलन गर्न पुगेको सवारीमा बागलुङ बजार पुग्नुहुन्छ ।

सामान्यतया कृषकहरुले तरकारी खेती मात्रै अथवा पशुपालन मात्रै गर्दै आए पनि उहाँले कृषि उपजमा बहुआयामिक हिसाबले काम गर्नुभएको छ । ३० वर्षदेखि कृषि पेशामा सक्रिय उहाँले कृषिका अनेक पाटामा अनुभव सँगाल्नु भएको छ । उहाँको कालीगण्डकी पशुपालन तथा कृषि फर्म ९ रोपनी क्षेत्रफलमा फैलिएको छ । उहाँको फर्ममा अहिले १५० टर्की जातका चरा, ६० हाँस, पोखरीमा १० हजार माछा, पाँच गाई, दूई भैसी र ८ वटा प्लाष्टिक टनेलमा तरकारी छन् ।

“सानै देखि कृषिमा लगाव थियो, वैदेशिक रोजगारीमा ध्यान गएन, बुबाले गरेको परम्परागत कृषि खेतीलाई विस्तारै आधुनिकतामा ढाले, प्रविधियुक्त कृषि प्रणाली अपनाउँदै आए” कृषक सापकोटाले भन्नुभयो “२०७२ सालदेखि यसलाई कृषि तथा पशुपंक्षीको फर्मका रुपमा विकास गरे, अहिले वार्षिक १४÷१५ लाखको कृषि उपजलाई बजारीकरण गर्दै आएको छु, कारोबारको ४० प्रतिशत खूद नाफा हुन्छ होला, जे होस् सन्तुष्टी छ, परिवारको यसमा ठूलो साथ छ ।”

फर्म सञ्चालनका लागि साढे तीन रोपनी जग्गा आफ्नै छ । अन्य जग्गा वार्षिक ८० हजार भाँडा तिरेर कृषि गर्दै आएको बताउनुहुन्छ । उहाँले टनेल बाहेकको पाँच रोपनी जग्गामा काउली बन्दाका बिरुवा लगाउनुभएको छ ।

गत असार र साउनमा मात्रै डेढ लाखको गोलभेँडा विक्री गरेको उहाँले बताउनुभयो । बाह्रै महिना मौसमी बेमौसमी तरकारी तथा फलफूल उत्पादन गर्दे आएको उहाँको भनाई छ । “अहिले मसंग दुई वटा हाइटेक टनेल र अन्य फलामे टनेल छन्, त्यसमा थोपा सिञ्चाई र मल्चिङ प्रविधिको प्रयोग छ” उहाँले भन्नुभयो “आधुनिक प्रविधि संगै कृषि उत्पादनमा बृद्धि भएको उहाँको अनुभव छ ।”

रिजालले एक जनालाई रोजगारी दिनुभएको छ भने श्रीमती चित्र कुमारी र छोरा सागर सापकोटाले सघाउदै आउनुभएको छ । धौलागिरी बहुमुखी क्याम्पसमा अध्ययन गरिरहनुभएका सागरले क्याम्पसको अध्ययन समय पछि कृषि फर्मलाई समय दिने गरेको बताउनुहुन्छ ।

सापकोटा परिवारले सहकारी मार्फत् दूध विक्री मात्रै गर्नुहुन्न । अन्य किसानलाई समेत दूध उत्पादनमा प्रेरित गर्दै संगम दूग्ध उत्पादक तथा कृषि सहकारी संस्थाको नेतृत्व समेत गर्दै आउनुभएको छ । सहकारीले अहिले दैनिक २ सय लिटर दूध बजार पठाउने गरेको छ ।

रिजालले अहिले ३० लिटर दूध दैनिक बजार पठाउने गरेको बताउनुहुन्छ । तीन वर्ष अघिदेखि पाल्न थालेको टर्की, हाँस तथा माछाले पनि उत्पादन दिइराखेका छन् । फर्मबाट माछालाई प्रति केजी ४ सय, टर्कीको तयारी मासुलाई एक हजार र हाँसलाई जिउँदो प्रति केजी ५ सयमा विक्री गर्दै आएका छन् ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *