खेमराज गौतम,बागलुङ
वडा दशैमा घर लिप पोत गर्नलाई आवश्यक रातोमाटोको आवश्यकता धेरै नै छ । अहिले रातोमाटो भएको स्थानमा महिलाहरुको भीडनै लाग्दछ ।
दशैमा घर लिप पोत गरेर चिटिक्क पार्ने प्रचलन संगै रातोमाटोको माग अत्याधिक हुन्छ । बागलुङ नगरपालिका–३ नुवारामा रातोमाटो खन्नेको भीड नै छ यतिखेर ।
मध्यपहाडी लोकमार्ग विस्तारका क्रममा खसेको पहिरोका कारण निस्केको रातोमाटो बेचेर त्यहाँका स्थानीयले दशै खर्चको समेत जोहो गर्ने गरेका छन् । नुवाराका स्थानीय आरबिसा सुनारले रातोमाटो खनेर बोरामा राखेर गाडीका यात्रुलाई विक्रि गर्न थालेको सात दिन भयो । उहाँले संकलन गरेको रातोमाटो रु. २०० प्रति बोरामा लोकमार्गमा चल्ने सवारी साधनका यात्रुहरुले खरिद गर्दै आएका छन् ।
“दशैको फूर्सदिलो समय सदुपयोग समेत हुने, दशै मनाउने
खर्च समेत हुँने, पहिरोका कारण सडकमा झरेको रातोमाटो रेश, सिगाना, बिहुँ तथा लगकोट सम्मका यात्रुले खरिद गरेर लैजाने गनूभएको छ, कसैले प्रति बोरा २०० दिन्छन् त कसैले १०० दिन्छन्” सुनारले भन्नुभयो “दिनमा एक हजार ५०० जती कमाई हुन्छ, दशै खर्च मनाउन सहज होला ।”
नुवारामा रातोमाटो निकै राम्रो पाइने भएकाले सवारीमा आएका यात्रुले बिहानै पैसा दिएर वेलुका घर फर्कने समयमा माटो खरिद गरेर लैजाने गरेको स्थानीय पुजा बिकले बताउनुभयो ।
“सडकमा खसेको रातोमाटो चाल्नुपर्दछ, बोरामा राखेपछि यात्रुले दशैमा घर लिप पोत गर्नका लागि खरिद गरेर लैजान्छन्” बिकले भन्नुभयो “कतिले आफै खनेर लैजाने गरेपनि धेरैले हामीले खनेर राखेको माटो लैजान्छन्, दिनमै १५÷२० बोरा माटो बिक्छ ।”
दशैमा गाउँका घर सजाउन रातोमाटो अत्यावश्यक पर्नेभएकाले खरिद गरेरै भएपनी स्थानीयले रातोमाटो लैजाने गरेका छन् । पहिला जस्तो रातोमाटो बोकेरे लैजाने चलन हटेर गएपनी अहिले सवारी प्रयोग गरी रातो माटो लैजाने गरेका छन् । मध्येपहाडी लोकमार्गको बागलुङ नगरपालिका खण्डमा रातोमाटो प्रसस्त पाइन्छ । सवारीको अनुकुलका कारण यहाँको माटो स्थानीयले खरिदै गरेर लैजाने गरेका छन् ।