सम्पादकीय
नेपालमा व्यवस्था बदलियो, अवस्था उस्तै छ । पात्रहरु फेरिए, प्रवृत्ति उस्तै रह्यो । फलतः नेपालको राजनीति उही पुरानो फोहोरी खेलबाट ग्रसित बनेको छ । नेपाली राजनीति जति बुझ्यो त्यति कठिन, झन् झन् बुझ्यो अझ कठिन जस्तो देखिदैछ । राजनीतिक दलहरुका आन्तरिक विवाद, विभाजन कति आफ्नै कारणले त कति बाह्य शक्तिका कारणले भइरहेका छन् । राजतन्त्रात्मक शासन व्यवस्था ढालेर संघीय लोकतान्त्रिक गणतन्त्रात्मक नेपाल बन्यो । तर, उन्नत व्यवस्था अनुसारको नेताहरुको व्यवहार र कार्यशैली नहुँदा देश फेरि अवस्था र नियति भोग्नुपर्ने विवशतामा पुगेको छ । नेकपा एकता, विभाजन, एमाले जसपा विवाद र फुट, यही अनुक्रममा दुई पटक संसद विघटन जस्ता घटना, सरकार फेरबदलले जनता आजित बनेका छन् ।
नेपाली राजनीति अहिले कुन हालतमा छ भन्ने बुझ्न ताजा एक घटना र उदाहरण काफी छ । नवगठित सरकारका प्रधानमन्त्री शेरबहादुर देउवाले ८४ दिनमा मन्त्रीपरिषद विस्तारलाई पूर्णता त दिए । तर, ढिलो गरी विस्तार गरिएको मन्त्रीपरिषद विस्तार विवाद र आलोचना मुक्त हुन सकेन । मन्त्री परिषद विस्तारकै बेला सर्वोच्च अदालतका मुख्य न्यायधीस चोलेन्द्र शमशेर जबराले भाग खोजेको समाचार सार्वजनिक भए पछि त्यसले देश तरंगित भयो । सबैजसो निकाय राजनीतिले ग्रस्त बनिरहेको परिप्रेक्ष्यमा न्यायपालिका यसबाट जोगिएकै थियो । तर, प्रमुख प्रतिपक्ष दल नेकपा एमाले लगायतले वर्तमान सरकारलाई परमाआदेशको सरकार भनेर आरोप लगाइरहेका बेला न्यायपालिका जे जस्तो विषय र विवादमा मुछिएको छ । त्यसले गम्भीर प्रश्न खडा गरेको छ ।
मुख्य न्यायधीशकै सिफारिसमा मन्त्री बनेको आरोप सँगै चौतर्फी आलोचना भए पछि सरकारका नवनियुक्त उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गजेन्द्रबहादुर हमालले सथप लिएको ३ दिनमै राजीनामा दिने घोषणा गरेका छन् । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको कोटाबाट मन्त्री बनेको आरोप खेप्दै आएका हमालले प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष स्वविवेकले राजीनामा बुझाएको जिकिर गरेका छन् । आरोप र आलोचना आए पछि मन्त्री हमालले राजीनामा दिनु त उच्च नैतिक संस्कार हो । यसका लागि हमाल धन्यवादको पात्र छन् । तर, ३ दिनमै राजीनामा दिने भए मन्त्री हुन किन तयार हुनु ? सपथ लिनु ? यसले हमालको जीवन, प्रतिष्ठामा त क्षति पु¥याएको छ नै, त्यो भन्दा पनि बढी प्रधानमन्त्री देउवा र प्रधानन्यायधीस जबरा यसका लागि जिम्मेवार छन् । उनीहरुले नैतिकता प्रदर्शन गर्न सक्नुपर्दछ ।