लोकेन्द्र निरासी
सूचना प्राप्त गर्नु ,नागरिकको मौलिक अधिकार हो । पछिल्लो समयमा सूचना र प्रविधिको जति धेरै विकास भइरहको छ । त्यति नै आम संचार र पत्रकारिता क्षेत्रमा पनि थुप्रै छलफल र बहसहरु हुने गरेका छन् । पेशाको हिसाबले पत्रकारिता आफैमा एक मर्यादित पेशा हो । तर पनि यसमा उब्जने प्रश्न र आम नगरिकको बुझाइले यो बहसको विषय बन्नु स्वभाविक हो । हरेक व्यक्तिका सामाजिक जीवनका आयाम र त्यसका पाटाहरु फरक फरक हुने गर्दछन् । हामी जुन सामाजिक कार्यमा संलग्न भएका हुन्छौं ती कार्यमा संलग्न हुँदैमा मात्र सामाजिक उत्तरदायित्व पुरा हुँदैन । काम र पेशा फरक फरक भए पनि त्यसभित्रका भोगाई र पीडा आ–आफ्नै हन्छन् । फरक यति हो–लेख्नेको कथा बन्छ भने भोग्नेको व्यथा बन्छ । कथा सुनिन्छ÷पढिन्छ, व्यथा भोगिन्छ÷पिरोलिइन्छ ।
पत्रकारिता जति मर्यादित मानिन्छ, त्यति नै आफैमा चुनौतीपूर्ण पेशा पनि हो । हाम्रो पद, पेशा र भूमिकासंगै जिम्मेवारी र कर्तव्य पनि संगै जोडिएका हुन्छन् । अग्रपंक्तिमा खटिएर सूचना र चेतनाको पैरवी गर्ने पत्रकार स्वभाविक रुपमा पनि अझै बढी जिम्मेवार र उत्तरदायी बन्नुपर्ने हुन्छ । विश्वव्यापी रुपमा फैलिएको कोरोनो भाइरस (कोभिड–१९) ले पत्रकारहरुको पेशा र सामाजिक जीवनलाई झनै कष्टकर बनायो । महामारीको विकराल अवस्थामा पनि आफ्नो कर्तव्य र जिम्मेवारीबाट विमुख नरही निरन्तर जिम्मेवारी बोध गर्दै आफ्नो कार्यक्षेत्रमा खटिएर कार्य सम्पादन गर्नु अवश्य पनि कम चुनौतीपूर्ण विषय होइन । आफ्नो कर्तव्य र जिम्मेवारीकै खातिर अग्र पङ्तीमा खटिएर काम गर्दा देशका थुप्रै पत्रकारहरु कोरोना संक्रमित हुन पुगे भने केही पत्रकारहरुले ज्यान समेत गुमाउन पुगे । बागलुङ जिल्लामा पनि अहिलेसम्म ८ जना भन्दा बढी पत्रकार कोरोनाबाट संक्रमित हुन पुगेका छन् भने पत्रकार महासंघका एक जना साधारण सदस्यको कोरोना संक्रमणको कारण ज्यान समेत गएको छ । यसरी जोखिम मोलेर कार्य सम्पादन गरिरहँदा पनि सबै पक्षबाट तारिफ र जस मात्र मिल्छ भन्ने पनि होइन । तर, आफ्नो जिम्मेवारी र कर्तव्यबाट टाढा रहन मिल्दैन । राम्रो कामको मूल्यांकन समाजले एक दिन अवश्य गर्छ, इतिहास त्यसको साक्षी अवश्य रहिरहन्छ । त्यसैले कर्म गर्ने मान्छेले फलको आशा गर्दैन, सधै कर्ममा विश्वास गर्छ । हाम्रो कामको प्रतिफल र परिणामलाई समाजले कसरी हेरेको छ, मूल्यांकन गरेको छ ? के हाम्रो पेशा र हाम्रो कार्यकुशलता उत्तरदायीपूर्ण छ ? हामीले समाजको अझै बढी जिम्मेवारी र उत्तरदायित्व कसरी बहन गर्न सक्छौं ? त्यसमा असल पत्रकारको भूमिका कस्तो रहने ? यी प्रश्नहरुमा हाम्रो ध्यान जान आवश्यक छ ।
मानिस सामाजिक प्राणी भएकाले उसका हरेक कार्यहरु समाजको लागि निकै महत्वपूर्ण हुने गर्दछन् । हाम्रो आँखाले जसरी अरुलाई हेरिरहेको हुन्छ, त्यसरी नै अरुको आँखाले पनि हामीलाई हेर्ने स्वतन्त्रता अवश्य छ । सामान्य समाजको बुझाइले भन्ने गर्छ कि पत्रकार भनेको धेरै कुरा जानेको हुन्छ, बुझेको हुन्छ, शिक्षित हुन्छ, सभ्य हुन्छ, सहयोगी हुन्छ, अरुले थाहा नपाएको कुरा पनि थाहा पाएको हुन्छ । तर समाजले वर्षाैंदेखि दिएको यही उपमाको सामाजिक बिल्लामा रमाइरहँदा वा आफ्नो कर्म ठानेर समाजको पहरेदार बन्दा हामीले आफू र आफ्नो पेशालाई कत्तिको मर्यादित र सामाजिक रुपमा उत्तरदायी बनाउन सक्यौं वा सकेनौ ? हाम्रो व्यवहार र कार्यशैलीलाई कत्तिको परिवर्तन गर्न सक्यौं ? यी महत्वपूर्ण बहसका विषयहरु हुन् ।
पछिल्लो समयमा जति संचार माध्यमको संख्यात्मक रुपमा वृद्धि हुँदै गएको देखिन्छ । त्यति नै पत्रकारहरुको संख्या पनि वढ्दै गएको छ । तर यहाँ प्रश्न उठ्ने गर्छ कि के समय र बजारको माग अनुसारको पत्रकारिताको विकास भइरहेको छ त ? के पत्रकारको क्षमता, पेशा र इमान सन्तोषजनक छ ? के पत्रकारको कार्यकुशलताले संचार उद्यमीलाई सन्तुष्टि दिन सकेको छ ? या त सस्तो लोकप्रियता र नामको लागि मात्र हाम्र्रो पत्रकारिता उद्धत भइरहेको छ ? कि संचार उद्यमीले भने अनुसारको काम र पारिश्रमिकता दिन लायक काम नै गरेका छैनन् ? यी आफैमा सोचनीय पक्ष र बहसका विषयहरु हुन् । रहर, कहर र राजनीतिक आस्थाका आधारमा खोलिएका र संचालन भएका थुप्रै संचार माध्यमहरुको अहिलेको अवस्था निकै कठिन छ । संचार माध्यमलाई कसरी टिकाउने भन्ने विषय पहिलो चुनौती बनेको छ भने संचार माध्यमबाट प्रकाशन प्रशारण हुने विषयवस्तु र सामग्रीहरुको सत्यता, गुणस्तरीयता र प्रभावकारिकताका पक्षहरु पनि त्यत्तिकै महत्वपूर्ण विषय हुन् । संचार माध्यमहरुको विकासले रहर मेट्ने कतिपय रहरे पत्रकारहरुलाई क्षणिक समयका लागि प्लेटफर्म बने पनि टिकाउ र विकाउको पत्रकारिता र त्यस खालको जनशक्तिको अझै अभाव खड्किएको छ । मिडियामा प्रवेश गर्न र क्षणिक आत्म सन्तुष्टि मेट्नका लागि मात्र पत्रकार बन्न चाहनेका लागि आफूलाई तलब र नियुक्ति पत्र केही चाहिदैन, भोलुन्टरमै भए पनि काम भए पुग्छ भन्ने रहरे संचारकर्मीहरुको पनि अहिले कमि छैन भने अर्काेतिर संचार उद्यमी÷संचालकसंग आफ्नो क्षमता र योग्यता प्रदर्शन गरेर मैले संचार माध्यमलाई यति उत्पादनमूलक बनाउन सक्छु, मलाई यति तलब चाहिन्छ भनेर भन्न सक्ने हिम्मत सहितको जनशक्तिको पनि त्यत्तिकै अभाव छ ।
अहिले मिडिया र पत्रकारहरुको गुणस्तरमा समेत ह«ास आइरहेको छ । पत्रकारितामा उमेर बुढो हुँदैमा र कपाल फुलाउँदैमा त्यसले कुनै अर्थ राख्दैन । अनुभव, योग्यता र क्षमता त परिणाम र प्रतिफलमा देखिने हुनुपर्दछ । आफ्नो पत्रकारिताको वर्ष दाबी गरिरहँदा मैले कति सिकें ? कति जानें ? आफ्नो योग्यता र क्षमताको कति विकास गरें ? म कुन धरातलमा छु ? मैले सिकेको÷जानेको कुराले आफ्नो कार्यकुशलता, व्यवहार र पेशामा कति परिवर्तन गर्न सकें ? आदि प्रश्न र विषयहरुको मूल्यांकनले मात्र आफ्नो अनुभव र क्षमताको पुष्ट्याई गर्न सक्छ । धेरैजसोमा पत्रकार बन्ने हुटहुटी मात्र बढी देखिनु र अध्ययन अनुसन्धानमा ध्यान नदिने बानीले एकातर्फ पत्रकारहरुको क्षमता र गुणस्तरमा कमी आएको छ भने अर्काेतर्फ संचार माध्यमहरुलाई पनि कमजोर बनाइरहेको छ । आजभोलि अधिकांश संचार माध्यमहरु कपीपेष्ट समाचारले धानिएका छन् । एउटा संचार माध्यममा छापेको÷लेखेको कुरा आज उही शीर्षक, उही शब्द, उही वाक्य दर्जनौं संचार माध्यममा कपीपेष्ट भई आइरहेका हुन्छन् । यसले समाचारको वस्तुनिष्ठता र सत्यतामा समेत प्रश्न सिर्जना गरिरहेको हुन्छ । समाचार तान्ने÷कपीपेस्ट गर्ने विषय होइन, यो त खोज अनुसन्धान गरेर सत्यतथ्य र सावधानिपूर्वक लेख्ने विषय हो । तर यस विषयमा अधिकांश पत्रकारहरुको ध्यान गएको हुँदैन । संचार माध्यमहरु समाज र सिङ्गो राज्यका अमूल्य सम्पत्ति हुन् । जसको संरक्षण, संवद्र्धन र विकास गर्नु राज्यको दायित्व अन्तरगत पर्दछ । सोही अनुसार संचार माध्यम र संचारकर्मीहरुको पनि आफ्नो भूमिका र समाजप्रतिको दायित्व अपरिहार्य रहन्छ । समाज परिवर्तनको संवाहक र पहरेदारको रुपमा सधै खबरदारी गरिरहने आम संचार र पत्रकारितालाई पनि सामाजिक उत्तरदायित्व सहितको कर्तव्य र जिम्वेवारीमा उभ्याउन जरुरी देखिन्छ ।
पत्रकारले के गर्न हुन्छ, हुँदैन वा सबै गरे छुट छ ? पत्रकारिता वस्तुनिष्ठ हुनुपर्छ भनेर बहस गरिरहँदा पत्रकार कस्तो हुनुपर्छ ? के पत्रकारिता आफैमा निर्विवाद पेशा हो ? उसले गरेका सबै कामलाई समाजले राम्रो र सत्य नै भन्छ त ? हरेकलाई औंला उठाउने पत्रकारलाई आम नागरिकले औंला उठाउन नपाउने ? यी विषयहरु पछिल्लो समयमा आएका पत्रकारिताका वहसका विषयहरु हुन् । हरेक क्षेत्रमा आलोचना, समालोचनाहरु हुने गर्दछन् तर पत्रकार र पत्रकारिताको विषयमा यी गौण विषय मानिन्छ । किनकि केही विरोध वा आलोचना गरे पत्रकारले उछितो नै काढ्ने पो हो कि वा पत्रकारको विरोध गरे आफ्नो पेशा, व्यवसाय वा सामाजिक जीवनमा नै खतरा मोल्नु पर्ने हो कि ? यी यस्तै कुराहरुको डरले आम नागरिकले पत्रकारको विषयमा खासै विरोध गर्न वा जोखिम मोल्न आँट गर्दैनन् । अर्काेतर्फ प्राय नेपाली मिडियाले अभ्यास गरेको पत्रकारिता ईथिक्समा भन्दा पनि अरुलाई स्वाद दिन सनक र दनकको लागि समाचार लेख्ने, राजनीतिक पूर्वाग्रही हुने, कसैलाई खुसी पार्न र कसैलाई झटारो दिन पत्रकारहरु प्रयोग हुने, आर्थिक प्रलोभनमा स्वार्थका लागि समाचार लेख्ने जस्ता प्रवृत्ति र घटनाहरु कुनै नौला भने होइनन् । तर पत्रकारले जे गरेपनि छुट अवश्य छैन । समाजले राम्रो भन्नका लागि आफूले गर्ने कर्म राम्रो हुनुपर्छ । आफूले आफैलाई सादगीको कसीमा राखेर साधु बन्न खोज्नु मुर्खता मात्र हो । किनिकि मूल्यांकनको सबैभन्दा उच्चतम कसी भनेको समाज हो, सामाजिक आँखा हो । पत्रकार भनेको समाजले दिएको अजम्बरी बिल्ला वा कुकर्म मोचन र स्वेच्छिक छुटको लाइसेन्स अवश्य होइन ।
नेपालको सिङ्गो पत्रकारिताको विकासमा बागलुङको पत्रकारिता र बागलुङे पत्रकारहरुको पनि निकै महत्वपूर्ण भूमिका रहेको छ । नागरिक स्वतन्त्रता, समानता, न्याय र सुशासन स्थापना गर्न होस् वा प्रतिगामी शक्तिको विरुद्ध लडेर देशमा लोकतन्त्र र गणतन्त्र स्थापना गर्न नै किन नहोस् । झण्डै सात दशकको समय पार गर्दा बागलुङको पत्रकारिताको विकास र यसको योगदानलाई कहिल्यै बिर्सन सकिदैन । वर्तमान अवस्थासम्म आइपुग्दा छापा, इलेक्ट्रोनिक, अनलाईन लगायत विभिन्न संचार माध्यमहरुको विकास भइरहेको छ । स्रोत, साधन र प्रविधिको तीव्र विकास भइरहेको छ । समय सापेक्ष पत्रकारिताको विकासमा वागलुङका पत्रकारहरुको भूमिका र योगदान निकै सराहनीय छ । यति हुँदाहुदै पनि बागलुङका मिडिया र पत्रकारहरु पनि बेला बखतमा कैयौं पटक चुकेका प्रशस्त उदाहरणहरु छन् । यस्ता चुक्ने काम सबैभन्दा बढी निर्वाचनको बेला र राजनीतिक पूर्वाग्रह एवं प्रयोगबाट भएका तथ्यहरु सबैका सामु साक्षी छन् । विगतका यी घटनाहरुले पनि सामाजिक उत्तरदायित्व सहितको हाम्रो पत्रकारितामा कहिलेकाही प्रश्न सिर्जना गर्ने अवस्था आउनु स्वभाविकै हो । अहिले पनि पत्रकारितामा खोज र मौलिकता हराउँदै गएको छ, यो दुखद् पक्ष हो ।
पत्रकारिताको विषयमा विभिन्न बहसहरु हुँदा सबैभन्दा पहिला पत्रकारकै कुरा आउँछ । अनि उद्घोष गरिन्छ— ‘पत्रकार र कर्मचारीलाई समयमा तलबभत्ता भुक्तानी गर्न नसक्ने संचार माध्यमहरु बन्द गरे हुन्छ’ । नेपाली उखान छ— नरहे बाँस नबजे बाँसुरी । पहिलो कुरा पत्रकारले पनि संचार उद्यमीले संचार माध्यम खोलिदिएको भएर नै हामी पत्रकार र हाम्रो पत्रकारिता बाँचेको छ भन्ने कुरा बुझ्न जरुरी छ । दोस्रो कुरा संचालकहरुले केवल नाफा कमाउन मात्र संचार माध्यम खोलेका हुन् भनेर एकतर्फी रुपमा व्याख्या गर्नु पनि सान्दर्भिक रहँदैन । किनकि संचार माध्यमहरु नाफामूलकभन्दा पनि सेवामूलक संस्था हुन् । यिनीहरुलाई संरक्षण गर्नु संचालकको मात्र दायित्व होइन, सबैको त्यत्तिकै भूमिका रहन्छ । बहसमा प्रायः पत्रकारहरुको सेवा, सुविधा र पेशागत सुरक्षाको विषयमा कुरा उठ्ने गरेको हुन्छ । तर संचालकहरुको दुःख, पीडा, उनीहरुको योगदान र भूमिकाको बारेमा कहिल्यै कुरा उठ्दैन । न त उनीहरुको योगदानको कहिल्यै कदर र सम्मान नै हुने गर्दछ । एकातर्फ राज्यले पत्रकारहरुको क्षमता र योग्यता निर्धारण गरी सोही अनुसार पेशागत सुरक्षा गर्न सकेको छैन भने अर्काेतर्फ संचार उद्यमीहरुले पनि लगानीमैत्री वातावरणमा संचार माध्यमहरु खोली उत्पादनमुखी बनाउने अवस्था छैन । रहरले, कहरले वा राजनीतिक प्रतिशोधका कारणले खोलिएका अधिकांश संचार माध्यमहरु अहिले बन्द गर्ने कि इज्जतको खातिर चलाउने भन्ने अवस्थामा देखिन्छन् । यो दुर्दशा संचार क्षेत्रमा राष्ट्रिय स्तरकै समस्या बनेको छ । पत्रकारहरुलाई पनि आफ्नो पेशाप्रति न त सन्तुष्टि छ न त यही पेशाले जीवनरथ चलिहाल्छ भन्ने विश्वास नै छ, न त बोलीले झोली भरिने अवस्था नै छ । त्यसैले त नाम पत्रकार तर काम अरुअरु ‘कार’…..(फरक पेशा) मा आबद्ध हुनुपर्ने अवस्था सिर्जना भएको छ । आजभोलि त संचार उद्यमी र सञ्चारकर्मी पनि छुट्टाउन गाह«ो भएको देखिन्छ । किनकि प्रायः पत्रकारहरु आफै संचालक र आफै संचारकर्मी छन् । अब तलब कस्लाई माग्ने ? कस्ले माग्ने ? श्रमजीवी पत्रकार ऐन कस्का लागि ? श्रमजीवी पत्रकार को हो ?
आफूलाई आम्दानीको स्रोत हुने विभिन्न पेशा, व्यावसाय, उद्यम, जागिर, कम्पनी संचालन, बिजनेश आदिमा आवद्ध भएको व्यक्तिलाई श्रमजीवी पत्रकार भन्न मिल्दैन । पेशागत रुपमा पत्रकारिताबाट मात्रै जीवन निर्वाह गर्ने पत्रकार मात्र श्रमजीवी पत्रकार हो । त्यसैले पछिल्लो समयमा पत्रकारहरुको संख्यामा वृद्धि भएपनि वास्तविक श्रमजीवी पत्रकारको संख्या भने कम नै देखिन्छ । अर्काेतर्फ विभिन्न पेशा व्यावसायमा आवद्ध भएर पनि क्रियाशिल रुपमा कलम चलाउने पत्रकारहरुको योगदानलाई पनि बिर्सन मिल्दैन । तर पछिल्लो समयमा पत्रकारितामा विकृति र चुनौतीहरु पनि थपिएका छन् । राजनीतिक कित्ताबन्दीको आधारमा आफ्नो पेशा र मर्यादालाई बिर्सने परिपाटी बढेको छ । फरक पेशा व्यावसायिक संघसंस्था र राजनीतिक संघ संगठनहरुमा पनि पत्रकारहरुको खुल्ला सहभागिता समेत देख्ने गरेको पाइन्छ । अहिले विभिन्न उद्योग व्यावसाय संचालन गर्ने र नाफामूलक व्यावसायका विभिन्न संगठनहरुका संचालक समिति तथा विभिन्न पदहरु समेत पत्रकारहरुले होल्ड गरिरहेका छन् । अन्य नाफामूलक संघसंस्था र कम्पनी संचालकको भूमिकामा समेत पत्रकारहरु रहेका छन् । कतिपय राज्यको सेवा सुविधा लिने र सरकारी तथा गैरसरकारी विभिन्न संघसंस्थामा लाभको पद धारणा गरेका पनि छन् । बाँकी कति होलान् श्रमजीवी पत्रकार अब आफै विचार गर्नुहोस् । यसबाट पनि के प्रमाणित हुन्छ भने पेशागत रुपमा विशुद्ध पत्रकारिता मात्र गर्ने श्रमजीवी पत्रकारको संख्या निकै कम छ, जसको कारणले श्रमजीवी पत्रकारका मुद्दाहरु सधै ओझेलमा पर्ने गरेका छन् र कार्यान्वयनमा पनि त्यत्तिकै चुनौती देखिएको छ ।
आर्थिक उपार्जनका लागि पत्रकारहरु पत्रकारिताभन्दा फरक पेशा व्यावसायमा आवद्ध हुनुपर्ने अवस्थाका कारण पनि पत्रकारहरुले आफ्नो पेशालाई व्यवस्थित, मर्यादित र पेशागत बनाउन सकेको अवस्था छैन । अहिले पनि संचार क्षेत्रमा टिकाउ र विकाउको जनशक्तिको अभाव छ । अहिलेसम्म आफू पत्रकारिता क्षेत्रमा रहेर हामीले जे जति गर्न सक्यौं त्योभन्दा थप गर्नुपर्ने अवस्था आएको छ । विगतको आत्मरतीले सन्तुष्टि भएर बस्ने अवस्था छैन । हामी रहेको संस्था÷क्षेत्र÷पेशालाई व्यवस्थित र मर्यादित बनाउन अब हाम्रो कार्यशैली र व्यवहारलाई कसरी परिवर्तन गर्ने भन्ने विषयले नै बढी महत्व राख्ने गर्दछ । हामी अरुको लागि सधैं गुरु बन्न रुचाउँछौं तर कहिल्यै सिक्ने र जान्ने कुरामा अरुको चेलो बन्ने हिम्मत राख्दैनौं । ‘अल्प विद्या भयङ्करी’ भनेझै आफूमा भएको थोरै ज्ञानलाई दर्शन र ज्ञानको भण्डार ठानिन्छ तर वास्तवमा एउटा असल पत्रकारले सिक्न र जान्नु पर्ने सैद्धान्तिक, कानुनी र व्यवहारिक ज्ञानहरु धेरै हुन्छन् । जुन एकपटक जानेर र सिकेर मात्रै पनि हुँदैन । यो सिकाइको निरन्तर प्रक्रिया भित्र पर्दछ । आम संचार र पत्रकारिताको क्षेत्र निकै व्यापक बनिरहेको छ । यसमा अध्ययन अनुसन्धान र मौलिकतालाई जोड दिनुपर्ने देखिन्छ । नेताले गरेको भाषण र औपचारिक कार्यक्रमको समाचार बनाएर मात्र अबको पत्रकारिताको साख रहने अवस्था छैन । दुरदराजमा रहेका सूचना र कतिपय आवाज विहीनहरुका आवाज अझै बाहिर आउन सकेका छैनन् । ती आवाज र नागरिकका सरोकारका विषयवस्तु र सूचनाहरुलाई बाहिर बुलन्द गर्न आवश्यक छ । यी विषयमा हाम्रो भूमिका र सामाजिक उत्तरदायित्व निकै महत्वपूर्ण पक्ष हो ।
देश संघीयतामा गएपछि स्थानीय निकायलाई अहिले असीमित अधिकार दिएको छ । स्थानीय तहमा भ्रष्टाचार चरम रुपमा मौलाइरहेको छ । बेथिति र विकृतिहरु बढिरहेका छन् । जनताको अमूल्य मत लिएर निर्वाचित भएका कतिपय जनप्रतिनिधिहरु साँढे जस्तै बनेका छन्, जनताप्रति जवाफदेही बन्न सकेका छैनन् । समानता, सुशासन र न्याय स्थापना हुन सकेको छैन । देशी विदेशी शक्तिहरुको चलखेलले राष्ट्रियता कमजोर बन्दै गइरहेको छ भने यिनै कारणहरुले जनताको स्वतन्त्रता, स्वाधिनता, लोकतन्त्र र गणतन्त्र नै खतरामा पर्ने अवस्था सिर्जना भएको छ । यी विषयहरुमा पत्रकारले निष्पक्ष र कर्तव्यनिष्ठ भएर कलम चलाउनुपर्ने देखिन्छ । जनप्रतिनिधि र स्थानीय तहका केही व्यक्तिसंग मिलेमतो गरेर हात चाट्ने, आर्थिक फाइदा लिने, उनीहरुको बदमासी र कर्तुत विरुद्ध कहिल्यै कलम नचलाउने, आफ्नो राजनीतिक आस्थाका मान्छेहरुको भजन गाउने र उनकै अघिपछि लुटुपुटु गरेर पत्रकारिताको साख जोगाउने पत्रकारहरुले पनि सोच्ने समय आएको छ, अब आम संचारकर्मी र सबै पत्रकारहरुले मर्यादित पत्रकारिता र आफ्नो उत्तरदायित्वलाई सम्झनै पर्ने बेला आएको छ । असल पत्रकार आलोचनाको पात्र बन्ने होइन, समाजको सहजकर्ता र सच्चा पहरेदार बन्नुपर्छ । हाम्रो नजरले समस्या मात्र देख्ने पनि होइन, प्रशस्त सम्भावनाहरुको पनि खोजी गर्न जरुरी छ । जसको लागि पत्रकारिता पेशामा इमान र विश्वास, कार्यशैलीमा कुशलता, नेतृत्वमा सहकार्यता, जिम्मेवारीमा उत्तरदायी र व्यवहारमा स्पष्टता प्रदर्शन गर्दै पेशागत मर्यादा र सामाजिक उत्तरदायित्व सहितको पत्रकारिताको विकासलाई जोड दिन जरुरी देखिन्छ । –धौलागिरीको पत्रकारिता पुस्तकबाट