दसैंमा सुनसान हुने सहरमा यस्तो छ प्रहरीको सुरक्षा योजना

डम्मर बुढा मगर, बागलुङ
चाडबाडको समयमा चोरी तथा लुटपाटका घटनाहरु बढी हुने गर्छन् । सम्भावित घटना र जोखिमलाई ध्यानमा राख्दै जिल्ला प्रशासन कार्यालय बागलुङ र जिल्ला प्रहरी कार्यालयले सुरक्षा व्यवस्थापनलाई थप कडाई गर्न थालेको छ ।

सदरमुकाम सहर बजारबाट अधिकांश नागरिक चाडबाड मनाउन गाउँ जाने हुँदा बजारका घरहरु खाली हुने र चोरीका घटना हुने जोखिमलाई ध्यानमा राखेर सुरक्षा योजना तयार गरिएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रमुख प्रहरी उपरीक्षक कृष्ण बहादुर पल्ली मगरले जानकारी दिनुभयो ।

‘चाडबाडको समयमा चोरी, डकैती र लुटपाटका घटनाहरु बढी हुने गर्छन्, यो समयमा गाउँका घरहरु भरिभराउ र बजारका घरहरु खाली हुने गर्छन्, यही मौका पारेर धेरै चोरी हुन्छन्,’ प्रहरी उपरीक्षक पल्ली मगरले भन्नुभयो ‘नागरिकले जनधनको सुरक्षा आफै पनि गर्नुपर्छ, हामीले पनि विशेष सुरक्षा व्यवस्था गरेका छौँ, चाडपर्व सुरक्षित तरिकाले ढुक्क भएर मनाउँदा हुन्छ ।’

गाउँ घरमा पनि जाँडरक्सी खाने होहल्ला गर्ने हुँदा ग्रामीण क्षेत्रमा पनि प्रहरी परिचालन गर्ने बताउनुहुन्छ । जिल्लाका सबै ठाउँमा प्रहरीलाई यस समयमा विशेष सुरक्षाका लागि सर्कुलर गरेको बताउनुभयो । शान्ति, सुरक्षाका लागि प्रहरीलाई सहयोग गर्न नागरिकलाई समेत उहाँले आग्रह गर्नुभयो ।

दशैको दिन पनि प्रहरी ड्युटीमै खटिने भएकाले प्रहरीले सके जतिको सुरक्षा प्रदान गर्ने बताउनुहुन्छ । ‘हामी राष्ट्रसेवकहरु हौँ, देशको सेवाको लागि दिन रात, चाडपर्व केही नभनी समर्पित छौ, हामीहरुले दसैँमा घर जान पाइएन, टीका लगाउन पाइएन भन्ने गुनासो कहिल्यै गर्दैनौ,’ उहाँले भन्नुभयो ‘सबैले ढुक्क भएर आफ्नो परिवारसंग घर भित्रै बसेर रमाईलो गर्दै दशै मनाउनुहोस, हामी तपाईहरुको सुरक्षाको लागि खटिरहन्छौँ ।’

प्रमुख जिल्ला अधिकारी शिव कुमार कार्कीले चाडबाडको समयमा हुने विभिन्न किसिमका अपराधजन्य घटना न्यूनिकरण गर्नका लागि विशेष योजना र तयारीका साथ सुरक्षा निकाय क्रियाशील रहेको बताउनुभयो । उहाँले यस समयमा झैझगडा, चोरी, डकैती पनि धेरै हुने हुँदा प्रहरी शान्ति, सुरक्षा कायमका लागि तयार अवस्थामा रहेको बताउनुभयो ।

प्रजिअ कार्कीले कोरोना महामारीका बिच मनाउन थालिएको चाडपर्वलाई स्वास्थ्य सुरक्षाका मापदण्डलाई पालना गर्न आग्रह गर्नुभयो । उहाँले रोगले चाडबाड नभन्ने भन्दै सरकारले निर्देश गरेका मापदण्डलाई अपनाउनु पर्नेमा जोड दिनुभयो ।

उहाँले आफूहरु राष्ट्रसेवक भएको हुँदा चाडबाड मनाउन घरमै जानै पर्छ भन्ने नभएको भन्दै शान्ति सुरक्षा कायम गर्दै यथास्थितिमै मनाउने बताउनुहुन्छ । ‘चाडपर्वको समयमा पनि अतिआवश्यक सेवा हामीहरुले दिनेनै छौँ, देशको सेवामा लागेकाहरु दसैँमा घर जानै पर्दछ भन्ने हुँदैन,’ प्रजिअ कार्कीले भन्नुभयो ‘हामी जहाँ, जुन अवस्थामा छौँ, त्यही ठाउँमा दसैँ मनाउने योजना गरेका छौँ । उहाँले चाडबाडलाई भड्किलो रुपमा नभई आफ्नो अवस्था अनुसार मनाउन समेत आग्रह गर्नुहुन्छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *