बरेङमा आदर्श सञ्चारको शुभकामना आदान प्रदान

चाडबाडमा अनावश्यक खर्च नगरौ : जिसी

आदर्श अनलाइन,बागलुङ

आदर्श सञ्चार सहकारी संस्था लिमिटेड बरेङ गाउँपालिका स्तरीय समन्यय उपसमिति बागलुङले विजया दशमी, तिहार लगायतका पर्वहरुका अवसरमा शुभकामना आदान प्रदान तथा वित्तीय साक्षरता सम्बन्धी प्रशिक्षण कार्यक्रम मंगलवार बरेङमा सम्पन्न गरेको छ ।

सदस्यहरुबीच शुभकामना आदान प्रदान गर्नुका साथै आम समुदायलाई सहकारी र वित्तीय साक्षरताका विषयमा सजग बनाउने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको उपसमितिका संयोजक जयराम शर्माले जानकारी दिनुभयो ।

कार्यक्रममा आदर्श सञ्चार सहकारी र वित्तीय साक्षरताका बारेमा जानकारी गराउदै संस्थाका सम्पादक तथा राष्ट्रिय सहकारी बैंकका सञ्चालक एवम् गण्डकी प्रदेश संयोजक राम बहादुर जिसीले चाडपर्वहरुमा अनावश्यक खर्च गर्ने प्रचलनका कारण मानिसहरु वित्तीय रुपमा संकटमा पर्ने गरेको बताउनुभयो ।

चाडपर्व, खानपान लगायत परिवारका सदस्यहरुको जीवनयापनका लागि गरिने खर्चलाई न्यूनिकरण गर्ने सचेतना आवश्यक रहेको छ, जिसीले भन्नुभयो–‘पछिल्लो समय मानिसहरु आवश्यकता भन्दा चाहनामा बढी केन्द्रीत हुन थालेका छन्, चाहनालाई आवश्यकताका रुपमा परिवर्तन गर्ने कार्यले मानिसलाई आर्थिक रुपमा कमजोर र सामाजिक रुपमा पछाडि पार्दछ ।’

कार्यक्रममा स्थानीय समाजसेवीहरु धनिश्वर पौडेल, प्रेम प्रसाद शर्मा, रुपनारायण शर्मा, आदर्श सञ्चार बरेङ गाउँपालिका समन्वय उपसमितिका सदस्यहरु तारादेवी घर्ति थापा, देवी काला पुन लगायतले शुभकामना व्यक्त गर्नु भएको थियो ।

कार्यक्रम आदर्श सञ्चार सहकारी संस्था बेरङ गाउँपालिका समन्वय उपसमितिका संयोजक जयराम शर्माको अध्यक्षता, सचिव देविदत्त शर्माकोको सञ्चालन र सदस्य प्रेम गिरीको स्वागतमा सम्पन्न भएको थियो ।

धौलागिरी क्षेत्रमा सञ्चारको संस्थागत विकास गर्ने लक्ष्यका साथ स्थापित यो क्षेत्रको पहिलो सूचना तथा सञ्चार सहकारी संस्था आदर्श सञ्चार सहकारी संस्थाले धौलागिरी जागरण दैनिक, अग्रसर साप्ताहिक, आदर्शसञ्चार डटकम अनलाइन सञ्चालन गर्नुका साथै वित्तीय क्षेत्रमा समेत काम गर्दै आइरहेको छ । संस्थामा हाल २ हजार ९ सय जना शेयर सदस्य, ५ करोड ५० लाख शेयर पूँजि, ३३ करोड बचत, ३६ करोड कर्जा लगानी र ४५ करोडको कुल सम्पत्ती रहेको संस्थाका प्रवन्धक दिपकराज सापकोटाले जानकारी दिनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *