गण्डकीमा एमालेको वडा र पालिका अधिवेशन अनिश्चित

आदर्श अनलाइन, बागलुङ

नेकपा एमालेले दशौ राष्ट्रिय महाधिवेशनको पूर्व सन्ध्यामा गर्न लागेको वडा र पालिका तहका अधिवेशनको समय अनिश्चित बनेको छ ।

गण्डकी प्रदेश संगठन कमिटिको मंगलवार सम्पन्न सचिवालय वैठकले आगामी कात्तिक ६ गतेका लागि तोकिएको वडा अधिवेशन र ९ गतेका लागि तोकिएको पालिका अधिवशेन हाललाई स्थगित गर्ने निर्णय गरेको छ ।

प्रदेश सचिवालयले सदस्यता नविकरण लगायतका समस्या रहेको भन्दै कात्तिक मसान्त भित्र वडा र पालिकाको अधिवेशन गर्ने निर्णय गरेको छ । यस भन्दा अगाडि केन्द्रीय कमिटिले नै कात्तिक ६ गते वडा अधिवेशन र ९ गते पालिका अधिवेशन गर्न निर्देशन दिएको थियो ।

कात्तिक महिना भित्र गण्डकी प्रदेशका सबै वडामा एकै दिन र पालिकामा पनि एकै दिन अधिवेशन गर्ने गरि प्रदेश कमिटिको आगामी बैठकबाट मिति तय गरिने एमाले गण्डकी प्रदेश कमिटिले जनाएको छ । प्रदेश कमिटीको आगामी वैठकबाट प्रदेशमा मनोनयन तथा विभागहरु गठन गर्ने तयारी रहेकाले कार्तिक ३ गतेसम्ममा जिल्ला कमिटीहरुले राय सुझाव सहित नाम सिफारिस गरी पठाउन निर्देशन गरेको छ ।

बैठकले प्रदेश कमिटीको तर्फवाट कास्की जिल्ला कमिटीको इन्चार्जमा सचिव जगत विश्वकर्मा, पोखरा महानगरपालिका कमिटीको इन्चार्जमा भिम कार्की र प्रदेश कार्यालय सचिवमा गोविन्दवहादुर नेपालीलाई जिम्मेवारी दिएको छ ।

दशै, तिहार, नेपाल सम्वत्, छठ, इद तथा ल्होसार लगायत नेपालीहरुका महत्वपूर्ण चाड पर्वहरुको अवसरमा एमाले गण्डकी प्रदेश कमिटिले शुभकामना व्यक्त गरेको छ ।

रुपन्देहीको मोतिपुर औधोगिक क्षेत्रमा रहेको सुकुम्वासी वस्तीमा प्रहरीले गोली चलाउँदा चार जनाको मृत्यु भएको तथा दर्जनौ घाइते भएको घटनाप्रति गम्भिर ध्यानाकर्षण भएको जनाउदै वैठकले सुकुम्वासी समस्या समाधान गर्नुको सट्टा काम गरिरहेको आयोगलाई खारेज गरेर वर्तमान दक्षिणपन्थी अवसरवादीहरुको गठवन्धनको सरकारले सुरुवाती दिनदेखि नै गैर जिम्मेवार चरित्र प्रदर्शन गर्दै आएको आरोप लगाएको छ । मोतिपुर औधोगिक क्षेत्रमा भएको घटनामा मृत्यु भएकाहरुप्रति श्रद्धाञ्जली अर्पण गर्दै घटनाको निष्पक्ष छानविन गरी दोषीलाई कारवाही गर्न, घाइतेहरुको निःशुल्क उपचारको प्रवन्ध गर्न, मृतकको परिवारलाई क्षतिपूर्ति दिन तथा भूमिहिन सुकुम्वासी जनताको समस्याको स्थायी समाधान गर्न सरकारसँग एमालेले माग गरेको छ ।

नेकपा(एमाले), गण्डकी प्रदेश संगठन कमिटी, सचिवालयको दशौँ बैठक कमिटीका संयोजक तथा पार्टी स्थायी कमिटीका सदस्य किरण गुरुङको अध्यक्षता एवं पार्टी केन्द्रीय कमिटीका सचिव एवं गण्डकी प्रदेशमा १० वुँदे प्रस्ताव कार्यान्वयनका लागि गठित सहजीकरण कार्यदलका संयोजक पृथ्वीसुव्वा गुरुङको प्रमुख आतिथ्यता सम्पन्न भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *