बडा दसैं, देश र दशा

सम्पादकीय
हत्या सारा हिलो मैलो, हरायो पानीको वर्षा
भवानीको भयो पुजा, चल्यो आनन्दको वर्षा
प्राथमिक तहमा बाल्यवस्थामा धेरै पढिएको यस कविताले दसैंको झल्को ल्याउँछ । कविता मात्रै होइन, कति गीतहरु रेडियोमा बज्दा पनि दसैं आएको प्रतित हुन्छ ।
कोदो फुल्यो बारीमा बरिलै, धानको बाला झुल्यो खेतैमा ।
दसैं अनगिन्ती चाडपर्वहरुका बिचमा पृथक विशेषता बोकेको चाड हो । अरु कुनै जाती, समुदाय विशेष पर्व भए पनि बडा दसैं अधिक नेपालीहरुले मनाउने पर्व हो । अघिल्लो वर्षका दसैं कोरोना भाइरस संक्रमणको महामारीका कारण घर भित्रै सिमित बन्यो । अहिले कोरोना भाइरस धेरै हद सम्म नियन्त्रण उन्मुख भएकाले दसैं पर्व पुरानै लयमा मनाउने तयारी तीब्र छ । यसका लागि नेपालीहरु आफ्नो घर गाउँमा फर्किने लहड छ ।

बडा दसैं टीकाको दिन नजिकिदै जाँदा राजधानीबाट बाहिरिनेको संख्या अधिक छ । अहिले सम्म ९ लाख बढीले राजधानी उपत्यका छोडि पुख्र्यौली घर गाउँ फिरेका छन् । यो वर्ष राजधानीबाट बाहिरिने संख्या गत वर्षको भन्दा दोब्बर पुग्ने अनुमान गरिएको छ । दुई वर्ष पहिले दसैंमा २५ लाख बढीले उपत्यका छाड्ने गरेका थिए । मंगलबारदेखि सार्वजनिक विदा समेत भएकाले अन्य सहर छोड्ने क्रम अझ तीब्र बन्नेछ केही दिन । अहिले गाउँ, घर–घरमा बडा दसैंको चहल पहल रौनकता छाएको छ । मानिसहरुको मन–मनमा उल्लास छ । दुई वर्षदेखि सकस लाग्दो अवस्थामा पुगेको सहर बजारको व्यापार व्यवसाय चलायमान देखिन्छ । नयाँ नयाँ लुगाफाटो किन्ने देखि भेडाच्यांग्राका मासु लगायतका अनेक परिकारको जोहो गर्ने अनुक्रम चलिरहेको छ ।

दसैंमा अरु बेला सुनसान प्रायः बनेका गाउँ घरमा चहल पहल बढेको छ । सहर बजार भने सुनसान बन्न थालेका छन् । आम नेपालीले आफ्ना सारा दुःख, पिर, व्यथा भुलेर दसैं मनाउँछन् । अर्थात् दसंैले थोरै भए पनि दुःख पिर बिर्साउँछ । देशको अवस्था हेर्ने हो भने पनि हर्ष उल्लासको अवस्था छैन । देश उन्नत लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थामा आए पनि अस्थिर राजनीतिले चौतर्फी निराशा छ । बागमती र प्रदेश १ सरकार ढल्ने हल्ला र चर्चाका बिच दसै सम्मका लागि विश्वासको मत लिने कार्यक्रम स्थगित गरिएका छन् । प्रतिगामी भन्दै पुरानो सरकार बदलेर बनेको नयाँ सरकार पनि एक पछि अर्को विवादास्पद कदम र निर्णयमा मुछिएको छ । नागरिकका दैननिदिन दुःख, पीडा, व्यथासँग सरकार, मन्त्री र नेताहरु बेखबर जस्ता छन् । राजनीतिले एकता होइन, समाजलाई विभाजित गरिरहेको छ । यही अनुक्रममा बडा दसैं मनाउन सुरु भएको छ । असत्य माथि सत्यको बिजयको प्रतिकको रुपमा मनाइने बडादसैले राजनीतिक दलदेखि सबै नागरिकलाई समाज र देशको एकता, सद्भाव, शान्ति र समृद्धिको पक्षमा एकतावद्ध हुन प्रेरित गरोस् । सबैको मनमा खुसी, उत्साह र उमंगको तरंग आइरहोस् । बडादसैंको हार्दिक मंगलमय शुभकामना ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *