ढोरपाटनमा १५ दिनमा १२ सिकार अनुमति

आदर्श अनलाइन, बागलुङ

नेपालकै एक मात्र ढोरपाटन सिकार आरक्षमा यस वर्षको पहिलो याममा ७ नाउर र ५ झारल सिकार गरिने भएको छ । विश्वकै साहसिक शिकारी पर्यटकको आकर्षणको रुपमा रहेको ढोरपाटनमा सिकारयाम शुरु भएसंगै पर्यटकको समेत चहल पहल बढेको छ ।

सिकार अनुमति पाएसंगै जंगली दुर्लभ जनावर नाउर र झारल सिकार गर्न विदेशका व्यावसायिक सिकारी ढोरपाटन आउने तयारीमा छन् । सिकार लागि आवश्यक बन्दोबस्ती र मार्ग निर्देशनको लागि ढोरपाटन शिकार आरक्ष कार्यालयले आफ्ना कर्मचारी र शिकारीका भरिया सम्बन्धित ब्लकमा खटाउने गर्दछ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले यस बर्षको पहिलो सिकार यामका लागि सात नाउर र पाँच वटा झारलको सिकार अनुमति दिएको आरक्ष कार्यालय बागलुङका प्रमखु संरक्षण अधिकृत विरेन्द्र प्रसाद कँडेलले बताउनुभयो ।

ढोरपाटनमा दुई याममा शिकार हुने गरेको छ । आरक्ष कार्यालय प्रमुख कँडेलका अनुसार पहिलो याममा नेपाल ट्राभल एक्पिडिसन, हिमालयन सफारिज, हिमालयन वाइल्ड लाइफ फिटर र ट्रयाक एण्ड टे«ल्स कम्पनीमार्फत फ्रेन्च, युक्रेन, मेक्सिकन र रुसी नाउर र झारल शिकारका लागि नेपाल आउने छन् ।

“कोरोना कहरमा कमी आएसंगै अन्तर्राष्ट्रिय उडान खुल्ला भएसंगै विदेशी सिकारी नेपाल आउने तयारीमा रहेका छन्” कँडेलले भन्नुभयो “सिकार आरक्षमा सिकार खेल्नका लागि विदेशी व्यावसायिक सिकारीले अनुमति पाइसकेका छन्, अबको एक हप्ताभित्रै सिकारी ढोरपाटन आउने तयारीमा छन् ।”

पहिलो याममा सेड, फागुने, घुस्तुङ, दोगाडी र सुनदह ब्लकमा शिकार हुनेछ । ढोरपाटन क्षेत्रमा बर्षेनी (असोज–मंसिर) पहिलो याम र (फागुन–बैशाख) मा दोस्रो याम गरी दुई चरणमा सिकार हुँदै आएको छ ।

पेशेवर विदेशी सिकार कम्पनीका प्रतिनिधि सहितको टोली हेलिकप्टर चार्टर गरेर ढोरपाटन आउने गर्दछन् । नेपालमा पाइने नाउर र झारलको सिकार पछि उनीहरुले नाउर र झारलको टाउँको विदेश लैजानेछन् । विश्वका सिकारीहरुको प्रतिस्पर्धामा नेपालमा भएको सिकार प्रतिस्पर्धामा अब्बल मानिएकाले विदेशी धनाढ्य सिकारीहरुको आर्कषणमा ढोरपाटन परेको छ ।

गत वर्षको दुई सिजनमा १८ नाउर र नौ झारलको शिकार भएको थियो । आरक्षको फागुने, बार्से, सेङ, दोगाडी, घुस्तुङ, सुर्तिबाङ र सुनदह गरी ७ ‘ब्लक’ मा शिकार खेल्ने गरिएको थियो ।

सिकारी सहितको टोलीले १५ दिन जंगलमै समय विताउँछन् । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले हरेक सिकार याममा विद्युतिय बोलपत्र आह्वान गरेर सिकारको कोटा र राजश्व दर निर्धारण गर्छ । नाउर झारलको मुल्य, ब्लक रिजर्भ, लाइसेन्स, हेलिकप्टर सबै बन्दोबस्तीको सामग्री तयार गर्दा एक जना सिकारीले करीब २५ लाख सम्म खर्च गर्नेछन् ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *