कोरियाबाट फर्किएर ड्रागन खेती

साधना पन्त, बागलुङ
पछिल्लो समय धेरै युवामा विदेशी मोह बढेर गएको छ । त्यस कारण दैनिक सयौँ युवा विदेश पलायन भई रहेका छन् । खाडी मुलुक होस् या अन्य मुलक उनीहरु लाखौँ खर्च गरेर पलायन हुन क्रम तीव्र छ । कतिपयले विदेशमा गएर राम्रो कमाई गरेका छन् त केही विदेश गएको ऋण समेत तिर्न नमाउँदै स्वदेश फर्किन बाध्य छन् । केही भने विदेशमा राम्रो कमाई हुँदा हुँदै पनि स्वदेशमै व्यवसाय गर्ने मनाशाय बनाएर फर्किएका छन् ।

विदेशबाट फर्किएर केहीले राम्रो व्यवसायको सुरुवात समेत गरेका पाइन्छ । बागलुङको काठेखोला गाउँपालिका वडा नम्बर १ पाला करिनाका प्रतिमान थापा पनि वैदेशिक रोजगारका लागि केही वर्ष अगाडी कोरिया पुग्नु भयो । उहाँले कोरियामा ४ वर्ष बिताउनुभयो । चार वर्षपछि उहाँ गाउँ फर्किनुभयो र अहिले व्यवसायिक रुपमा ड्रागन खेतीमा लाग्नुभयो ।

थापाले आफ्नै गाउँठाउँमै श्रम गरेर व्यवसायी बन्ने उद्देश्यले अहिले १५ रोपनी जग्गामा ड्रागन खेती सुरु गर्नु भएको छ । उहाँले २० लाख लगानीमा कोदो र मकै उत्पादन हुने जग्गामा ड्रागनको विरुवा रोप्नु भएको छ । ड्रागनको विरुवाहरु हलहली बढ्दै गएपछि थापा उत्साहित हुनु भएको छ । विरुवाहरु रहर लाग्दो रुप हुर्किएपछि उहाँलाई काम गर्न थप उर्जा समेत मिलेको छ ।

विदेशमा गर्ने दुःख गाउँमै गरे पनि राम्रो कमाई गर्न सकिने भन्दै गाउँ आएर थापाले ड्रागन खेति सुरु गरेको बताउनुहुन्छ । सुरुमा चितवनबाट १५ सय ड्रागन विरुवा ल्याएर खेति सुरु गरेको उहाँको भनाई छ । यहाँ पनि व्यवसायीक रुपमा कृषि गर्न सके विदेश जान नपर्ने बताउनुहुन्छ । ‘सुरुमा लहलैमा लगेर विदेश गएँ, वास्तबमा विदेशमा गर्ने दुःख यहीँ गर्ने हो भने हामीले राम्रो कमाई गर्न सकिन्छ,’ थापाले भन्नुभयो ‘गाउँमा आफ्नो जग्गा बाँझै राखेर विदेशी भूमिमा पसिना बगानु गलत रैछ, अहिले बल्ल चेत आयो, अब यहीँ व्यवसायी बन्ने लक्ष्य छ ।’

थापाले विदेश जानुभन्दा अगाडी तीन वर्ष शिक्षण पेसा गर्नु भएको थियो भने ७ वर्ष लघुवित्तमा समेत काम गर्नु भएको थियो । ‘आफ्नै देशमा केही गर्छु भन्ने सोच भएर नेपाल फर्किएँ तर यही गर्छु भन्ने मनमा थिएन्, नेपालमा केही नौलो गर्न मन लाग्यो, युटुबहरुमा हेरे अहिलेसम्म नेपालमा सोचे जती ड्रागनको व्यवसायिक खेती भएको छैन र यस फलको बजारमा माग बढी रहेको थाहा पाएर आफ्नै गाउँमा ड्रागन खेती गर्न सुरु गरेको हुँ’ थापा भन्नुहुन्छ ।

थापाले कोरियामा चार वर्ष कमाएको पैसा यो खेतिमा लगानी गरेको बताउनुहुन्छ । थापालाई उहाँकी श्रीमती गोरी थापको पनि राम्रो साथ मिलेको छ । थापाले बारीमा लगाएका ड्रागन अहिले ५ महिनाका भए । अबको १५ महिनापछि यी विरुवाले फल दिन सुरु गर्ने उहाँ बताउनुहुन्छ । थापा भन्नुहुन्छ ‘विरुवा लगाउने समयमा माटोको सिएलओ मात्र गरी विरुवा लगाएँ, ड्रागन १५ सय उचाईभन्दा कम उचाईमा फल्ने रहेछ, करिना १२ सय उचाईमा छ, यसले गर्दा यहाँ राम्रो उत्पादन हुने अपेक्षा लिएको छु ।’

थापालाई यसको उत्पादन भएपछि बजारको अभाव नहुनेमा ढुक्क हुनुहुन्छ । अहिले यसको बजार मूल्य प्रति गोटा २ सयदेखि ३ सय पर्ने थापाको भनाई छ । ड्रागन नेपालमा धेरै उत्पादन नभएको हुँदा यसको बजार माग अत्याधिक रहेको उहाँको भनाई छ ।

‘अहिले ड्रागन फ्रुटको विरुवा राम्रो भएको देख्दा मनमा आनन्द आउन्छ, विरुवा राम्रा भएका छन् अब फेरी केही विरुवा थप्ने सोचमा छ, फल पनि राम्रै देला भन्ने लागेको छ, फल दिन सुरु गरेमा यसले बजार नपाउला भन्ने पीर छैन,’ थापाले भन्नुभयो ‘यसको उत्पादन नेपालमा एकदमै कम छ, तर माग भने अत्याधिक छ, त्यसले गर्दा बजार नपाउला भन्ने त कुरै भएन ।’

यो फल खेतीका लागि अन्य बालीलाई जस्तो धेरै मेहेनेत गर्न नपर्ने र सुरुमा सिमेन्टको पोल बनाएर विरुवा लगाई दिए राम्रो संग सर्ने भन्दै यसका लागि थाँक्राहरु (लहरालाई झ्याँगिन दिन आडस्वरुप भुईँमा गाडिने काठ) आवश्यकता नपर्ने थापा बताउनु हुन्छ । थापाले आगामी दिनमा ड्रागनसँगै अकबरे खुर्सानी खेती गर्ने सोँचमा हुनुहुन्छ । गाउँमा उत्पादन हुने फलफूलाई प्राथमिकता दिएर आफूले व्यवसायीक रुपमा खेती गर्ने भन्दै ड्रागनलाई बढी जोड दिने थापाको भनाई छ ।

थापाले विदेश पलायन हुनभन्दा गाउँका बाँझो, पाखो बारीलाई उपयोग गरि व्यवसायीक रुपमा कृषि गर्न अन्य युवाहरुलाई आग्रह गनुहुन्छ । ‘एक पटक विदेशमा जाने धेरै कमाउने रहर सबैलाई हुँदो रैछ, तर विदेशमा गर्ने दुःख हामी हाम्रै गाउँमै गर्न सक्यौँ भने त्यहाँ भन्दा बढी कमाई यहीँ गर्न सक्छौँ,’ उहाँले भन्नुभयो ‘भरसक गाउँका बारीहरुलाई बाँझो नराखौँ, कुनै न कुनै फलफूल तथा बाली लगाउँ, केही मेहनत गरौँ एक दिन हामीले सोचको सफलता प्राप्त गर्ने छौँ, त्यसको लागि हामीमा धैर्यता हुनु पर्छ, हतार नगरौँ, लगानी गरेको केही समयमै प्रतिफल खोज्न थाल्यौँ भने हाम्रो लक्ष्य पुरा हुन सक्दैन, मेहनत गरौँ र धैर्यतालाई आत्साथ गर्न जरुरी हुन्छ ।’

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *