सज्जन कुमार सिंह
हिन्दु धर्मालम्बीहरुको विशेष पर्व बडादसैं अर्थात् विजया दशमी बुधवारदेखि विधिवत रुपमा सम्पन्न भएको छ । लगातार १५ दिन सम्म विविध पूजाआजा,मान्यजनहरुले टीका लगाएर आशिष दान, दक्षिणा दिने यस चाडलाई हिन्दुधर्मालम्बीहरुले असत्य माथि सत्यको बिजयको प्रतिकका रुपमा हर्षोल्लास पूर्वक मनाउने गर्दछन् ।
हिन्दु धर्म मान्ने, आर्य समुदायकै उत्पीडित समुदायलाई भने विगत देखि नै अपमान र विभदे गरिदै आएको छ । यति सम्म कि आफैले बनाएका मुर्ति पुज्न र आफैले निर्माण गरेका मन्दिर प्रवेश गर्न उनीहरुलाइै सयौं वर्षदेखि बन्देज लगाइएको छ । आजको २१ औं शताव्दी सम्म पनि मठ मन्दिरमा पूजा गर्न पाउनुपर्छ भन्ने आवाज उठाउँदा कथित उपल्ला जातका व्यक्तिहरुबाट विभेद र अपमान मात्र होइन, निर्घाट कुटपिटबाट अकालमै ज्यान नै गुमाउनुपर्ने निकै दर्दनाक, लज्जास्पद र खेदजन्य घटनाहरु वर्षेनी भइरहेका छन् ।
नवरात्रीको दिनमै भरतपुर महानरपालिका ४ दुर्गाचोकमा ७८ वर्र्षीय भीम बहादुर विश्वकर्माले मन्दिरमा पूजा गर्न पाउनुपर्छ भन्ने आवाज उठाउदा मन्दिर परिसरमै ज्यान गुमाउनु प¥यो ।
भीम बहादुरलाई स्थानीय दिलिप श्रेष्ठ र सिताराम बस्नेतले पाइपले हानेर हत्या गरेको गम्भीर अभियोग छ । दलितहरुलाई पूजा गर्न प्रतिबन्ध लाइएको उक्त मन्दिरमा पूजा गर्न पाउने माग राख्दा नवमीकै दिनमा भीम बहादुर बलि चढ्नुपर्ने ? यो कस्तो बिडम्वना ?
हिन्दु समाजमै जन्मिएर हिन्दु धर्म नै मानेर आफैले गजुर राख्ने, मूर्ति बनाउने र हतियार बनाउने काम गर्ने तर मन्दिरमा पूजा गर्न पाउनुपर्छ भन्दा विभत्स मृत्युवरण गर्नुपर्ने अवस्थाले कथित हिन्दु भित्र कति संकुचित र कुरुप सोच हावी छ र यसका धर्माभिरु ठान्नेहरुमा कति राक्षसीपन छ भन्ने प्रष्ट बुझ्न सकिन्छ । भरतपुरको यो घटनाले हिन्दु धर्म भित्र रहेका कथित उच्च जात भन्नेहरुको कुहेको सोचको वास्तविक अवस्था धरातलमा ल्याएको छ ।
आधुनिक युग र आधुनिक विचारधाराबाट अभिप्रेरित हाम्रो समाज आज पनि भीम बहादुर विकहरु दुर्गा मन्दिरमा पस्न पाउने इच्छा राख्दा बलिको बोका बन्दा कथित उपल्ला जात र सचेत भन्नेहरुको कुनै सहानुभूती र विरोधका आवाज सम्म सुनिदैन । बरु उनलाई रक्सी खाएको, सामाजिक सद्भाव भत्काएको भन्दै विषयान्तर गर्ने दुश्प्रयास भइरहेको छ । यही अवस्था र यस्तै गलत हर्कतका कारण आज हिन्दु धर्म र यो धर्म मान्नेहरुको शिर विश्व समुदायमा निहुरिएको छ ।
दशै पर्वलाइ असत्य माथि सत्यको विजय भनेर मनाइन्छ । तर, नेपाली समाजमा सत्यको विजयको उत्सवका नाममा वास्तविक श्रमजीवि र समानताका मुख्य खम्बाहरुलाई खुलेआम ढलाइन्छ,अपमान गरिन्छ ।
दसैं धार्मिक सँगै सांस्कृतिक पर्वका रुपमा पनि विकास भएको छ । यसको सामाजिक सांस्कृतिक महत्व छ तर हिन्दु धर्म मान्ने, हिन्दु धर्ममै आस्था राख्नेहरुलाई सधै विभेद र तिरस्कार गर्नुले यसको आकर्षण क्रमिक रुपमा घटेको छ । यस्तै, गलत हर्कत र मान्यताका कारण लाखौको संख्यामा धर्म परिवर्तन गर्नेहरु नेपालमा बढ्दैछन् । वर्ण श्रम र कथित हिन्दु धर्मका वेद,पुराणहरुलाई आधार मानेर तयार बनेका मनोगढन्ते र अवैज्ञानिक कुरालाई व्यवहारमा लागु गर्दै समाजलाई विभेद र उचनिचको श्रृंखलामा अघि बढाउनु नेपाली समाजको पछौटेपनको कारण हो ।
मन्दिर प्रवेशको घटना सम्झिदाँ मलाइ त्यो दिनको याद आज पनि आइरहेको छ । भर्खरै एसएलसी परीक्षा दिएर बसेको थिए । सिगानाको कोटमा हामी सानै देखि खुब जान्थ्यौ । दसैंको अघिल्लो दिनमा सयौंको सँख्यामा राँगा, बोका र परेवालाई बलि दिएर कोतमा धुमधाम दसंै मनाइन्थ्यो । त्यो क्रम अहिले पनि जारी छ ।
वर्षेनी सबै समुदायमा कोतको भेटी चढाए पनि कथित तल्लो जात बनाइएकाहरुलाई पूजा गर्न र उनीहरुको धुप ध्वायर चलाइदैनथ्यो । यस्तो विभेदको अवस्था देखेर हुर्किएको भएकाले पनि मलाइ त्यो व्यवहार पटक्कै मन परेको थिएन ।
त्यो वर्ष कुनै पनि दलित समुदायबाट भेटी नदिन भन्दै हामीले आग्रह ग¥यौ । यदि पूजा गर्ने नै हो भने सबै समुदायले मन्दिर भित्रै पूजा गर्न पाउनुपर्छ भन्नै माग पनि राखियो । त्यो घटना जिल्लाभर र बाहिरी जिल्लाहरुमा पनि चर्चित बन्यो । तर, सामाजिक सद्भावका लागि सहमति भन्दै सबैलाई बाहिरबाट पूजा गर्ने व्यवस्था गरियो ।
सदियौंदेखि मानिदै आएको बाहनामा, हिन्दुधर्मालम्बीहरु माथि नै गरिएको यो चरम विभेदलाई आज पनि समाजमा सशक्त रुपमा अघि बढाइदैछ । पशुपतिनाथ मन्दिरमा २०११ साल अघि अछुतलाई निषेध भन्ने बोर्ड नै टाँगिएको थियो । सहर्षनाथ कपाली लगायतका दलित अगुवाहरुको नेतृत्वमा भएको आन्दोलनमा सरकारी पक्षबाट ठूलो दमन भयो, धैरै अभियन्तालाई पक्राउ गरियो । धेरैलाई शारीरिक रुपमा आक्रमण गरियो । त्यो आन्दोलन पछि मात्र अछुतलाई निषेधको बोर्ड हटाइयो ।
ठूला धार्मिक पिठहरुमा जर्बजस्त दलित समुदायका व्यक्तिलाई सिनो उठाउन्ुपर्ने र फोहोर सफा गर्नै पर्ने बाध्यकारी नीति बनाइएको थियो । त्यो क्रम आज पनि नेपाली समाजमा जीवित छ ।
धार्मिक रुपमा सबै समान भएकाले एउटै धर्म मान्नेहरुमा उच निच हुनु हुँदैन । सबैको जात एउटै हो भन्दै अन्य जातीले जस्तै हामीले पनि जनै धारण गर्न पाउनुपर्छ भन्ने माग राखेका गैरागाउका भगत सर्वजितको धार्मिक स्वतन्त्रताको आन्दोलन इतिहासमा दर्ज समेत भएको छ ।
आफूलाई अपमान गर्ने, हिनताबोध हुने यस्तो रितिरिवाज र धर्म आवश्यक छैन भनेर धर्म त्याग गर्ने उत्पीडित समुदायका व्यक्तिहरुको संख्या बढिरहेको छ । यस्तै विभेद र अपमानका कारण सांस्कृतिक र धार्मिक सौन्दर्यताको महत्व क्षिण बन्दै छ । जसको कारण धर्म परिवर्तन गर्नेको सँख्या पनि बढ्दैछ ।
कानुनले आज भन्दा धेरै वर्ष बर्जित गरेको, संविधानले खुला गरिदिएको,आफैले मानि आएको र विश्वास गर्ने त्यो ढुंगाको मन्दिर र धातुको देवतालाइ छुन अझै कतिञ्जेल भीम बहादुर विश्वकर्माहरुले बलि चढ्नुपर्ने हो ? कहिले सम्म सचेत वर्गहरु आँखामा पट्टी बाँधेर निदाइरहन्छन् ? यो अहिलेको मुख्य प्रश्न हाम्रा अघि उभिएको छ ।
सचेत वर्ग यस्ता गलत मान्यताका विरुद्धमा किन बोल्दैनन् ? किन उनीहरुलाई अनाहकमा ज्यान गुमाएका भीम बहादुरको मृत्युले पोल्दैन होला ? म आजित पर्छु ।
एउटै धर्म मानेर पनि मन्दिरमा पूजा गर्न पाउने इच्छा राख्दा ज्यान गुमाउने भीमबहाद्ुर विश्वकर्माहरुबारे हिन्दु धर्मका ठेक्का लिएका ठेकेदारहरु कहिले मुख उक्काउछन् ? भीम बहादुर दाइको बलिले कुन चाही दुर्गा प्रसन्न भएर कस कसलाई वरदान प्राप्त भयो ?
समाजका सचेत, शिक्षित र सभ्य भनेर चिनिने सबैको नाक काटिने यो घटनाले समाज र सिंगो देशलाई लोकलज्जाको विषय बनाएको छ । अतः यस प्रति गम्भिर बनौ र धर्मका नाममा भएका ज्यादती, संस्कारका नाममा हुर्काइदै ल्याइएका कुसंस्कार, परम्परागत मान्यता र धारणा परिवर्तन गर्न कहिले लाग्ने ? यसरी अपमान सहेर, सधै अपमानित भएर अझै हिन्दु धर्मकै पक्षपोषणका लागि ६० लाख भन्दा बढी उत्पीडित समुदाय लाग्नु जरुरी छ कि छैन ? यो प्रश्नको उत्तर कथित उच्च जात र धर्मका ठेकेदारले दिने कि नदिने ? आम दलित समुदाय र समानताको अभियान र आन्दोलनका पक्षपातीहरुले खोज्ने कि नखोज्ने ?