हराउँदै ऐतिहासिक पाटी पौवा र धर्मशाला

डम्मर बुढा मगर, बागलुङ
कला, संस्कृति र परम्पराले भरिपूर्ण मानिने बागलुङमा पछिल्लो समय ऐतिहासिक महत्व बोकेका पाटीपौवा तथा धर्मशालाको अस्तित्व लोप हुँदै गएको छ । सडक सुविधाको पहुँच, आधुनिक जीवनशैली, बसाई सराई लगायतका कारण ऐतिहासिक महत्वका पृथक संरचना भत्किने र हराउँदै जान थालेका छन् ।

जिल्लाको पश्चिम क्षेत्रमा सडक सञ्जाल र होटल रेष्टुरेण्टको सुविधा नभएको समयमा बटुवा, तीर्थयात्री लगायतका मानिसहरुका लागि विभिन्न ठाउँमा निर्माण गरिएका धर्मशाला र पाटीपौवा संरक्षण अभावमा संकटमा परेका हुन् । अधिकांश गाउँठाउँमा रहेका धर्मशाला, पाटीपौवा, चौतारी निर्माण गर्ने र बटुवाका लागि पिउने पानी राखिदिने परम्परा अहिले हराएको छ ।

एक दशक अघिसम्म पनि ग्रामीण क्षेत्रमा धर्मशाला, पाटीपौवाको प्रयोग प्रचलनमा थियो । तर, अहिले धेरैजसो ठाउँमा निर्माण गरिएका पाटी पौवा र धर्मशाला जीर्ण बनेका छन् । त्यस्ता ऐतिहासिक महत्व बोकेका संरचनाको संरक्षणमा स्थानीय सरकार र सरोकारवालाको समेत ध्यान नपुगेको स्थानीयको गुनासो छ ।

बास बस्नका लागि पाटीपौवा, धर्मशाला, थकाई मार्न र भारी बिसाउन चौतारी निर्माण गरिन्थ्यो भने प्यास मेटाउनका लागि धर्मशालामा माटोको घैटो निर्माण गरेर चिसो पिउने पानी राखिदिने चलन थियो । तर, अहिले यो चलन हराएको प्रति बुढापाका चिन्तित छन् । बाटोको छेउछाउमा पाटी पौवा र धर्मशाला निर्माण गरेर बाटो हिँड्न् बटुवाका लागि पिउने पानी राखिदिँदा पुण्य आर्जन हुने निसीखोला गाउँपालिका वडा नम्बर ५ का हर्कबहादुर घर्ती मगरले बताउनुभयो ।

बटुवाहरु दिनभर हिँड्दा थकान हुने र बास बस्नका लागि बस्तीहरु नभेट्याउने हुँदा रात बिताउन र तिर्खा मेटाउनका लागि धर्मशाला निर्माण गर्ने गरेको उहाँले बताउनुभयो । पहिले–पहिले अहिलेको जस्तो होटलको व्यवस्था र सडकको सहज पहुँच नभएको हुँदा बटुवालाई बास बस्नका लागि धर्मशाला बरदान सावित हुन्थ्यो ।

‘पहिले त अहिलेको जस्तो होटलहरु थिएनन्, यस्ता सडक सुविधा थिएनन्, गाडी चल्दैनथे, अहिले जताततै गाडी गुड्छन्, एक ठाउँबाट अर्को ठाउँमा पुग्न दिनभर हिँड्नु पथ्र्यो, हिँड्दा हिँड्दै साँझमा कुनै बस्ती नभएको ठाउँमा पुगियो भने धर्मशालामा बस्ने गरिन्थ्यो,’ घर्तीले भन्नुभयो ‘रातभर त्यही धर्मशालामा बसेर अर्को दिन आफ्नो गन्तव्यमा पुगिन्थ्यो, अहिले त सरर्र गाडी चढ्यो, १÷२ दिन लाग्ने ठाउँमा पनि एकैछिनमा पुग्न सकिन्छ ।’

ग्रामीण क्षेत्रमा सडक विस्तारले व्यापकता पाएसँगै बागलुङमा यस्तो मौलिक सम्पदा र परम्परा अत्यन्तै कम देख्न पाइन्छ । ग्रामीण क्षेत्रमा इतिहासको साक्षी बनेर रहेका ऐतिहासिक पाटी–पौवा, धर्मशालाहरु भत्किएका छन् भने केहीका अवशेष समेत बाँकी छैनन् । ग्रामीण क्षेत्रका सौन्दर्यसँग जोडिएका यस्ता सम्पदाको संरक्षणमा स्थानीय पालिकाले चासो देखाउन जरुरी भएको स्थानीय बताउँछन् ।

यात्रुको सुविधाका लागि बनाइएका पाटीपौवा र धर्मशाला पछिल्लो समय सडकका कारण कम उपयोग हुँदै आएको निसीखोला गाउँपालिका वडा नम्बर ४ का पूर्णबहादुर नेपालीले बताउनुभयो । जिल्लाको विभिन्न ठाउँमा रहेका दर्जनांै पाटीपौवा र धर्मशालाको अस्तित्व संरक्षण र उपभोग अभावमा संकटमा परेका छन् । निसीखोलाको कालापैराको फेदमा रहेको धर्मशालालाई स्थानीयले संरक्षण गर्दै आएका छन् ।

निसीखोला गाउँपालिका वडा नम्बर ५ का वडा अध्यक्ष हर्कमान घर्ती मगरले पुराना ऐतिहासिक सम्पादाको संरक्षणमा पहल गरिरहेको बताउनुहुन्छ । उहाँले परम्परागत सम्पदा राज्यको महत्वपूर्ण सम्पति भएकाले यसको संरक्षणका लागि बजेट विनियोजन गरिरहेको बताउनुभयो । उहाँले आफ्नो वडामा पनि मौलिक सम्पदाहरु लोप हुँदै गएकोले तिनीहरुको संरक्षणमा वडा कार्यालय र युवाहरुलाई जागरुक समेत बनाएको बताउनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *