डा. सरोजकुमार राय
धौलागिरी आयुर्वेद औषधालय
बाथरोगहरु धेरै किसिमका छन् । जसमध्ये सबैभन्दा खतरनाक र रोगीलाई धेरै दुःख दिने बाथरोग हो । आमवात वा रूमेटाइड अर्थराइटिस, यसलाई कतिपय ठाउँमा गठियावातले पनि चिनिन्छ । यो रोग एक दीर्घकालीन प्रणालीगत अवस्था हो । जसले जोर्नीहरुमा तीव्र दुखाई, सुजन और जकडाहट पैदा गर्दछ । लक्षण सामान्यतया हात, खुट्टा र नाड़ीलाई प्रभावित गर्दछ तर पछि गएर पिठ्यु, कम्मर, साप्रा, जंघा, ढाँड र शरीरको सबै जोर्नीहरुमा जकडाहट उत्पन्न गर्न सक्छ । यो रोगमा सैनोभियल झिल्लीद्वारा घेरिएको कुनै पनि जोर्नी प्रभावित हुन सक्छ तर छाला, मुटु, फोक्सो र आँखाको संलग्नता महत्वपूर्ण मानिन्छ ।
विश्वमा वार्षिक करिब १० हजार जनामध्ये ३ जनामा यो रोग देखिन्छ, र १% व्यक्तिमा ३५ देखी ५० वर्षको उमेरमा देखिन सक्ने प्रबल सम्भावना हुन्छ । पुरुषभन्दा ३ गुणा बढी महिलामा यो रोग लाग्न सक्ने सम्भावना हुन्छ ।्र
रोगका कारणः
अहिले सम्म मुख्य कारण अज्ञात मानिएको छ तर आनुवंशिक, पर्यावरणीय, हर्मोनल र संक्रामक कारकहरु महत्वपूर्ण भूमिका खेल्न सक्छ । सामाजिक, आर्थिक, मनोवैज्ञानिक र जीवनशैली कारकहरु रोगको विकास र परिणामलाई प्रभावित गर्न सक्छ ।
आनुवंशिक र पर्यावरणीय– यो रोगको वंशानुगत कारण ५०% हुन सक्ने केही अनुसन्धानले देखाएको छ । वातावरण अनुसार जिनमा परिवर्तन हुन सक्ने र आनुवंशिक कारकमा पर्यावरणीय प्रभाव पनि हो कि केही अनुसन्धानले देखाएको छ,
हर्मोनल– पुरुष भन्दा महिला ३ गुना बढी प्रभवित देखिन्छ,
संक्रामक कारकहरु– माइकोपज्मा, इपस्तिन वार भाइरस, रुवेला भाइरस आदि
जीवनशैली कारकहरु– धुम्रपान, सुर्तीजन्य पदार्थको सेवन मुख्य जीवनशैलीगत कारक हो । यस बाहेक रातो मासु, भिटामिन डी को कमी, धेरै कफी सेवन तथा नुनको सेवन आदि ।
आयुर्वेद विज्ञानले यो रोगको मुख्य कारण “आम“ भनेको छ र त्यसै अनुसार रोगको नाम “आमवात“ रहन गएको हो । पाचक अग्नी मन्द भए पछि हामीले खाएको आहार पूर्ण रुपमा पाचन हँुदैन र अपक्व आहार रसबाट “आम बिष“को उत्पति हुन्छ ।्र यो आमबिष कुपित वायुबाट प्रेरित भएर कफको मुख्य स्थान सन्धि, आमाशय, हृदय, शिर, कण्ठ आदिमा पुगेर पीडादायक आमवात उत्पन्न गर्दछ ।
चिन्ह र लक्षणहरुः
– धेरै बिरामीहरुमा यसको लक्षण अचानक उत्पन्न हुन्छ प्रायः ज्वरो आउने, शरीर दुख्ने, जोर्नीहरू दुख्ने, जोर्नीहरुमा संक्रमण हुनुभन्दा पहिला कमजोरी उत्पन्न हुने र सुजन देखिन्छ ।
– जोर्नीको दुखाई प्रायः बिच्छुले टोकेको जस्तो वा सियोले घोचेको जस्तो हुन्छ ।
– लगातार दुबै तिरको हात र खुट्टाको जोर्नीहरुमा अर्थराइटिस हुनु यो रोगको मुख्य विशेषता हो ।
– प्रगतिशील जोर्र्नीहरुको बन्धनमा गिरावट र रोग बढ्दै जानु,
–एक्स्ट्रा–आर्टिकुलर संलग्नता
– दैनिक कार्यहरु गर्न असमर्थता
बिरामीको शारीरिक परिक्षण गर्दा जोर्नीहरुमा कठोरता वा जकडाहट, टेन्डरनेस, चलाउँदा दुखाई हुने, सुजन वा सुन्निनु, जोर्नीमा विकृति उत्पन्न, जोर्नीको गतिमा सिमितता, रुमाटोइड नोडुल आदि मुल्यांकन गर्नुपर्दछ ।
रोगको निदानः
प्रयोगशाला परीक्षण इएसआर, सिआरपी, कम्प्लिट ब्लड काउन्ट, आर ए फैक्टर, एन्टी सिसिपी आदि, एक्स–रे, एम आर आई, अल्ट्रासोनोग्रफी बाट रोगको अवस्था थाहा हुन्छ,
रोगीको उपचार तथा व्यवस्थापनः
–चिकित्सकको परामर्श अनुसार औषधी, सर्जरी तथा नन–सर्जरी र नन–फर्माकोलोजिक थेरापीहरुद्वारा यो रोगको उपचार तथा व्यवस्थापन गरिन्छ,
– उपचारात्मक, प्रवद्र्धनात्मक र पुनःस्थाप्नात्मक बिधिहरुबाट रोगको अवस्था अनुसार व्यवस्थापन गरिन्छ ।
–लगातार प्रगतिशील रोग भएकोले जति चाडो निदान गरेर उपचार सुरु गर्न सक्यो त्यति उपचार तथा व्यवस्थापनमा सहज हुन्छ ।
–आयुर्वेद चिकित्सामा पञ्च कर्म विधि यसको व्यवस्थापनमा निकै उपयोगी सावित भएको बिभिन्न अनुसन्धानहरुले देखाएको छ ।
– बाख्रा काने(रास्ना), मेथी, अश्वगन्धा, कालोजिरा, सिमली(निर्गुन्डी), चम्सुर, अडेर, गुर्जो, गुगुलु, प्रवाल, स्वर्ण आदि आयुर्वेदिक द्रव्यहरु निकै नै उपयोगी छ,
– योगाभ्यास, व्यायाम, स्वस्थ र वातहर आहार बिहार पनि लाभकारी छ,
पथ्य आहारः
अन्न– जौ, पुरानो चामल, गहु
दाल – मुंग, मुसुरो, अरहर
तरकारी तथा फलफूल– लौका, परवल, काक्रो, सहिजन(सितल चिनी), करेला र मेथी, चम्सुर, जिरा, सौपÞm साग, स्याउ, मेवा, अनार आदि ।
अन्य खाद्य पदार्थ– अदुवा, हिंग, बिरेनुन, सिंधे नुन, ज्वानो, लसुन, सौपÞm, पिपला, धनिया, घ्यू, तर बिनाको दुध, मनतातो पानी,
अपथ्य आहारः
अन्न– मैदाको परिकार, नया धान
दाल– चना, मटर
तरकारी तथा फलफूल– सरसो साग, आलु, भिंडी, कन्दमूल
अन्य खाद्य पदार्थ– चिसो पेय पदार्थ, जंक फुड, तारेको, भुटेको र मसलेदार खाना, बासी खाना, चिसो खाना, अशुद्ध पानी, चिसो पानी, दही, गुड, अधिक नुन, माछा, तरकारी तथा मासुको सुकुटी, रक्सी आदि ।