लोकमार्गको दुर्दशाः बर्खामा हिलो, हिउँदमा धुलो

डम्मर बुढा मगर, बागलुङ
मध्यपहाडी लोकमार्गको बागलुङ–घोडाबाँधे सडकको ट्रयाक खुलेको दुई दशक पूरा भयो । ट्रयाक खुलेको २१ वर्ष पूरा भइसक्दा पनि यो सडक खण्डले वर्षौदेखि दुर्दशा भोगिरहेछ । सदरमुकामदेखि घोडाबाँधे सम्मको २५ किमी मध्ये केही मिटर गत वर्ष भए पनि अझै २३ किमी कालोपत्रे हुन सकेको छैन । यतिका वर्षसम्म सडक कालोपत्रे नहुँदा लोकमार्ग आसपासका स्थानीय धुलो र हिलोका कारण आजित बनेका छन् । वर्षामा हिलो र हिउँदमा धुलोले गर्दा कति बिस्थापित समेत भएका छन् ।

सडक कालोपत्रेका लागि वर्षौँ अगाडीदेखि निर्माण कम्पनीसँग सम्झौता गरे पनि अहिलेसम्म ठोस प्रगति हासिल हुन सकेको छैन । समय–समयमा स्थानीय र सरोकारवालाको दबाबका कारण ठेकेदार कम्पनीले काम गरे जस्तो गरे पनि सडकको अवस्थामा उल्लेख्य सुधार आएको छैन । यो सडक भएर जिल्लाको बागलुङ, ढोरपाटन, गलकोट नगरपालिका, निसीखोला, तमानखोला, बडिगाड, ताराखोला गाउँपालिकाका हजारौँ नागरिक र लोकमार्ग हुँदै रोल्पा रुकुमका नागरिक समेत दैनिक यात्रा गर्ने गर्छन् ।

दैनिक सयौँ गाडीमा यात्रा गर्ने यात्रु समेत धुलो र हिलोले आजित बनेका छन् । यस खण्डको उपल्लाचौरदेखि घोडाबाँधे सम्मको २८ किलोमिटर सडक मध्ये तीन किलोमिटर भने केही समय अगाडी कालोपत्रे भइसकेको छ । अब २५ किलोमिटर सडक कालोपत्रे गर्न बाँकी छ । यस खण्डमा पर्ने सयौँ नागरिकले वर्षौँदेखि कालोपत्रेका लागि आवाज उठाए पनि उनीहरुको गुनासो सुनुवाई हुन सकेको छैन ।

बागलुङ नगरपालिका वडा नम्बर ३ खहरेका लालबहादुर खत्रीले सडक अव्यवस्थित हुँदा लोकमार्ग आसपासका नागरिकहरुले धेरै सास्ती खेप्नु परेको बताउनुहुन्छ । खत्री भन्नुहुन्छ ‘सडकको धुलो खाएको धेरै वर्ष भयो, अहिलेसम्म जस्ताको तस्तै छ, सुधार हुनै सकेन, यो सडक सुधार नहुँदा लोकमार्ग आसपासमा रहेका सयौँ परिवारले वर्षौँदेखि हिलो धुलो खानु परेको छ, कोही त यो सहन नसकेर बसाइँ सराई पनि गरेका छन् ।’

सडक आएपछि सबैलाई सुबिस्ता होला भनेर जग्गा दिए पनि सुविधा भन्दा बढी सास्ती भएको स्थानीयको गुनासो छ । ‘लोकमार्गको काम अलपत्र हुँदा हामीलाई दुःख र सास्ती धेरै भयो, हिउँद लाग्यो भने रंगिन घरहरु पनि सबै धुलोले ढाकेर केही देखिन्न, बर्खामा पनि पहिरो र लेदो बगेर हैरान हुन्छ, यस्तोमा मान्छे कसरी बस्ने ? यो समस्या हाम्ले त वर्षौँ भयो भोग्दै आएका छौँ, हाम्रो समस्या कसैले बुझेन ।’

खत्रीले यही सडक भएर मन्त्री, सांसद र ठूला–ठूला नेताहरु हिँड्ने गरे पनि यसको सुधारमा कसैले गम्भीरतापूर्वक कदम चाल्न नसकेको बताउनुभयो । उहाँले मन्त्री नेता तथा सम्बन्धित निकायमा वर्षौँदेखि सडक स्तरोन्नतिका लागि आग्रह गरे पनि आफूहरुको कुरा कुनै पनि निकायबाट सुनुवाई हुन नसकेको जिल्लाबासीको गुनासो छ । ‘मन्त्री, सांसद यही बाटो भएर हिँड्छन्, सिडियो, ठूला नेता पनि यही बाटो ओहोर दोहोर गर्छन्, हाम्ले कति पटक भन्यौँ, यत्ति बाटो कालोपत्रे गर्नु प¥यो हजुर भनेर, तर कसैले पनि हाम्रो कुरा सुनेनन्, हामी त आजित भैसक्यौँ,’ खत्रीले भन्नुभयो ‘अब हाम्ले कहाँ गुहार माग्ने ?, समस्या सुनाउने निकायले नै हाम्रो समस्या नसुनेपछि, जति समस्या सुनाए पनि त्यस्तै रैछ ।’

अर्का स्थानीय कमला कार्कीले सडकले स्थानीयलाई सुविधा भन्दा बढी समस्या थपि दिएको बताउनुभयो । कार्की सबैलाई सुविधा हुने हिसाबले घर जग्गा मासेर सडक निर्माण गर्न दिएको तर अहिले आफूहरु निकै ठूलो समस्या परेको बताउनुहुन्छ । ‘घर, जग्गा सबै दिएर सडक खन्न दियौँ, सबैलाई सविधा होला भन्यौ, तर अहिले हामीले यो सडकबाट सुविधाको नाममा हिउँदमा धुलो र बर्खामा हिलो मात्रै पाएका छौँ,’ कार्कीले गुनासो गर्नुभयो ‘बाटो पिच नहुँदा नगर बस चल्न सकेको छैन, गलकोट, बुर्तिबाङ र गाउँबाट आउने गाडीहरुले हामीलाई ठाउँनै दिँदैनन्, घर अगाडी गाडी चले पनि ठाउँ पाइँदैन, हिँडेर बजार जानु पर्छ ।’

हिलो र धुलोका कारण पशुचौपायालाई तल माथि झार्न र उकाल्न समेत समस्या हुने गरेको छ । हिउँदमा धुलोका कारण घर बाहिर बसेर काम गर्न नसकिने अवस्था हुन्छ । सरोकारवाला निकायसँग समय–समयमा सडकको स्तरोन्नतिका लागि माग गरे पनि अहिले सम्म काम नै हुन नसकेको कार्कीले बताउनुभयो । हरेक वर्ष सडक बनाउन भन्दै २/४ ठाउँमा खन्ने र झन् हिलो धुलो मात्रै निस्कने गराउने तर काम भने पूरा नगरेको उहाँले गुनासो गर्नुभयो ।

‘वर्ष–वर्षमा सडक बनाउने भन्छ, खन्छ, हामी त होला अब सडक राम्रो हुने भयो भनेर हौसिन्छौँ, तर २/४ दिन काम गर्छ, सडक राम्रो बनाउनुको साटो धुलो र हिलो मात्रै निकालेर जान्छ,’ उहाँले भन्नुभयो ‘हामी आजित भइसक्यौँ, हजुरहरुले सरकार समक्ष भन्दिनु प¥यो हाम्रो त कुरै सुनेन सरकारले, यत्ति सडक कालोपत्रे भए त कति राहत हुन्थ्यो होला ।

बागलुङ क्षेत्र नम्बर १ का संघीय सांसद सूर्य पाठकले अलपत्र सडकको स्तरोन्नतिका लागि आफुहरुले सुरुवाति दिनदेखि नै सम्बन्धित निकायलाई घच्घचाई रहे पनि सडकको हालत उस्तै हुनु दुःखद भएको बताउनुहुन्छ । ‘यो सडक जिल्लाकै लाइफ लाइनका रुपमा छ, केही खण्डको अवस्था अझै निकै खराब अवस्थामा छ, हामीले सम्बन्धित निकायमा पटक–पटक भन्यौ, अहिले पनि भनिरहेका छौँ, यो सडक छिटो कालोपत्रे गर्नु प¥यो भनेर,’ पाठकले भन्नुभयो ‘काम गर्न ढिला भएको छ, यस प्रति हामी गम्भीर छौँ तर ठेकेदारले चरम लाबरवाही गरेको छ ।’

उहाँले एउटा सांसदलाई ठेकेदार कम्पनीलाई कारवाही गर्ने अधिकार नहुने भन्दै सडक विभाग र निर्माण कम्पनीलाई बारम्बार सडकको छिटो कालोपत्रे गर्नका लागि आग्रह गरिरहेको बताउनुभयो । उहाँले चैत मसान्तसम्म सबै काम सक्ने गरी निर्माण कम्पनीले अन्तिम म्याद पाएको बताउनुभयो ।

मध्यपहाडी लोकमार्ग पर्वतका प्रमुख मेघराज मरासिनीले चैत मसान्त सम्मका लागि ठेकेदार कम्पनीलाई अन्तिम म्याद दिएको र त्यस अवधि सम्म काम नसके ठेकेदार कम्पनीलाई कानुन अनुसार कारवाही गरिने बताउनुभयो । यसभन्दा अगाडी नै कालोपत्रे गरि सक्ने भनिए पनि कोरोना तथा वर्षाको कारण नसकेको भन्दै चैत मसान्त भन्दा पछाडी सरे सम्झौता तोडिने बताउनुभयो ।

‘काम गर्न ढिलाई भएको छ, अब यस क्षेत्रको सडक स्तरोन्नति गर्नका लागि सरकारले नै चैत मसान्तसम्मको समय सिमा दिएको छ, यो समयमा पनि निर्माण कम्पनीले काम गर्न सकेन भने कानुन अनुसार कारवाही हुन्छ, कारवाही गर्नु पूर्व ठेक्काको १० प्रतिशत हर्जना काट्ने र बैशाखाको १ गतेदेखि कालो सूचिमा पर्ने छ’ प्रमुख मरासिनीले भन्नुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *