बागलुङः संस्कृतिको सम्भावना र अवसर

कृषिता अधिकारी (निशा)
नेपाल बहुल जाति, बहुभाषी र बहुसंस्कृति भएको विविधतायुक्त मुलुक हो । यो आकारले सानो भएता पनि धार्मिक,सामाजिक,सांस्कृतिक,जातियता,भूगोलको कारण यहाँ विभिन्न कला, संस्कृति,भेषभूषा आ आफ्नै किसिमको हुन्छ । बागलुङ जिल्ला पनि कला, संस्कृति भेषभूषा, रितिरिवाजले भरिपूर्ण एक जिल्ला हो । विभिन्न जातजाति गुरुङ, मगर, नेवार, थकाली लगायतको बाहुल्यता छ । यस्तै विभिन्न जातजातिहरुले समय समयमा आफ्नो भेषभूषा रितिरिवाज तथा धर्म संस्कृति प्रदर्शन गर्ने जस्तो कि नेवारको हनुमान नाँच,घाटु नाँच मालसरी नाँच, घोडे जात्रा, सिस्नु खोस्ने, भूस पोल्ने, सिङ फोर्ने, माछा छोप्ने आदि लगायतका लोकसंस्कृति बागलुङका विशेषता र महत्वपूर्ण पहिचान हुन् । त्यस्तै यहाँका लोकनृत्य, पञ्चेबाजा,मादल,डम्फु,खैजडी, पिपरा आदिमा बागलुङ नेपाल भरिकै समृद्ध जिल्लाको रुपमा चिनिन्छ भने चैत्राष्टमी मेला, हनुमान नाँच, लाखे नाँच, जोगी नाँच ,रोपाइ नाँच, न्वागी मेला आदि पर्व तथा साँस्कृतिक धरोहरका रुपमा रहेका छन् ।

यहाँ धार्मिक महत्वका हिसाबले विभिन्न जातजातिहरुमा पनि हिन्दु,बौद्व, इसाइ लगायतका धर्महरु प्रचलनमा रहेका छन् भने बागलुङ कालिका मन्दिर, बलेवा भैरवस्थान मन्दिर, सर्वसिद्धिधाम पञ्चकोट,घुम्टेको सिद्वेश्वर मन्दिर, ढोरपाटनको बराह मन्दिर लगायत जिल्लाका विभिन्न स्थानमा रहेका मठ मन्दिरहरु धार्मिक पर्यटनको केन्द्रविन्दुको रुपमा स्थापित छन् । जसमा बागलुङ कालिका भगवती मन्दिर बागलुङ जिल्लाको सदरमुकाममा अवस्थित छ । बागलुङ बजारको नजिकै घना जंगलको बिचमा स्थापित मन्दिरमा महाकाली, महालक्ष्मी, महासरस्वतिका मूर्तिहरु रहेका छन् । पुरानो किम्बदन्ती अनुसार पर्वत मल्लाज राज्यका राजकुमार नारायण मल्लले सोही मूर्ति प्रतिस्थापन गरेका थिए रे । उक्त मूर्तिहरु वि.सं.१५९१ सालमा पाल्पाका राजा मणिमुकुन्द सेनकी छोरी पर्वत मल्ल राज्यका राजकुमार नारायण मल्लसँग विवाह गरि दिँदा आफ्नी छोरी विश्रवा सेनको इच्छा मुताविक पूजा गर्न दाइजोका रुपमा दिएका थिए रे । तिनै ठाउँमा पौराणिक ग्रन्थ अनुसार पार्वतिले तपस्या गरेकी हुँदा शिवजीको मूर्ति समेत स्थापना गरेको पाइन्छ । अर्कोतिर सोही ठाउँमा पार्वतीले तपस्या गरि बस्दा शिवजी सो ठाउँमा आई प्रसन्नतापूर्वक आजदेखि तिमी पार्वतिबाट भगवति भए भनी वरदान दिएको हुँदा सो वेलादेखि पार्वति भगवतीका स्वरुपमा अवतरित भएकी हुन् भन्ने किम्वदन्ती रहेको छ भने गोरखाबाट देवीको मूर्ति ल्याउने त्रममा बागलुङमा आइ मूर्ति बिसाउदा उक्त मूर्ति नउठेको हुँदा त्यही मूर्ति प्रतिस्थापन गरेको भन्ने जनश्रुती पनि छ । त्यस कारण यो ठाउँको नाम कालिका भगवती माइस्थानको नामले प्रसिद्ध छ । यहाँ प्रत्येक वर्ष नवदुर्गा र चैत्राष्टमीको दिनमा ठूलो मेला लाग्छ भने विभिन्न जिल्लाबाट भक्तजनहरुको ठूलो भिडभाड लाग्ने गर्दछ । त्यस्तै चैत्राष्टमीको अवसरमा नवमीका दिन देवीको मूर्तिहरु खटमा राखि शोभा यात्रा गराइन्छ । किनकि चोखो मनले मागेको कुरा पुग्छ भन्ने धार्मिक विश्वास रहेको छ ।

अर्को महत्वपूर्ण धार्मिक स्थल भन्नुपर्दा नेपालको प्रसिद्ध ठाउँहरु मध्ये बागलुङको ढोरपाटनको पनि नाम आउँछ । किनकि नेपालको एक मात्र सिकार आरक्ष केन्द्र पनि बागलुङ जिल्लाको ढोरपाटनमा पर्दछ । यो बागलुङ जिल्ला बोबाङ गाविसमा पर्दछ । जसमा उत्तरगङ्गाको बराहस्थानमा वर्षको एक पटक जनैपूर्णिमाको दिन मेला लाग्दछ ।

हिन्दुहरुको आराध्य देवता पशुपतिनाथको अगाडिपट्टी साँढेको मूर्ति भए जस्तै यहाँ पनि एउटा ठूलो साँढेको मूर्ति स्थापना गरिएको छ । जुन ठाउँमा पूर्व दिशाबाट उत्तर दिशातिर निरन्तर बगिरहने गंगा भएकोले उत्तरगंगाको नामले पनि चर्चित छ । ढोरपाटन नेपालको एक मात्र शिकार आरक्ष पनि हो । जहाँ चारैतिर पहाडै पहाडले घेरिएको उत्तरतर्फ बग्ने उत्तरगंगा नदी तथा वन्यजन्तुको सिकार गर्न पाइने रमणीय ठाउँ भएकाले सबैभन्दा महत्वपूर्ण पर्यटकीय स्थल मानिन्छ ।

यसैगरी, भैरवस्थान मन्दिर पनि त्यतिकै महत्वपूर्ण र धार्मिक विश्वास तथा आस्थाको केन्द्रविन्दु मानिन्छ । किनकि दिनहुँ भैरवस्थानको लोकप्रियता बढ्दै आएको छ । जुन बागलुङ जिल्लाको अमलाचौरमा पर्दछ । विशेषगरी बोकाको बलि चढाउने र मन्दिरको दर्शन गर्नेहरूको मनोकामना पूरा हुन्छ भन्ने जनविश्वास रहेको छ । यसको आसपासमा २,४ वटा सत्तल पौवा छन् । यहाँ प्रत्येक भाद्र महिनाको पहिलो मंगलबारको दिन ठूलो मेला लाग्ने गर्दछ भने बाह्रै महिना पहिलो मंगलबार र शनिबारको दिनमा घाम ढल्कन थालेपछि मात्र सम्पूर्ण भक्तजनहरुबाट ल्याइएका पूजा सामाग्रीहरु बटुलेर क्रमशः पूजाआजा तथा भाकल र बलि चढाइने प्रचलन छ । धार्मिक दृष्टिकोणले यस मन्दिरलाई काल भैरवको प्रतिकका रुपमा मानिएको पाइन्छ ।

बागलुङको प्राचिनतम लोकनृत्यहरु मध्ये एक प्रमुख लोकनृत्य हनुमान नाँच मानिन्छ । यो नृत्य बिजोर वर्ष अर्थात् ३,५,७ र ९ वर्षको फरकमा निकाल्ने गरिन्छ । बागलुङ बजारदेखि पश्चिमपट्टी करिब ५०० मिटर टाढा करालो भिर पाखामा हनुमानको आकृतिको विशाल मू्र्तिको साथमा स–साना २ वटा मूर्ति पनि राखिएको छ र हनुमान घर बनाइ कार्यक्रम तथा पूजाआजा गरिन्छ । बागलुङका चर्चित लोकनृत्य मध्ये जोगी नाँच, लाखे नाँच तथा रोपाई नाँच विशेषगरी गाइजात्रा उत्सव,कृष्णाष्टमीको अवधिको मुख्य दिन पारि नचाइन्छ । यो चाडपर्व विशेषगरी शाक्य, श्रेष्ठहरुले मान्य गर्दछन् । साँच्चै नै निकै रमाइलो देखिने यस नृत्यले जिल्लाको ऐतिहासिक सांस्कृतिक परम्परालाई झल्काइरहेको छ ।

तर, यस्ता ऐतिहासिक सांस्कृतिक चालचलन, रितिरिवाज, कला संस्कृति अहिले लोपोन्मुख अवस्थामा छन् । यसको संरक्षणका लागि कला संस्कृतिको पुस्ता हस्तान्तरणमा समस्या छ । नयाँ पुस्ता पूर्णत परम्परागत संस्कृति भन्दा आधुनिकता तर्फ उन्मुख छन् । विदेश पलायन हुने क्रम बढ्दो छ । गाउँ ठाउँमा भएकाहरुमा पनि संस्कृतिको संरक्षणका लागि गम्भीर देखिदैनन् । आधुनिक पाश्चात्य संस्कृति बरु भित्रिदैछ । त्यसैले जिल्लाको बिबिध पहिचान, कला, संस्कृतिहरुलाई साँच्चिकै संरक्षण जगेर्ना गर्ने हो भने बाहिरबाट आउने आन्तरिक र बाह्य पर्यटकलाई आकर्षण र समाज संस्कृति बुझ्ने अवसर हुनेछ । यसले पर्यटकीय चहल पहल मात्र होइन, आयआर्जन अभिवृद्धि गर्न समेत टेवा दिनेछ । तसर्थ, तीन तहको सरकार,सरोकारवाला, स्थानीय, नागरिक सबैले सकारात्मक पहल र सहयोग गर्नुपर्दछ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *