आदर्श अनलाइन, काठमाडौं
मंसिरदेखि विद्युतको नयाँ महसुल दर लागू हुने भएको छ । विद्युत नियमन आयोगले बिजुलीको महसुल समायोजन गर्दै बुधबार नयाँ दर सार्वजनिक गरेको छ । नेपाल विद्युत प्राधिकरणको प्रस्तावमाथि आवश्यक छलफल, सुनुवाइ र विश्लेषण गरेर आयोगले नयाँ महसुल दर तय गरेको हो ।
मंसिरबाट लागू हुने महसुलदर अनुसार ५ एम्पियरको लाइन लिने सिङ्गल फेज घरायसी ग्राहकले २० युनिटसम्म खपत गर्दा सर्भिस चार्जबापत ३० रुपैयाँ मात्रै तिरे हुनेछ । मासिक ३० रुपैयाँ मात्रै सर्भिस चार्ज लिने व्यवस्थाबाट करिब २२ लाख ग्राहकले लाभ लिने छन् । त्यसका लागि प्राधिकरणले वर्षमा ७५ करोड बराबर लगानी गनुपर्नेछ ।
आयोगले इन्डक्सन चुल्हो र विद्युतीय उपकरणको प्रयोग बढी हुने युनिटअनुसारको स्ल्याबमा पनि महसुल दर घटाएको छ । त्यसैगरी सिँचाइका ग्राहकको महसुल पनि घटेको छ । अहिलेसम्म सिङ्गल फेजमा ५, १५, ३० र ६० एम्पियर गरी नौ वटा स्ल्याब राखेर महसुल लिँदै आएको छ ।
अब भने यस्तो स्ल्याबलाई ६ वटामा झारिएको छ । यसले इन्डक्सन चुल्होको प्रयोग गर्ने तहका ग्राहकलाई थप सहुलियत मिल्ने आयोगको दावी छ । अब २० युनिटसम्मको पहिलो स्ल्याब हुनेछ भने २१ देखि ३०, ३१ देखि ५०, ५१ देखि १००, १०१ देखि २५० र २५१ युनिट भन्दा माथिसम्मको स्ल्याब कायम गरिएको छ ।
अब महिनामा १०१ युनिटभन्दा बढी खपत गर्ने ग्राहकले तिर्नुपर्ने महसुल कम भएको छ । यी भन्दा माथिका २ वटा स्ल्याबमा प्रतियुनिट ५० पैसादेखि एक रुपैयाँसम्म कम महसुल कायम भएको छ । यसले इन्डक्सन चुल्हो प्रयोग गर्ने ग्राहकले कम महसुल तिर्दा हुने अवस्था अवस्था बन्ने आयोगको दावी छ ।
व्यवसाय सञ्चालनका लागि ४ सय भोल्टको थ्री फेजको लाइन लिने घरायसी वर्गका ग्राहकले अब एक युनिटको वर्षामा १०.५० र हिउँदमा ११.५० रुपैयाँ फरक–फरक महसुल तिर्नुपर्ने छ । यसअघि चार सय युनिटसम्म खपत गरेमा ११.५० रुपैयाँ र चार सय युनिटमाथि खपत गरेमा १२ रुपैयाँ महसुल थियो ।
सबैभन्दा बढी लाभ यसपटक सिँचाइका ग्राहकले पाएका छन् । उनीहरुको महसुल ८० प्रतिशतसम्म घटाइएको छ । २३०/४०० भोल्ट बिजुली उपयोग गर्ने ग्राहकको हकमा सिँचाइका ग्राहकले अब प्रतियुनिट २.२५ रुपैयाँ महसुल तिनुपर्ने छ । यसअघि यो तहमा प्रति युनिट ४.३० रुपैयाँ महसुल थियो । सिँचाइका ३३ केभीका ग्राहकले प्रतियुनिट २.५० रुपैयाँ महसुल तिर्नुपर्ने छ । यसअघि यो स्ल्याबमा प्रतियुनिट महसुल ४.८० रुपैयाँ थियो ।
११ केभीका सिँचाइ ग्राहकले प्रतियुनिट २.६० रुपैयाँ महसुल तिरे पुग्नेछ । यसअघि यो स्ल्याबमा प्रतियुनिट ४.९० रुपैयाँ थियो । सिँचाइमा दिइएको सुविधाका लागि प्राधिकरणले वर्षमा ५६ करोड योगदान गर्नुपर्ने छ ।
यस्तो छ नयाँ महसुलदर