निसीखोलामा ८ कार्यालय सहित १९ घरमा ताेडफोड र चोरी

डम्मर बुढा मगर, बागलुङ

बागलुङको निसीखोला गाउँपालिकाको कार्यालय र विभिन्न वडा कार्यालयसहित विद्यालय र घरमा तोडफोड तथा चोरी भएको छ ।

सोमबार राति गाउँपालिकाको कार्यालयसहित वडा नम्बर ३ र वडा नम्बर ४ को कार्यालय, प्रभा मावि, जनजिवराज सुशिला मावि, हिले प्रावि, बोहोरागाउँ लिटिल रोज बोर्डिङ स्कुल र १९ घरमा तोडफोड तथा चोरी भएको गाउँपालिकाका सूचना अधिकारी पुरुषोत्तम गौतमले बताउनुभयो ।
निसीखोला गाउँपालिका कार्यालयमा तोडफोडसँगै कागजपत्र छरप्रष्ट बनाएको गौतमको भनाई छ । कागजात राख्ने दराज तोडफोड र सिसी क्यामेराको तार समेत काटिएको छ । सामान भने हराएको अहिले सम्म देखिएको छैन । यद्यपि यसबारेमा सामान चेकजाँच भइरहेको छ । चोरले वडा नम्बर ३ को वडा कार्यालय टोडफोड गरेको छ भने त्यहाँबाट ६०० रुपैयाँ चोरेको सूचना अधिकारी गौतमले बताउनुभयो ।

वडा नम्बर ४ को कार्यालय पनि तोडफोड भएको छ । कार्यालय तोडफोडसँगै ११ हजार रुपैयाँ समेत चोरेको वडा कार्यालयले जनाएको छ । वडा नम्बर ३ र ४ दुवै कार्यालयको ढोका तोडफोड भएको छ । वडा नम्बर ४ मा रहेको महिला सहकारीको कार्यालय ढोका समेत तोडफोड गरेको छ ।
तीन विद्यालयमा तोडफोड भए पनि कुनै सामानहरु हराएको अहिलेसम्म पत्ता नलागेको गौतमले बताउनुभयो । बोहोरागाउँ लिटिल रोज बोर्डिङ स्कुलबाट कार्यालयको ढोका तोडफोड गरि १० हजार रुपैयाँ चोरी भएका विद्यालयले जनाएको छ । चोरी गर्ने समूहले विभिन्न कार्यालयसँगै १९ घरमा तोडफोड र चोरी गरेको गाउँपालिकाले जनाएको छ । वडा नम्बर २ मा २ र वडा नम्बर ३ मा गरेर १७ वटा घरमा तोडफोडसँगै नगद र जिन्सी चोरी गरेको गौतमले बताउनुभयो ।

वडा नम्बर ३ का वडा सदस्य खिमबहादुर शाहीको घरबाट साढे दुई तोला सुन र एक लाख नगद रुपैयाँ चोरी गरेको गाउँपालिकाले जनाएको छ । विभिन्न कार्यालय, विद्यालय र १९ घरबाट १० लाख रुपैयाँ बराबरको नगद र जिन्सी चोरी भएको सूचना अधिकारी गौतमले जानकारी दिनुभयो ।
राति तोडफोड तथा चोरी भए पनि स्थानीय र कर्मचारी, जनप्रतिनिधिले विहान मात्रै थाहा पाएका थिए । प्रभा माविमा राति १ बजे तोडफोड भएको थाहा पाए पछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । गाउँपालिकाको कार्यालय भने विहान ७ बजे कर्मचारी आउँदा ढोकाहरु खुल्लै देखेपछि प्रहरीलाई खबर गरिएको थियो ।

गाउँपालिकाले क्षति भएका सबै घर तथा कार्यालयको निरीक्षण गरेर क्षति विवरण तयार पारिरहेको निसीखोला गाउँपालिकाका अध्यक्ष तारानाथ पौडेलले बताउनुभयो । उनले गाउँपालिकाको कार्यालयमा धेरै क्षति नभए पनि विभिन्न वडा र घरहरुमा लाखौँको चोरी भएको जानकारी दिनुभयो ।

इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रमुख जयराम वन्तले सबै स्थानमा पुगेर मुचुल्का तयार गरेको र आवश्यक अनुसन्धान भइरहेको बताउनुभयो । ‘पालिका र वडा कार्यालय सहितको तोडफोड र चोरीको अन्र्तय बुझ्ने प्रयास भइरहेको छ,’ वन्तले भन्नुभयो, ‘कुनै कागजात नियन्त्रणमा लिने राजनीतिक मनसाय या आपराधिक हिसाबले घटना भएको हो, त्यो पत्ता लगाउने चोरी गर्ने समूहको पहिचान गर्न लागिरहेका छौ ।’

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *