सज्जन कुमार सिंह
अधिवेशनका लागि जिम्मेवारी बाँडफाड भयो । कसैलाई मञ्च व्यवस्थापन, कसैलाई अरु जिम्मेवारी तोकियो, कसैलाई भाषण गर्ने । तर, पार्टीका अधिकांश महिलालाई आउने अतिथीलाई माला तयार गर्न लगाइयो । जो जो अतिथि आउँछन्, उनीहरुलाई माला र खाँदा लगाउन अझै महिला कमरेडहरु चिटिक्क परेर लाउँछन् । तुलनात्मक रुपमा सुन्दर जो छ, त्यही कमरेडलाइ जिम्मा दिइन्छ । सुन्दर महिला कमरेडहरुले माला खाँदा लगाउदा अतिथी अझै फुरुङ्ग हुन्छन् ।
एक अर्थमा महिलाको सुन्दरतालाई महत्व दिएको जस्तो देखिए पनि त्यही भित्र अदृश्य तर गहिरो विभेद छ । के खाँदा र माला सधै महिलाले मात्रै लगाउने त्यो पनि कम्युनिष्ट भनिने दलहरुमा देखिन दुर्भाग्य नै हो । अहिले एमालेको वार्ड,नगर अधिवेशन भइरहेका छन् । ती अधिवेशनमा अधिकांश महिला कमरेडहरुले पाएको भुमिका यिनै हुन् । महिलाहरुको भूमिकालाई यसरी साँघुरो बनाउँदा पार्टीहरु कसरी फराकिलो बन्लान् ?
यो एमालेमा मात्र नभएर सबै पार्टी र हरेक कार्यक्रममा देखिने सामान्य दृश्य हुन् । सबै पार्टी र संघ संस्थामा महिलालाई दिने मुख्य भूमिका भनेकै माला खाँदा लगाउने, खाजा ल्याउने र भाँडा माझ्ने,सफा गर्ने । पितृ सतात्मक नेपाली समाजको सबैभन्दा तितो पक्ष के हो भने महिलाहरु सधै पुरुषको सहायक र सहयोगी पात्रको रुपमा सधै खटिरहेका हुन्छन् । उनीहरुलाई मुख्य जिम्मेवारीमा ल्याउन नचाहने अर्थात् पुुरुष भन्दा कमजोर,निरीह पात्रका रुपमा अघि बढाइन्छ ।
महिला माथिको थिचोमिचो र उनीहरुलाई कमजोर बनाउने काम चाही धार्मिक साँस्कृतिक र सामाजिक मान्यताले गरेको हो । आजकाल पनि महिलाहरु माला, खाँदा, स्वागत सत्कारमै सिमित गराइन्छ । अतिथिको सिटमा महिलाहरुको उपस्थिति देखिदैन, मन्तव्य राख्ने र बोल्न त महिलालाई दिइदैन नै । लामा लामा राजनैतिक संघर्ष र परिवर्तनमा महिलाहरुको भूमिका गौरवमय थिए । आन्दोलन र युद्दहरुमा पनि महिलाहरुले देखाएको ऐतिहासिक साहस कुनै पनि दृष्टिकोणमा पुरुषको भन्दा कम थिएन ।
पार्टी निर्माणमा पनि महिलाहरुको योगदान अतुलनिय छ । विभिन्न परिवर्तनहरुले स्थापित गरेको महिला अधिकार र महिला सहभागितालाई समेत पछिल्ला दिनमा बेवास्ता गरिदै गएको पाइन्छ । राज्यका हरेक तह र विभिन्न संघ सस्थामा महिलाको ३३ प्रतिशत प्रतिनिधित्व सुनिश्चित गरिएको छ । संविधानमै राज्यको सबै निकायमा महिलाको ३३ प्रतिशत प्रतिनिधित्व अनिवार्य गरिए पनि पहिलोपटक प्रतिनिधिसभामा ५ र प्रदेशसभामा प्रत्यक्ष तर्फ १५ प्रतिशत मात्रै महिलाको उम्मेदवारी प¥यो । त्यसमा पनि जम्मा पाँच जना अर्थात् ३ः६६ प्रतिशत निर्वाचित भए । तर, तीनै नीति र संविधान बनाउने दलहरुले नै महिलाको सहभागितालाई लत्याउदै आएका छन् ।
पुरुष नेताहरुले आजकाल भन्ने भाषा अर्कै छ “अब महिला पुरुष सबै बराबर भएपछि महिला र पुरुषमा जो जाँदा पनि के नै फरक पर्छ र ?“ समाजमा समानता र समावेशीको नारा निकै बिकाउ र आवश्यक नारा बन्यो । हुन पनि राज्यबाट सधै सौतेलो व्यवहार सहेका पछि पारिएका जात,बर्ग, लिंग र क्षेत्रले महत्वपूर्ण ठाँउ र क्षेत्रमा विशेष सहभागिता र उपस्थितिको खोजी गर्दै आए । उनीहरुको संघर्षलाई झारा टार्ने गरि मुखमा बुझो लाउने मात्र काम गरिएका छन् ।
“अहिले देशको राष्ट्रपति नै महिला “महिला राष्ट्रपति भएको देशमा महिला सहभागिताको कुरा ? तर्क राख्नुभयो तर वास्तविकता भने निकै मुटु कोपर्ने खालको छ । जब देशको नेतृत्व र राजनीतिमा महिलाहरुको सहभागिता हुँदैन, स्वभाविक रुपमा महिलाका मुद्दाहरु छाँयामा पर्छन् । अहिलेको धरातलिय अवस्थाले के भन्छ भने महिलाहरुलाई राजनीतिमा आउनै दिइदैन । उनीहरुलाई मुख्य पदहरुमा ल्याउनेबारे पुरुष नेताहरु चाहदैनन् ।
हालै सम्पन्न एमालेको वार्ड र नगर अधिवेशनको अवस्था हेर्दा लाजै मर्दो देखियो । १० पालिका भित्रको नयाँ नेतृत्वमा एक जना महिला पनि अध्यक्ष, उपाध्यक्ष, सचिव मुख्य पदमा कुनै पनि महिलालाई ल्याइएन । पालिका मात्र होइन, वार्ड र टोल समितिमा पनि महिलालाई नेतृत्व दिइएन । यसले के देखाउँछ भने समावेशी र सन्तुलित सहभागिताको आलाप निकाल्ने मुख्य दलहरुको महिलालाई हेर्ने दृष्टिकोण कस्तो रहेछ ? यही बागलुङ जिल्लाको चित्र हेरे प्रष्ट भैहाल्छ ।
महिलालाई राजनीतिमा ल्याउन नयाँ नेतृत्व जन्माउन उनीहरुलाई पृष्ठपोषण गर्नु पर्नेमा महिला नेतृलाई चामलमा मिसिएको बियाँ सम्म पनि सहभागिता नबनाउनुले समावेशीको मुद्दाकै नाक काटिएको छ । संविधानले निर्दिष्ट गरेका धेरै मुद्दाहरु लागू गर्न समेत अझै आनाकानी छ । आमाका नाममा नागरिकता होस्,बंशजका अधिकार या त राज्यका हरेक निकायमा सहभागिता सुनिश्चितता यस्ता धेरै मुद्दामा लागुको अवस्था नाजुक छ ।
पछि पारिएका महिलाहरुको उन्नति गर्ने देशलाई सुमुन्नती र विकासमा ल्याउने भन्दै खोक्नेहरुको खोकीको केही औचित्य छ ? विशेष त बागलुङका कामरेडहरु, अवस्था देशैभरी नै यही हो । बागलुङ एमालेका पुरुष कामरेडहरु र राजनीति गर्ने अन्य दलका नेता ज्युुहरु, के बागलुङमा महिला नेतृत्व छैन ? बागलुङमा महिलाहरु नेतृ जन्माउन आवश्यक र सम्भव छैन ? के महिलालाई पुरुषहरुकै सेवा, सहयोगी र हजुरियामा सधैभर राख्ने ? के अब एमाले बागलुङ बामाले बन्या हो ? किन महिलाहरुलाई सधै यसरी नै पाखा लगाइन्छ ? महिलाको मत अब आवश्यक छैन ? महिलाहरुको पार्टीमा पुरुष सरह भूमिका र योगदान छैन ? अहिले आएको नयाँ नेतृत्व र महिलाको सहभागिता देखेर अलिकति लाज लाग्दैन ?
या त आफैले बनाएका महिला सहभागिताको नीति र मर्मको पालना गर्नै पर्दैन ? यही परिणाम र यस्तै नियति लिएर कसरी राजनिति गर्ने ? पुरुष मात्र भएको पार्टी अब महिलाको पार्टी कसरी बन्छ ? सबै जुझारु पुरुष कमरेडहरुले यो बिषयलार्ई गम्भीर रुपमा लिने कहिले ? यस्ता ठुला गल्तिहरुलाई छोप्ने टालो महिला नेतृत्वले देलान् ?