दुवईबाट फर्केर गाउँमै व्यावसायिक पशुपालन

साधना पन्त, बागलुङ
पछिल्लो समय युवाहरु वैदेशिक रोजगारमा जानेको संख्या बढ्दै गइरहेका बेला स्वदेश फर्केर व्यावसायिक उत्पादनमा लाग्ने युवाहरुको संख्या बढ्दो छ । करिब २ वर्ष दुवईमा काम गरी घर फर्किएका बागलुङ नगरपालिका ८ सिगानाका टीका बहादुर क्षत्रीले १७ लाख लगानीमा गाउँमै लक्ष्मी पशु कृषि फार्म सञ्चालन गर्नुभएको थियो ।

२५ वर्षका क्षत्रीले विदेश बसाई पश्चात आफ्नै गाउँ ठाउँमा केही गरौं भन्ने सोच लिएर व्यावसायिक कर्म आरम्भ गरेको बताउनुहुन्छ । ‘१२ कक्षा पास गरी दुवई पैसा कमाउने सपना बोकेर गएको थिए, तर दुवई जाँदा लागेको ऋण समेत तिर्न सकिन’, क्षत्रीले भन्नुभयो, ‘बिदेश गएपछि बल्ल महुशुस भयो कि विदेशमा गर्ने दुःख आफ्नै ठाउँमा गरे यही धेरै राम्रो गर्न सकिन्छ ।’ त्यसपछि गाउँ आएर भैसी पालन थालेको उहाँको भनाई छ ।

‘अहिले गोठमा १६ वटा भैसी छन्, पोखराबाट १ लाख ५० हजार देखी २ लाख सम्म पैसा तिरेर ल्याइएका भैसी छन्, अझै थप गर्ने योजना छ, मासिक ९० लाख आम्दानी हुन्छ, अहिले सम्म लगानी नउठे पनि घाटा भने भएको छैन,’ उहाँले भन्नुभयो ।

दैनिक ४० लिटर दुध बागलुङ बजारमा बिक्री गर्ने क्षत्री बताउनु हुन्छ । क्षत्री भन्नुहुन्छ ‘अहिले गाउँ घरमा युवाहरु युरोप अमेरिका जानेको लर्को छ । त्यो लर्कोका कुरा सुन्ने र देख्ने मेरा घरका परिवारलाई मैले गाउँमै आएर पशुपालन गर्छु भनेर कुरा राख्दा बुबा आमा र श्रीमती खुशी हुदै स्वदेश फर्कने अनुमती दिनुभएको थियो ।’ विदेशबाट गाउँमा आएर १७ लाख ऋण लिएर काम सुरु गरेको क्षत्रीले बताउनुभयो ।

अहिले गोठमा १६ वटा भैसी र गोलभेडाँ खेती गरेको छु । गोठको काम गर्न बुबा मान बहादुर क्षत्री र श्रीमती देवी क्षत्रीले सघाउनु भएको छ । करिब ३० रोपनी जग्गा भाँडामा लिएर फार्म र भैसीका लागी घाँस रोपेको क्षत्री बताउनु भयो । क्षत्री भन्नुहुन्छ,‘अहिलेको आधुनिक प्रविधि प्रयोग गरेर पशुपालन गरेको छु, अहिले गोलभेडा मात्र उत्पादन गरेको छु ।’ आगामी दिनमा कृषिलाई पनि अगाडि बढाउने र गाउँका युवाहरुलाई रोजगार दिने योजना रहेको उहाँको भनाई छ ।

अहिले सम्म पालिका र वडाबाट कुनै अनुदान नलिएरै अगाडि बढेको क्षत्री बताउनु हुन्छ । आफ्नै देशमा बसेर केही गर्ने सोच बनाएका युवाहरुका लागि सम्बन्धित निकायले पनि साथ सहयोग दिनुपर्ने क्षत्री बताउनु हुन्छ । पालिका र वडाबाट यवा लक्षित कार्यक्रमहरु गाउँ–गाउँमा ल्याउने हो भने युवाहरु बिदेश पलायनबाट रोक्न सकिने क्षत्री बताउनु हुन्छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *