सम्पादकीय
हजारौको बलिदान, लाखौंको संघर्ष, त्याग, समर्पण, आन्दोलन र अभियानबाट मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापित छ । यो उन्नत व्यवस्था ल्याउन राजनीतिक दल, नेता र नागरिकको सचेत भूमिका अवश्य अभुतपूर्व छ । जनयुद्धले जगाएको चेतना, जनआन्दोलनले ल्याएको परिवर्तनबाट मुलुक स्थिर राजनीति, समृद्धिको बाटोमा उन्मुख हुन्छ भन्ने आम अपेक्षा थियो । व्यवस्था बदलिँदा व्यवस्था मात्र होइन, आम नेपालीको अवस्थामा पनि उल्लेख्य परिवर्तन हुने आशा अपेक्षा थियो । तर, नेपाल र नेपाली राजनीतिमा पछिल्लो केही वर्ष यता जे जस्तो अस्वश्थ, अप्रिय, अस्वभाविक घटना परिघटना र प्रवृत्तिहरु देखिए, त्यसले नेपाली राजनीति, राजनीतिक दल र तीनका नेताहरु प्रति मात्र होइन, अहिलेको संघीय लोकतान्त्रिक गणतन्त्रको भावना, मर्म अनुसार बनेको तीन तहको सरकार सहितको व्यवस्था समेत बदनाम बनिरहेको छ ।
हुन त नेपाली समाज विचित्रको देखिन्छ । राजनीति बदनाम छ, व्यवस्था बदनाम छ, आम नागरिकको चर्को आक्रोश र निराशा छ । तर, मन्त्री, नेता, सांसद, जनप्रतिनिधिहरुलाई किलोका किलो भारी माला लगाउन छोडिएको छैन । गृहमन्त्री बालकृष्ण खाँडलाई कात्तिक २ मा रूपन्देहीस्थित गृहनगरमा कांग्रेसको तिलोत्तमा नगर समितिले १५ किलोको फूलको माला लगाइदियो । बारामा कार्यकर्ताले ६० किलोको माला लगाइदिए । २०७० यता सबैभन्दा बढी तौलको माला प्रधानमन्त्री शेरबहादुर देउवालाई लगाइएको छ । देउवालाई २०७५ फागुन ८ मा बाराको सिमरा पुगेका बेला कांग्रेसको जितपुर–सिमरा उपमहानगरपालिका समितिले एक सय ५१ किलोको माला पहि¥याइएको थियो । देउवाले २०७० यता मात्रै पाँच कार्यक्रममा ३ सय ४१ किलोको मालाको भार थामिसकेका छन् । २०६३ मा तत्कालीन प्रधानमन्त्री प्रचण्डलाई आयोजकले २१ बुँदे माग सुनाउँदै २१ किलोकै माला लगाइदिए । २०६९ मा त्यहीँ पुगेर तत्कालीन प्रधानमन्त्री बाबुराम भट्टराई, ०७० मा सुवास नेम्वागंलाई २१ किलोको माला लगाइयो । एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई संयुक्त रुपमा १० किलोको माला ओढाइयो । ३८ औं प्रधानमन्त्री बनेलगत्तै ओलीलाई एमाले नगर कमिटी बालकोटले घरमै पुगेर ६४ किलोको माला लगाइदियो । त्यसपछि ओलीलाई झापा दमकमा दमक नगरपालिकाले ३० किलोको माला लगाइदियो ।
हुन त नेताहरूले सार्वजनिक मञ्चमा अनुहारै छोपिने गरी अशोभनीय रुपमा किलोका किलो माला लगाउने अनौठो घटना होइन । हर पार्टीका पात्रमा यो प्रवृत्ति हावी छ । यसमा भारी माला लगाउने नेताहरु मात्र दोषि छैनन्, उनीहरुलाई खुसी र प्रफुल्लित बनाउनका लागि सीमित स्वार्थ र साँघुरो सोच राखेर माला पहिराउनेहरु यो भन्दा बढी दोषि हुन् । तर, असल, इमान्दार, कुशल नेताहरु र तीनको स्वकिय र समन्वयकर्ताले भन्न सक्नुपर्छ कि यस्ता प्रयास स्वयम् व्यक्ति, पार्टी, समाज र देशकै लागि घातक हुन् । यसरी माला लगाइनुमा कुनै विशेष सफलता र खुसी भन्दा पनि नेताहरुलाई खुसी पार्ने नियत प्रष्ट देखिन्छ । नेताहरुलाई धेरै किलोको माला लगाइदिन भइरहेको होड पार्टीभन्दा व्यक्तिलाई बलियो बनाउने प्रवृत्ति हो । ठूलो माला लगाइदिने भनेकै ढोंग हो । यसलाई स्वागत, सत्कारको रुपमा त हेर्न सकिन्छ, तर क्षणिक समय र देखावटी दुनियाँका लागि गरिने यस्तो प्रयास असल समाज र देश निर्माणका लागि शोभनीय पक्ष होइनन् । तीनै नेताहरुका कारण व्यवस्था बदनाम छ,राजनीति बदनाम छ तर घाटीमा मालाको भारी देखिनु बिडम्बना हो ।