धेरै दुःख दिने एलर्जीको कारण र यसबाट बच्ने उपाय

डा.सरोज कुमार राय
धौलागिरी आयुर्वेद औषधालय, बागलुङ

कुनै पनि वस्तुको सम्पर्कमा आउने बित्तिकै शरीरमा उल्टो असर देखिने अवस्था नै एलर्जी हो । एलर्जीको खास कारण नै शरीरमा प्रतिकुल प्रतिक्रिया हुनु हो । एलर्जीमा धेरैजसो हाम्रो प्रतिरक्षा प्रणालीले हानिकारक नहुने वस्तुसँग नै प्रतिकूल प्रतिक्रिया उत्पन्न गर्दछ । यस्तो प्रतिक्रिया उत्पन्न गर्न उत्प्रेरित गर्ने वस्तुहरुलाई “एलरजेन्स“ भनिन्छ । प्रदूषण, धूलो–माटो, घास, पराल एवम् रुख–पात, बिरुवाको पराग कण, जनावरको रौ, भुत्ला, कुनै प्रकारको खाना आदि जे कुरा पनि “एलरजेन्स“ हुन सक्छ र यसले एलर्जी उतपन्न गर्न सक्छ । कसैलाई धुलोको एलर्जी हुन्छ, कसैलाई कुनै प्रकारको फलफूल, कपडा, दहीको पनि एलर्जी हुन्छ, कसैलाई माछा सुँघ्नै हुँदैन भने कसैलाई कुनै औषधिले पनि एलर्जी हुन सक्छ ।

महामारी र इतिहासः
बदलिँदो मौसममा एलर्जिक राइनाइटिस (नाकको एलर्जी), एलर्जिक अस्थमा (दम) र छालाको एलर्जी, खाद्य पदार्थको एलर्जी हुनु सामान्य हो । तर, इतिहास हेर्दा १८७० मा “हे फिभर“ को पहिलो चोटी वर्णन हुनु भन्दा पहिला एलर्जीक रोगहरुबारे जनचेतना अत्यन्त न्यून थियो । १९६० भन्दा पहिला बच्चामा हुने एलर्जीक दमको समस्या धेरै कम थियो भने १९९० सम्म आएर इन्डोर जीवनशैली अपनाएका देशहरुमा यो समस्या धेरै बढेको देखिन्छ । सन् १९९० देखि नै खानाको एलर्जी पनि धेरै बढेको देखिन्छ । अमेरिका, जापान जस्ता विकसित मुलुकहरूमा खाने कुराको एलर्जी बढी छ । उनीहरूमा सामुन्द्रिक खाने कुराको एलर्जी बढी हुन्छ । हामीकहाँ सामुन्द्रिक खाना नभएकाले यसको एलर्जी हुँदैन । हामीकहाँ ढुसी परेको खानाको एलर्जी, धुलोको एलर्जी, चिसोको एलर्जी, रसायनको एलर्जी, सिमेन्टको एलर्जी बढी हुन्छ । सुरक्षा औजार नलगाई सिमेन्ट चलाउने कामदारमा यसको एलर्जी बढी देखिन्छ । हामीकहाँ महिलामा निधारमा लगाउने टीकाको पनि एलर्जी देखिन्छ । त्यसैगरी दही तथा माछाको पनि एलर्जी धेरै पाइन्छ ।

कारण र लक्षणः
एलर्जीमा हुने ‘मास्ट’ सेल भित्र हिस्टामिन नामक रसायन हुन्छ । हिस्टामिन मास्ट सेलबाट छुटेर बाहिर निस्कियो भने जुन भागमा पुग्यो त्यहीँ एलर्जी हुन्छ । मास सेल सबै भन्दा बढी छालामा हुन्छ । त्यसपछि नाक, घाँटी, आन्द्रा, श्वास–प्रश्वास नली, आँखा, पाठेघर तथा योनीमा हुन्छ । एलर्जी भयो भने यी अंगहरू प्रभावित हुन्छन् । छालामा भयो भने चिलाएर डाबर आउने, नाकमा भयो भने हाच्छिऊँ आउने, श्वास नलीमा भयो भने खोकी र दम हुने, छालामा भयो भने चिलाएर डाबर आउने र आँखामा भयो भने आँसु आउने हुन्छ । यी मध्ये सबैभन्दा बढी फोक्सोमा हुन्छ । जुन एलर्जीको कारण श्वास फेर्न गाह्रो हुन्छ ।

एलर्जीको रोकथाम तथा घरेलु उपचारः
–सबैभन्दा पहिला शरीरको प्रतिरक्षा प्रणालीलाई मजबुत बनाउनु पर्छ, दैनिक ३० देखि ४८ मिनेटसम्म व्यायाम÷योगाभ्यास (असन, प्राणायाम, ध्यान)ले शरीरको प्रतिरक्षा प्रणालीलाई मजबुत बनाउँछ ।

–यसको साथै खानामा भिटामिन–ई को मात्रा भएको खानेकुराको समावेश गर्नुभयो भने शरीरको प्रतिरक्षा प्रणालीलाई एलर्जीसँग जुध्न मद्दत पुग्दछ । भिटामिन ई ले धुम्रपान गर्नेहरूको फोक्सोलाई पनि थोरै मात्रामा निको पार्ने काम गर्दछ ।

–धुम्रपान, मद्यपान जस्ता कुलतको परित्याग गर्ने, यसले शरीरको रोग प्रतिरोधात्मक क्षमता घटाउछ ।

–घ्युकुमारी जसलाई हामी एलोभेरा पनि भन्छौ, छालासम्बन्धी समस्याका लागि रामवाण मानिन्छ । एलोभेरामा पाइने एन्टी फंगल, भिटामिन ए, इ, फोलिक एसिड आदि तत्वले भरिपूर्ण हुन्छ र यसले एलर्जीलाई पूर्ण रूपले नष्ट गर्छ । यसको लागि ताजा एलोभेरा जेललाई एलर्जीको वरिपरि लगाउनुपर्छ । त्यसलाई २० मिनेट जति त्यत्तिकै रहन दिएर सफा पानीले धुनुपर्छ । यसो गर्दा छालासम्बन्धी एलर्जी मात्र नभई अन्य रोगबाट समेत मुक्त हुन सकिन्छ ।

–छाला सम्बन्धी समस्यामा नीमको प्रयोग लाभकारी मानिन्छ । नीममा एन्टी फगल, एन्टी एलर्जिक तथा एन्टी व्याक्टेरियल तत्व हुन्छ । नीममा पाइने यी तत्वकै कारण नीमलाई कुनै पनि रोगमा प्रयोग गर्न सकिन्छ । यस्तै मंजिस्ठा, खयर, तुलसी, बेसार, सरिवा आदि धेरै जडिबुटीहरु यसमा लाभकारी छ ।

–१५०–२०० एम एल मनतातो दुग्धमा आधा चम्चा शुद्ध बेसार र स्वाद अनुसार सख्खर मिसाई १÷२ पटक प्रयोग गर्न सकिन्छ । गोल्डेन मिल्क भनिन्छ र यसको प्रयोग एलार्जिमा रामवाण सरह हुन्छ ।

–नाकको एलर्जीमा नाकमा अणु तेल वा तिल वा तोरी वा सर्स्युको तेल वा गाईको घिउ २÷२ थोपा दुवै नाकको प्वालमा नस्य लिने,

–एलर्जी भएको ठाउँ वरिपरि बेकिङ सोडा लगाउँदा तत्काल छालाको रातोपन कम हुन्छ र चिलाउन पनि छोड्छ । बेकिङ्ग सोडामा थोरै पानी मिसाएर चिलाएको ठाउँ वरिपरि लगाउने, केहीबेर त्यसै छोड्ने र सफा पानीले धुने । बेकिङ्ग सोडालाई पानीको सट्टा नरिवलको तेलमा मिसाएर पनि लगाउँदा पनि राहत मिल्छ ।

एलर्जीबाट बच्न अपनाउनु पर्ने जीवनशैली र उपायहरुः
–दैनिक सूर्योदय भन्दा पहिला उठ्ने गरौ,
–विहान ७–१० बजेको घाममा १५–३० मिनेट सम्म ऋतु अनुसार बस्ने गरौ,
–घरबाट बाहिर निस्किंदा धूलोको कण नाक भित्र पस्न नदिन मास्कको प्रयोग गर्ने,
–चिसो हावा, धूलो–धुवाँ र ओसिलो ठाउँमा जानबाट सकेसम्म बच्ने,
–यदि त्यस्ता ठाउँमा जानु पर्यो भने मास्क वा रुमालको प्रयोग गर्ने,
–विरुद्ध अन्नहरू जस्तै माछा संग दुध, दुध संग नुन, मुला आदि तातो दही, रातीमा दहीको सेवन आदि नगर्ने,
–घरपालुवा जनावरहरु जस्तै कुकुर, बिरालो आदिको धेरै नजिक नहुने,
–कुनै खाद्य पदार्थ वा खानाको एलर्जी छ भने त्यसको सेवन नगर्ने,
–नाकमा एलर्जीले बढी समस्या भएमा दैनिक २÷२ थोपा अणु तेल वा तिल÷ नरिवल÷सर्सो तेल राख्नाले धेरै फाइदा गर्छ,
–जुन वस्तुको प्रयोगले छालामा एलर्जी हुन्छ, त्यस चिजलाई नोट गर्ने र त्यो वस्तुको प्रयोग गर्न बन्द गरिदिने ।
–छालाको जुन भागमा एलर्जी हुन्छ, त्यहाँ कुनैपनि प्रकारको कास्मेटिक साधनको प्रयोग नगर्ने ।
–धूम्रपान नगर्ने र धुम्रपान गरिरहेको व्यक्तिको छेउमा समेत नबस्ने,
–यदि धुवाको एलर्जी छ र घरमा चुल्होको प्रयोग भैरहेको छ भने त्यसको प्रयोग बन्द गरेर ग्यास वा इलेक्ट्रिक स्टोवको उपयोग गर्ने,
–घरमा शुद्ध हावा आउने र जाने व्यवस्था सुनिश्चित गर्ने,
–भान्छामा एक्जास्ट फेनको उपयोग गर्ने,
–आफ्नो औछ्यान लाई सफा–सुघ्घर राख्ने,
–घरमा भिजाएको कपडाले पोछा नलगाउने
–बजारमा पाइने जंक फुड, फास्ट फुड र पेय पदार्थको परित्याग गरौ,
–घरको भित्तामा ढुस्सी या जालो लागेको छ भने त्यसलाई ब्लिच गरेर सफा गर्ने
–धेरैजसो व्यक्तिहरुको छाला अत्यधिक संवेदनशील हुन्छ । कुनै वस्तु विशेषको सम्पर्कमा आउन साथै त्यस्ता व्यक्तिलाई एलर्जी भई हाल्छ । धेरैजसोलाई अर्काको समान प्रयोग गर्नले पनि एलर्जी भई हाल्छ । जस्तैः सुत्ने औछ्यान, टावेल, अर्काले लगाएको लुगा, जुत्ता, चप्पल आदि । उनीहरुले यस कुराको बिशेष ख्याल राख्नु पर्दछ ।
–धेरैजसोलाई फूलको बाँस्नाले पनि एलर्जी हुन्छ । यस्ता व्यक्तिहरुले फूल फुल्ने किसिमको बिरुवा कोठामा नराख्ने र फूल फुल्ने ठाउँमा नजाने ।
–वर्षाको समयमा केही खास किसिमका रोगहरु जस्तै–अस्थमा, हृदय रोग, क्यान्सरबाट ग्रसित व्यक्तिहरुका लागि यो मौसमले केही समस्या पनि ल्याउन सक्छ, त्यसैले यसमा त्यस्ता व्यक्तिले विशेष ध्यान दिने ।
–इन्फेक्सनबाट बच्ने प्रयास गर्ने ।
–दैनिक भोजनमा ५ ग्राम भन्दा बढी नुनको प्रयोग नगर्ने ।
–सकेसम्म आफ्नै बारीमा उब्जिएको अन्न तथा तरकारीको प्रयोग गरेर घरमै तयार गरेको भोजन गरौं ।
–केको कारणले एलर्जी भएको हो भने थाहा पाउन प्रतिदिन के खाए पछि वा लगाए पछि वा सम्पर्कमा गएपछि शरीरमा एलर्जीको लक्षण देखिन्छ ध्यान दिनुहोस् र त्यो वस्तुको उपयोग बन्द गर्नुहोस् ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *