२९ वर्षीया सुमिरा लामाः रमाउने उमेरमा मानव सेवामा तल्लीन

खेमराज गौतम, बागलुङ
२२ वर्षको उमेर अघि सुमिरा लामालाई मानव सेवाको बारेमा चासो र उति धेरै गुञ्जायस थिएन । जान्ने इच्छा भए पो थाहा हुन्थ्यो ? उमेर या अरु कारण चञ्चल स्वभाव, अध्ययनका लागि क्यापस आउजाउ, रंग रमाइलोमै सुमिराको दैनिकी चलिरहेको थियो । अहिले जसरी टिन एजर युवा युवतीको जीवन जसरी चल्छ त्यसैगरी ।

कहिले कलेज पढ्न छोडेर घुमघाम त कहिले बाबा आमासंग पैसा मागेर सिनेमा हलमा । यो केही वर्षको नियमितताबाट लामाको त्यो स्वभाव र दैनिकी परिवर्तन हुन समय नै लागेन । २९ वर्षिया लामा अहिले मानव सेवामा समर्पित भएको ७ वर्ष पुग्यो । मानव सेवामा एकछिनको रमाइलो र कसैलाई देखाउनका लागि मात्रै लागेको भए लामा अहिले यस क्षेत्रबाट अलग भइसक्नु हुन्थ्यो । लामामा जागेको मानव सेवाको भाव झन् झन् बढ्दै गइरहेको छ । लाग्छ लामाको बाँकी जीवन सेवामै समर्पित हुनेछ ।

एक सामान्य परिवारमा जन्मनुभएको लामाका आमा बाबुले लामालाई जागिर खाएको देख्ने इच्छा थियो उनका साथीहरुले जस्तै । तर, लामा जागिरे साथीहरु भन्दा मानव सेवाको काम, त्याग र समर्पणका कारण अब्बल सावित हुन पुग्नुभयो । सुमिरा ४ वर्षदेखि मानव सेवा आश्रममा बागलुङ शाखको संयोजकका रुपमा सडक मानवको उद्दार, अभिभावक विहीनहरुको अभिभावक र बेसहाराहरुको सहारा बनेर सेवामा समर्पित हुनुहुन्छ ।

मानव सेवाका दौरानमा थुप्रै कठिनाई र समस्या झेल्दै आउनुभएका लामा अहिले आश्रममा स्वतः स्फुर्त रुपमा खटिरहनुभएको छ । “म आफै आश्चर्यमा छु, त्यो क्याम्पस पढ्दाको लक्ष्य, जीवन र क्षण अनि अहिलेको भोगाई मानव सेवा प्रतिको समर्पण, सोच र बेसहाराको सहारामा इट्टा थप्दै हिँडेकोमा भिन्नै अनुभव हुन्छ” लामाले भन्नुभयो “मानिस जुन क्षेत्रमा लाग्छ, त्यही क्षेत्रमा आफ्नो सन्तुष्टि खोज्नुपर्दछ, म मानवहरुको सेवामा सन्तुष्ट भए, अभिभावक विहीनहरुको अभिभावक बन्ने प्रयत्न गरेको छु, सके जति मानव सेवामै समय खर्चनेछु ।”

साना बेसहारा बालबालिकाले आमा र हेरचाहको अभावमा बरालिएका मानिसहरुको अभिभावक बनिरहनुभएको छ । एउटा चञ्चले स्वभावको युवती केही वर्षमै मानव सेवामा लाग्ने, अभिभावक विहीनहरुको जिम्मेवार अनि परिपक्व अभिभावक बन्न सफल हुनुभएको छ ।

नौ दिनमा आएको सेवा प्रतिको सोचको बदलाव
लामालाई क्याम्पस छेउमै मानव सेवा आश्रम खुलेको तीन वर्ष भएको पत्तो नै थिएन । २२ वर्षको उमेरमा स्नातक अध्ययनरत लामाका साथीहरुले एउटा तालिम सञ्चालन हुँदैछ भन्ने खबर पु¥याए । उक्त ९ दिने तालिम आश्रममै थियो । त्यसबेला अचानक लामामा तालिम लिने इच्छा पलायो तर मानव सेवा गर्न होइन, जागिरका लागि थप अनुभव आर्जन गर्न भनेर मात्रै । बाबा आमाको सोच समेत छोरीलाई जागिरे बनाउने गरी निर्देशित भएकाले पनि होला यस्तो सोच स्थापित थियो । ज्ञान हस्तान्तरण तालिममा सहभागी भएको पहिलो दिनबाटै लामाको मन बदलिन थाल्यो । उहाँप्रति मानव सेवाको भाव झल्कदै गयो । आश्रममा रहेका बालबालिका र आमा बुबाको अनुहारमा आफूलाई देख्न थाल्नुभयो लामाले । ९ दिन सम्मको तालिमले उहाँको मनमा मानव सेवाको भावले भरिसकेको उहाँलाई पत्तै भएन ।

“तालिमका क्रममा आश्रमको काम, सेवा तथा उद्दार र उपचारको विषयमा ज्ञान लिए” लामाले भावुक हुँदै भन्नुभयो “मलाई कुन बेला आश्रमले तान्यो ? पत्तै भएन, नौ दिनको दिनबाट आश्रमलाई छोड्नै मन लागेन ।”

एउटा प्रमाण पत्रको लोभमा सहभागी भएको तालिमले सुमिराको जीवन, सपना र योजना नै बदलिएको छ, अहिले जागिर मनबाट हटिसकेको छ । लामा अहिले अनाथ, असहाय तथा सडक मानवको सेवामा अन्र्तमनले समर्पित व्यस्त हुनुहुन्छ । लामाले आफ्नो व्यक्तिगत जीवनको बारेमा सोच्ने फूर्सदै पाउनुभएको छैन । अहिले तालिममा सहभागी लामा र आदर्श ढकाल मानव सेवामै समर्पित हुनुहुन्छ ।

ती सुमिरा, यी सुमिरा
लामाले आश्रममा समय दिदै स्नातक अध्ययन भने सकाउनुभयो । तर, उहाँ घर छाडेर आश्रममा दिन रात व्यतित गर्नुहुन्छ । उहाँले सेवा गरिरहेको आश्रम नै पहिलो आश्रम थियो । उहाँलाई लागेको थिएन मानव सेवा आश्रम यति छोटो समयमै राष्ट्रव्यापी हुनेछ, न यसलाई सबैले रुचाउने र सहयोग गर्नेछन् भन्ने ।

एउटा जागिर खाएको भए लामाले परिवारलाई दुई चार पैसा दिन सक्नुहुन्थ्यो होला । सिमित साथी भाइले चिन्थे होला । आफ्ना आमा बुबाको लक्ष्य पुरा हुन्थ्यो होला तर मानव सेवामा लागेपछि लामालाई पृथक परिचयले धेरैले चिन्छन् । उहाँले दाम हैन, नाम कमाउनु भएको छ । त्यो भन्दा बढी समाज र देश प्रतिको दायित्व पुरा गर्नुभएको छ । सेवाबाट सन्तुष्टि र आनन्द लिनुभएको छ । बेला बेला बाबा आमाको कानमा सुमिराको विषयमा आएका सकारात्मक कुरा पर्ने गरेका थिए । तर,आश्रममा लाग्दा शुरुको दिनमा बाबा आमाको समर्थन भने थिएन लामालाई । अहिले एउटा सामाजिक अभियन्ता, मानव सेवाका एक अथक योद्धाका रुपमा लामाले आफ्नो परिचय बनाइसक्नुभएको छ ।

आश्रमबाटै भागौ जस्तो लाग्यो…
लामाले आश्रममा सेवा गर्दै गर्दा हेटौडा शाखा राम्रो हुँदै गयो । केन्द्रीय अध्यक्ष रामजी अधिकारीको सल्लाहमा उहाँलाई चितवन पठाइयो । चितवनमा शुरुवाती अवस्थामा लामालाई निकै सकस भयो ।

हेटौडामा घर नजिकै थियो तर चितवन आएपछि उहाँलाई केही न्यास्रो समेत लाग्यो । शुरुवाती अवस्थामा चितवनमा आश्रम व्यवस्थापन गर्न निकै कठिनाई समेत भएको लामाको अनुभव छ । “शुरुवाती अवस्था थियो, आश्रमको दोस्रो शाखा थियो, व्यवस्थापन गर्न निकै चुनौती थियो, शुरुमा कसैको सहयोग थिएन” लामाले भन्नुभयो “आश्रमबाटै भागेर जाम जस्तै भयो तर ती अबोध बालबालिका र सहाराविहीन मानिसहरुको अवस्था देख्दा मन सम्हालेर सेवामा लागे ।” उहाँ केही समयपछि काठमाण्डौं शाखामा जानुभयो ।

काठमाण्डौमा शाखा पुगिसक्दा आश्रमको विषयमा केही सकारात्मक समाचार बाहिर आउन थाल्यो, सबैले चिन्न थाले आश्रमलाई सहयोग आउन थाल्यो । पछि २०७४ सालमा बागलुङ शाखाका लागि रामजी अधिकारी सरले तीन महिनाका लागि लामालाई बागलुङ पठाउनुभयो । तर, त्यस यता लामा बागलुङमै हुनुहुन्छ ।

जीवनकै लक्ष्य बन्यो मानव सेवा
कुनै बेला जागिरे बन्ने सोच र सपनामा हुर्किएका लामाले आफ्नो जीवनको लक्ष्य नै मानव सेवा रहेको बताउनुहुन्छ । यो कलकलाउदो उमेरमा आफ्नो घर, परिवार त्यागेर सहाराबिहीन मानवहरुको सेवामा समर्पित हुने कुरा चानचुने कुरा कदापि होइन । लामाले आफू अब मानव सेवामै समर्पित भएर लाग्ने र बागलुङ शाखालाई आफ्नै भवनबाट सेवा दिने बनाउने र अन्य शाखा विस्तारमा समेत भूमिका खेल्ने बताउनुभयो ।

“जीवनको लक्ष्य नै मानव सेवा हो, भविष्यको कुरा त कसले देखेको छ र ? म ७ वर्षदेखि यसै क्षेत्रमा छु, बागलुङ शाखाको भवन समेत निर्माण गर्न शुरु भएको छ” लामाले भन्नुभयो “कहिले गोरखा त कहिले पोखराको शाखामा तालिम तथा गोष्ठी चलाउन पुगेको छु, कहिले सडक नाटक चलाउन देश दौडाहमा ।” सडक नाटक मार्फत मानवीय सेवाको भाव झल्काउन ठूलो मद्दत पुगेको उहाँको अनुभव छ ।

कलकलाउदो उमेरमा ४९ जनाको अभिभावक
सानै उमेरमा ४९ जनाको अभिभावक बन्न पाउँदा खुसी लागेको उहाँको भनाई छ । आश्रममै जन्मिएका सृष्टिका कारण समेत उहाँमा थप मानव सेवाको भाव अभिवृद्धि भएको छ । बागलुङ शाखामा अहिले ४९ जना सडकापेक्षी, बेसहारा, अपाङ्गता र मनोरोगी आश्रित छन् ।

आश्रम स्थापनाका लागि लामालाई शुरुवाती चरणमा मनिष रायमाझीको नेतृत्व र अहिले शिव खड्काको नेतृत्वमा सामाजिक स्वय्मसेवी टोलीको सहयोग स्मरणीय रहेको लामा बताउनुहुन्छ । यस आश्रम मुठ्ठी दानबाटै सञ्चालित छ ।

आश्रम नै घर
सुमिराले घर बिर्सिसके जस्तो भएको छ । अहिले उहाँलाई आश्रमनै घर जस्तो लाग्छ । बाबा आमा भेट्न घर जान समेत फूर्सद नभएको बताउनुहुन्छ । “अहिले त आश्रम आफ्नै घर जस्तो लाग्छ, बालबालिका आफ्नै छोराछोरी जस्तो लाग्छ” लामाले भन्नुभयो ।

मकवानुपरको हेटौडा–८ कमानेमा जन्मनुभएका लामाका बाबा आमाले शुरुवाती चरणमा मानव सेवा प्रतिको छोरीको रुचीलाई नकार्नू भएको थियो । पढाई लेखाई भएकी छोरी अर्काको सेवामा समय खेर फालेको भन्दै रुष्ट हुनुभएको थियो । तर, पछिल्ला वर्षमा मानव सेवामा समर्पित छोरीको साहस,योगदान,भूमिकाको प्रंशसाको चौतर्फी चर्चा परिचर्चा पछि उहाँहरुले गर्व गर्ने गरेको लामा बताउनुहुन्छ । अहिले आमा बुबा लामाको कर्म प्रति खुसी सन्तुष्ट समेत हुनुहुन्छ । आश्रम स्थापना भएको १० वर्षमा मानव सेवा आश्रमका २२ शाखा सञ्चालित छन् । अहिले बागलुङ शाखाको भवन निरयघाटमा निर्माणधीन अवस्थामा छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *