‘नेपालको सहकारी अभियानलाई विश्वसामु चिनाएकी छु’

ओमदेवी मल्ल
बरिष्ठ उपाध्यक्ष
राष्ट्रिय सहकारी महासंघ
बोर्ड मेम्बर, अन्तर्राष्ट्रिय सहकारी महासंघ (आइसीए) ग्लोबल

तपाईको जन्म कहाँ भयो ? बाल्यकाल कस्तो रह्यो ?
स्वर्गीय कृष्णदास मल्ल र राधामाया मल्लको कोखबाट २०२९ साल साउन १९ गते गोरखाको धुवाँकोटमा मेरो जन्म भएको हो । आमा ८३ वर्षको हुनुहुन्छ  । बुबाका ३ पत्नीबाट ८ छोरा र ९ छोरी गरी हामी १७ सन्तान हौं । जेठी आमाको १ छोरा १ छोरी, माहिली आमाको ३ छोरा ३ छोरी र कान्छी मेरी आमाको ५ छोरी ४ छोरा छौं । १६ औं सन्तान म मुनि एक भाइ छ ।  छोरीहरुमध्ये कान्छी हुँ । 

हाल मेरो परिवारमा जेठी ‘ओकिता’ माहिलो ‘ओकिन’ र कान्छो ‘ओकेस’ गरी ३ सन्तान छन् । कान्छो छोरा मसित छ, छोरी र छोरा अध्ययनको सिलसिलामा अष्ट्रेलियामा छन् । मोरङको बेलबारी डाँगीहाटमा सासु ससुरा भएपनि बाँकी सदस्यहरुसहित भ्याली होम्स् सुनाकोटी ललितपुरमा बस्दै आएकी छु ।

मेरो बाल्यकाल रमाइलो र सुखद थियो । परिवार सम्पन्न थियो । भगवानको कृपाले आजसम्म लाउनखान दुःख परेको थाहा छैन । मेरा ३ बाजेहरु गोरखाका ३ डाँडाहरु–छोप्रा, मनकामना र धुँवाकोट चिनियाँखर्कका राजा सरह हुनुहुन्थ्यो । बुबा २४ वर्ष गाउँको प्रधानपञ्च हुनुहुन्थ्यो । घरमा २ वटा घोडा थिए । बुबासँगै ८/९ वर्षको उमेरसम्म म पनि घोडा चढेर हिड्थेँ । सत्रसय फाँटमा कपडा पसल थियो । सानैदेखि मलाई दुःख भनेको थाहा भएन ।

शिक्षा कहाँ लिनुभयो ?
बुबाको अग्रसरतमा स्थापना भएको धुँवाकोटस्थित सिद्ध प्राविमा ३ कक्षासम्म गरेँ । ४ कक्षाबाट मित्रता माध्यमिक विद्यालय भन्ने सत्रसय फाँटमा पढेँ र टेष्ट पास गरेँ । २०४६ सालमा एसएलसी गरेँ । टप टेनमा जहिल्यै पर्थेँ । इतिहास मेरो रुचिको विषय थियो भने अंग्रेजी कठिन लाग्थ्यो जुन अहिले पनि लाग्छ । अंग्रेजी अध्ययन गर्न अल्छी लाग्थ्यो । विद्यालय कालसम्म हाइजम्प र भलिबल खेल्थेँ । दमौलीमा बिरेन्द्र शिल्ड प्रतियोगिता खेल्न जान्थेँ । ८ कक्षासम्म सांस्कृतिक कार्यक्रममा नृत्य प्रस्तुत गर्थे । काठमाडौंको बागबजारस्थित पद्मकन्या क्याम्पसबाट आइए र बीए पास गरेँ । त्रिभुवन विश्व विद्यालयबाट समाजशास्त्रमा स्नातकोत्तर गरेँ ।

स्वभाव कस्तो थियो तपाईको ?
हक्की र ‘बोल्ड’ स्वभावकी थिएँ जुन अहिले पनि छ । धेरैले ‘यसलाई वकिल पढाउनुपर्छ’ भनेर भन्नुहुन्थ्यो । प्रधानपञ्च बुबालाई भेट्न बिहानै घरभरि मान्छेहरु आएको देख्दा समाजसेवा गर्नुपर्ने रहेँछ, नाम कमाउनुपर्दो रहेछ भन्ने मनमा गढिसकेको थियो । बुबाको प्यारो र नजिक पनि थिएँ जसका कारण धेरै कुराहरु सिक्न पाएँ । जहाँ आफ्नो अपमान हुन्छ त्यहाँ जानुहुन्न भन्ने बुबाबाटै सिकेँ ।

दाई पनि प्रधानपञ्च र काका नारायण मल्ल भूमिसुधार मन्त्री हुनुहुन्थ्यो । एक हिसाबले ‘लीडरशीप’ किसिमको पारिवारिक पृष्ठभूमि थियो जुन ममा पनि विकसित हुँदै आयो भन्ने लाग्छ । पारिवारिक छलफलहरुमा पनि ‘ओमदेवीलाई चाहिँ राख्नुपर्छ’ भन्नुहुन्थ्यो सबैले । विवाहपछि माइतीघरमा केही बिशेष सल्लाह हुँदा समेत मेरो सहभागिता रहन्थ्यो । 

तपाईका बारेमा धेरैलाई थाहा नभएको विशेषता ?
म खाना मिठो पकाउँछु । पाहुनाहरु आउँदा प्रायः पकाउने काम गर्छु । रहर पनि लाग्छ र मिठो पनि पकाउँछु । पुलाउ, खसीको मासु, अचार, मिठाई आदि सबै मिठो पकाउँछु । खानामा भने मलाई मासको दाल, साग, गोलभेडाको अचार र भात नै मनपर्छ । ग्याष्टिक बाहेक अन्य दीर्घ रोग केही छैन ।

के कुराले मन खिन्न हुन्छ ? 
म इनोसेन्ट र संवेदनशील छु । कसैको दुःखले छिट्टो छुन्छ । कसैलाई पनि जानीबुझी अपमान गर्न आउँदैन । अरुले अपमान गर्यो भने सहन सक्तिन र तुरुन्त प्रतिक्रिया जनाउँछु । त्यसले फाइदा बेफाइदा दुबै भएको छ । कसैलाई मैले आदर गर्छु भने मैले पनि सोही प्रकारको व्यवहारको अपेक्षा अनौठो हो भन्ने लाग्दैन । छिटो आँसु आउँछ तर रुन त हिजोआज ९० प्रतिशत छोडिसकेँ ।  

आजको अवस्थामा आइपुग्न मैले थुप्रै संघर्ष गरेकी छु । पितृसत्तात्मक समाजमा महिलाका लागि अघि बढ्नु र भूमिका स्थापित गर्नु कठिन छ । पाइला पाइलामा महिलाहरुमाथि हुने अनेकौं विभेदले थप जुझारु बनाउँदै लग्यो । हार्न होइन, लड्न सिकायो । महिलाहरुलाई किन हेपिन्छ ? म उत्तरको खोजीमा रहन्थेँ । आजपनि त्यसप्रकारको हेपाहा प्रवृत्तिले एकदमै छुन्छ । 

उदाहरणको लागि, सञ्चालक समितिमा पुरुषहरुले महिला सञ्चालक वा पदाधिकारीहरुलाई नामको पछाडि ‘जी’ लगाएर बोलाउनुहुन्छ तर महिलाहरुले भने पुरुषहरुलाई ‘सर’ भनेर बोलाउनुहुन्छ । यस्तो भेदभाव किन ? पुरुषहरु जति सबै ‘सर’ रे कस्को कहाँको सर हो उहाँहरु थाहा छैन, महिलाहरु चाहि ‘जी’ रे ? कि सबै ‘सर म्याडम’ हुनुपर्यो कि सबै ‘जी’ हुनुपर्यो । 

आइसीएमा प्रतिनिधित्व गरेर पनि होला, देश विदेशको अनुभवले पनि हुनसक्छ, यस्ता विषयले छुन्छ । दिगो विकासको लक्ष्यले पनि २०३० सम्म राज्यका हरेक तह खासगरी उपल्ला तहमा महिला सहभागिता र अधिकार ५० प्रतिशत अर्थात् बराबरीमा पुरयाउने लक्ष्य लिएको बेला, हामीकहाँ देखिने विभेदले मलाई पोल्छ । गलत गरेको छैन र आफु वा महिलाहरुमाथि अन्याय भएको छ भने सहन्न । म कसैलाई भन्न डराउने व्यक्ति होइन ।

फुर्सद मिल्दा कसरी समय बिताउनुहुन्छ ?
मलाई सफासुग्घर एकदमै चाहिन्छ । कार्यालयदेखि घरका कोठाचोटा एकदमै सफा राख्नुपर्छ । ‘डेकोरेसन’मा समय बिताउँछु । नयाँ नयाँ फुलहरु ल्याउने, रोप्ने, गोडमेल गर्ने, स्याहार गर्ने काम आफै गर्छु । खाना पकाउने काम गर्छु । त्यसबाहेक धेरै अध्ययन गर्छु । पार्टीकै पुस्तकदेखि राष्ट्रिय अन्तर्राष्ट्रिय सहकारीका गतिविधिहरुबारे अपडेटेड हुन्छु । अध्ययन गरेन भने बोल्न सकिदैन, यो मैले अनुभव गरेको कुरा हो ।

व्यस्तताले उत्पन्न हुने स्वाभाविक तनाव कसरी व्यवस्थापन गर्नुहुन्छ ?     
हिजोआज जिम्मेवारी र व्यस्तताका कारण तनावमा भइन्छ । त्यसैले ध्यानपूर्वक सुन्न नपाएपनि बिहान घरमा सधै भजन बज्छ, गायत्री मन्त्रदेखि गणेशस्तोत्र, दुर्गास्तोत्र आदि पाठ गर्छु । पुराना गीतहरु सुन्छु । टेलिभिजनमा कपिल शर्मा, करोडपति र इन्डियन आइडल आदि कार्यक्रम हेर्छु । यी कार्यक्रमहरुले तनाव व्यवस्थापनमा निक्कै सहयोग पुग्छ । महासंघमा पनि तनाव व्यवस्थापनका तालिमहरु भैरहन्छन् । यति हुँदाहुँदै पनि धेरै जिम्मेवारी परिवारलाई समय दिनुपर्ने आदि कारण समय व्यवस्थापनमा कठिनाई महसुस गर्छु । त्यसकारण कहिलेकाही आत्तिन्छु । 

सहकारी प्रवेश कहिले र कसरी भयो ?
२०५५ सालमा २५ जनाले प्रतिव्यक्ति ५ हजार रुपैयाँ जम्मा गरेर रिलायबल बचत तथा ऋण सहकारी संस्था लि. दर्ता गरी अभियानको यात्रारम्भ गरेकी हुँ ।  त्यसयता आजपर्यन्त अविश्रामित काम गरिरहेकी छु । हाल उक्त संस्थाको म प्रमुख सल्लाहकार छु । २०५८ सालमा रिलायबलको अध्यक्ष भएँ । त्यतिबेला डुब्न लागेको रिलायबल संस्थामा आँट गरेर अध्यक्ष भएँ । त्यसबेला सहकारीवृत्तमा मेरो चर्चा बढी नै भएको थियो ‘डुब्न लागेको सहकारीमा एउटा महिला आएर अध्यक्ष भएको’ भनेर ।

भारतबाट सहकारीमा डिप्लोमा कोर्ष गर्नुभयो होइन ?
हो, सहकारी मुभमेन्टको तर्फबाट सहकारी डिप्लोमा कोर्ष गर्ने नेपालको पहिलो अभियन्ता हुँ । नयाँ बानेश्वरमा बस्ने मेरो कानुनी सल्लाहकार सुमन पौडेलमार्फत दिपक प्रकाश बाँस्कोटासरसँग चिनजान भयो । उहाँ महासंघको अध्यक्ष भएको बेला भारतले सन् २००५ अर्थात् २०६१ सालमा पहिलो पटक नेपाललाई ‘डिप्लोमा इन कोअपरेटिभ एजुकेशन म्यानेजमेन्ट कोर्ष’ अन्तर्गत ५ वटा छात्रवृत्ति कोटा उपलब्ध गराएको थियो । बाँस्कोटा सरले नै मलाई कोर्ष गर्न प्रेरित गर्नुभयो । अभियानको तर्फबाट म, राष्ट्रिय सहकारी बैंकबाट अशोक शिवाकोटी, राष्ट्रिय सहकारी महासंघबाट गोपीकृष्ण भण्डारी, प्रारम्भिक सहकारी संस्थाबाट लता र मिनु गएका थियौं । भारतमा पनि एकदमै अनुशासित विद्यार्थी भनेर चिनिएँ र ७१ प्रतिशत भन्दा माथि ल्याएर कोर्ष उत्तिर्ण गरेँ ।

सहकारीको विगत र आगतमा के कस्ता परिवर्तन पाउनुभएको छ ?
आकाश जमिनको फरक छ । मैले सहकारी सुरु गर्दा यस विषयमा जनचेतना थिएन । हामीले नै कम बुझेका थियौं । आज बुझाइमा व्यापकता छ । प्रविधिको विकास भएको छ तरसँगै जोखिम बढ्दै गएको छ ।

तर भन्नै पर्ने कुरा के छ भने, आज पनि विभिन्न क्षेत्रका शीर्ष निकायमा रहेकाहरुलाई सहकारीले साँच्चिकै के काम गर्छ, मुलुकको विकासमा यस्तो के कस्तो भूमिका छ भन्ने कुरामा स्पष्टता छैन भन्ने लाग्छ । केही सहकारीहरुले बाटो बिराए वा बद्मासी गरे भन्दैमा, सञ्जालभित्र आबद्ध नभई पारिवारिक घेराभित्र सीमित भए वा आर्थिक अपचलन गरे भन्दैमा, सबै सहकारीलाई एउटै डालोमा हाल्ने काम सही होइन भन्ने लाग्छ । अरु देशमा सहकारीलाई कुन रुपमा हेरिन्छ, के काम गरेका छन् भन्ने बुझेर अध्ययन गरेर मात्र यसको भूमिका र सम्भावनाका बारेमा धारणाहरु बनाउनुपर्छ भन्ने लाग्छ ।


 
जिल्ला संघको औचित्य र भूमिकाका सम्बन्धमा तपाईको विचार ?
संघीय संरचनाहरु बलियो भएपछि, प्रदेशस्तरीय संरचनाहरु बलियो भएपछि जिल्ला संघको औचित्यका बारेमा सोच्न सकिन्छ, तर अहिले नै त्यो बेला भएको छैन । अहिले त केही प्रदेशमा मात्र संघ गठन भएका छन् भने उनीहरुको भूमिका नै देखिएको छैन ।

महासंघ र अन्य विषयगत तथा प्रादेशिक र जिल्ला संघहरुबीचको सम्बन्धलाई कसरी विश्लेषण गर्नुहुन्छ ?
महासंघको भूमिका विगतको भन्दा बलियो र सबैलाई मिलाएर लाने अभिभावका रुपमा अघि बढेको छ । विगतमा सबै विषयगत केन्द्रीय निकायहरुले एक्लाएक्लै लबिङ गर्दै आएकोमा पछिल्लो केही वर्ष यता महासंघको पहलमा एकद्धार प्रणाली अनुरुप बहसपैरवी अगाडि लानुपर्छ भन्ने काममा सहमति भएको छ । यसले मुभमेन्टलाई नै बलियो बनाउँछ ।  यद्यपि, अझ पनि कहीकहीबाट एक्लै हिड्ने वा केही काम गर्ने भैरहेको छ ।

कोभिडका कारण नेपालमा मात्र होइन विश्वले नै अब नीजि व्यवसायहरु पनि सामुदायिकमा परिणत हुनुपर्छ भन्ने मान्यता स्थापित हुँदै आएको अवस्थामा एक्लै एक्लै दौडिएर कही पुगिदैन । इफ्कोले पैसा दिएर नै आइसिए चल्छ तर आइसीएको महत्व छैन त ? विश्वमा लबिङको पुरै काम गर्ने एउटै निकाय आइसीए मात्रै हो । त्यसैले हामी बढी कारोबार गर्छौ, हाम्रो स्रोत बढी छ भन्नुभन्दा पनि महासंघ हाम्रो अभिभावक हो, हामी एकै धारमा जानुपर्छ भन्ने कुरा सबै केन्द्रीय संघहरुले बुझ्नु जरुरी छ ।

हरेक केन्द्रीय संघ, प्रदेश र जिल्ला संघहरुको दुःखमा महासंघले पनि मेरै सन्तान वा परिवारको दुःख हो भन्दै अभिभावक भएर समाधानका लागि नेतृत्व गर्नुपर्छ भनेर दायित्व निर्वाह गर्नुपर्छ । महासंघको सञ्चालक समिति एक ढिक्का भएर पुरै मुभमेन्टलाई नेतृत्व दिनसक्नुपर्छ । त्यसमा केही कमी भएको हुनसक्छ तर महासंघ प्रयासरत छ । कोभिडले पनि हामीलाई काम गर्न केही कठिनाई भयो । जति सक्रियतापूर्वक कामहरु हुनुपर्ने हो हुन सकेन ।

महासंघ बहसपैरवी भन्दा पनि ‘बिजनेश ओरियन्टेड’ बढी भयो भन्ने बाहिर सुनिन्छ नि ? यो आलोचना हो कि स्याबासी हो ?
तपाईले भन्नुभएको कुरा सही हो । बाहिर विभिन्न फोरमहरुमा यो कुरा पछिल्लो केही वर्षदेखि उठ्दै आएको छ । हिजो जिल्ला तहबाट नेतृत्व गर्दै आएका, त्यही केन्द्रीय संघबाट नेतृत्व गरेर आउनुभएका र गरिरहनुभएकाहरु अहिले महासंघको बोर्डमा हुनुहुन्छ । तर बोर्डमा यो विषय एजेन्डा बन्दैन । महासंघले कुन तहको तालिम सञ्चालन गर्ने, विषयगत केन्द्रीय संघ, प्रदेश र जिल्ला संघले कुन तहको चलाउने, कस्ता कस्ता सहभागी राख्ने भन्ने विषयमा हामीले छलफल चलाउन सक्छौं । मुभमेन्टको भलाईको लागि महासंघले कस्तो भूमिका खेल्नुपर्छ, त्यही अनुसार काम गर्नुपर्छ । । जहाँसम्म बिजनेशको कुरा छ, महासंघ स्वर्गबाट झेरर टपक्क खडा भएको निकाय होइन । यो पनि त आफ्नो खुट्टामा उभिनुपर्यो नि ।

सञ्चारमाध्यमसँगको सम्बन्ध कस्तो छ ?
सबै सञ्चारमाध्यमका साथीहरुलाई एकदमै स्नेह र सम्मान गर्छु तर मेरो कमजोरी भन्नुपर्छ म उहाँहरुसँग निरन्तर सम्पर्कमा रहन्न जसले गर्दा उहाँहरुलाई ‘यसले वास्ता गरिन’ भन्ने लाग्न सक्छ, जुन कुरा मैले ‘रियलाइज’ गरेकी छु र आगामी दिनमा सम्बन्ध सन्तुलित राख्ने प्रयास गर्नेछु । 

सहकारीलाई नै कर्मक्षेत्र बनाएर सञ्चालनरत सञ्चारमाध्यले सहकारी क्षेत्रका नवीनतम गतिविधिहरु, राष्ट्रिय अन्तर्राष्ट्रिय अभ्यास, इतिहासको उत्खनन, वर्तमानको वस्तुस्थिति र भविष्यको सम्भावनाहरु औंल्याइदिनुपर्छ जस्तो लाग्छ । यस क्षेत्रमा के कस्ता व्यक्तिहरुले के कति योगदान दिएका छन् भन्ने कुराको सही वस्तुनिष्ठ र निष्पक्ष मुल्याङ्कन गर्ने त पत्रकार साथीहरु हो भन्ने मलाई लाग्छ । यद्यपि, सहकारी क्षेत्रकै विकासका लागि राष्ट्रिय अन्तर्राष्ट्रिय स्तरमा काम गरिरहेकी छु भने,म पनि उहाँहरुको समाचार वा खोजको विषय बन्छु नि भन्ने पनि लाग्छ ।

आज पनि सहकारीको उपल्लो नेतृत्वमा रहेकाहरुको संस्था पारिवारिक जस्तो बनेको छ, पदहरु परिवार र आफन्तको सीमित घेराभित्र अटाएको छ । मेरो संस्थामा मेरो परिवारमा अरु कोही राखिन । ‘लीडरशीप’ दक्षता कामबाट प्रमाणित गर्ने कुरा हो । हामीले बनाएको नियम कानुन पहिला आफुले पालना गरेर उदाहरण प्रस्तुत गर्नुपर्छ । फेरि म सहकारी ऐन निर्माणदेखि अन्य नीति नियम तर्जुमाका चरणहरुमा प्रत्यक्ष अप्रत्यक्ष सहभागी भएकोले पनि आफु ‘रोल मोडल’ बन्नुपर्छ भन्ने लागेर नै रिलायबल एकीकरण गरेँ, जोसँग एकीकरण भयो उक्त संस्थाबाट मलाई नै अध्यक्ष बन्न प्रस्ताव आएको थियो, तर मैले उक्त संस्थाकै अध्यक्षलाई नेतृत्व लिन आग्रह गरेँ । धेरै तहमा बस्न पनि हुन्न । तर यी कुराहरु समाचार योग्य बनेनन् । मैले गरेको राम्रो काम समाचार बन्नुपर्यो र यदि मैले बद्मासी गरे भने त्यो पनि समाचार बन्नुपर्यो भन्ने मलाई लाग्छ ।

पत्रकारले आँखा खुलाइदिने काम गर्नुपर्छ । पत्रकार हाम्रा लागि तेस्रो नेत्र हो । जुन समाचार बन्दा अरुलाई पनि उत्साहित बनाओस्, प्रेरणा प्रदान गरोस्, प्रशंसा गरोस् त्यस्ता सामाग्री पनि खुराक बन्नुपर्छ र त्यस्ता सामाग्री वा कामहरु खोजी खोजी प्रकाशन प्रसारण गर्नुपर्छ भन्ने पनि लाग्छ ।

अर्को उदाहरण, जिल्ला कृषि सहकारी संघ लि. ललितपुरमा आजभन्दा ३ वर्षअघि निर्विरोध अध्यक्ष भएँ, राजनीतिक कारणले ६ वर्ष ताला लागेको मृतप्रायः संघलाई पुनर्जिवन दिएको छु । नेतृत्व लिएको एक महिनामा केशब बडालसरलाई लगेर कार्यालय उद्घाटन गराएँ । हामीसँग ६ आना जग्गा छ, प्रदेशबाट पनि अलिकति बजेट प्राप्त भएको छ, अब भवनको तयारीमा छौं । यी विषयहरु समाचार बन्दैनन । समाचार ‘बनाउने’ भन्दा पनि ‘बन्ने’ हो जस्तो लाग्छ मलाई ।

राष्ट्रिय सहकारी महासंघले पनि एकीकरणमा जोड दिनुपर्छ भनेको अवस्थामा जिल्ला संघतहमा जसले पहिले एकीकरण गर्छ, त्यसलाई सहयोग गर्ने भनेर ५ लाख रुपैयाँ बजेट विनियोजन गर्यौं । कसैको निवदेन परेन । केही वर्षदेखि लेखापरिक्षण नभएको ललितपुर जिल्ला च्याउ उत्पादक सहकारी संघ लि. सँग समन्वय गरेर एकीकरण गरेँ । महासंघले छुट्याएको बजेट कसैले नलिए ‘फ्रिज’ हुन्थ्यो, अरुको निवदेन परेन, हामीले पायौ, तर कतिपय व्यक्तिहरुले ५ लाख लिन महासंघकै सञ्चालक हुनुपर्छ भनेर भनेर प्रतिक्रिया व्यक्त गर्नुभयो जुन कुराले मलाई दुःख्यो । महासंघबाट पनि त्यो विषयमा प्रष्ट पार्ने काम भएन । त्यो त बोर्डले निर्णय गर्ने कुरा हो । व्यक्तिले भनेर हुँदैन, अरु कसैको निवदेन परेन, फ्रिज हुने रकम मेरो संघले प्राप्त गर्यो, संघलाई क्रियाशील बनाउने काम गर्यो भनेर कतैबाट भनिएन । राम्रो कामहरु न्यूज बन्नुपर्छ ।

मैले योगदान नगरेको भए, आइसिए ग्लोबल र एसिया प्रशान्तको वेबसाइट र कोप् न्यूजका प्रन्टलाइनमा समाचार बन्दैनथे होला ? त्यसका लागि त मैले कसैलाई भन्नुपरेन ? मैले गरेको कामको आधारमा समाचार बनेँ ।

सहकारीमा युवा पुस्ताको आकर्षण कसरी बढाउने ?
विगतमा आइसीले महिला समानताको कुरालाई बिशेष जोड दिएको थियो । पछिल्लो समय युवालाई पनि आइसीएले जोड दिएको छ । सन् २०२० मा पहिलोपटक ‘इन्टरनेशनल युथ फोरम’ मलेसियामा भयो । अब युवासँग सहकारी आबद्ध हुनुपर्छ भन्ने सन्देश दिन त्यो फोरम आयोजना गरिएको थियो । त्यसअघि पनि आइसीएले प्रत्येक देशका आफ्ना सदस्य सहकारीका निकायहरुलाई ‘युथ कमिटी’ बनाउन लगाएको थियो । 

विश्व सहकारी इतिहासमा हामी पछाडि छौं ।  आइसीए स्थापनाको १ सय २ वर्षपछि मात्र हामी आइसीएको सदस्य बन्यौं । छिमेकी भारतको सहकारी इतिहास हाम्रो भन्दा करिब १ सय बर्ष पुरानो छ । त्यसकारण हामी आत्तिनुपर्ने नै होइन तर यतिले पुग्दैन । ‘मेरो मान्छे’ भन्दा ‘राम्रो मान्छे’ सहकारीमा ल्याउनुपर्छ । उर्जाशील युवाहरु सहकारीमा सहभागी गराउनुपर्छ ।

अहिले सहकारीमा सबैभन्दा बढी युवाहरु सहभागी भएको देश सिङ्गापुर र इटाली हो । इटालीमा पर्यटन सहकारी सबैभन्दा बढी फस्टाएको छ । त्यहाँ लथालिङ्ग अवस्थामा रहेका ऐतिहासिक, साँस्कृतिक र पुरातात्विक महत्वका स्थानहरुलाई अहिले अधिकांश युवा र महिलाहरु सहभागी सहकारीहरुले ‘हायर’ गरेर पुनर्निर्माण गरी व्यावसायिक पर्यटनका नयाँ आयामहरु खोज्ने काममा जुटेका छन् । यस्ता कामहरु यहाँ पनि गर्न सकिन्छ । मैले पूर्व पर्यटन मन्त्री योगेश भट्टराईसँग यो विषय राखेकी थिएँ, उहाँले छलफल गरौला भन्नुभएको थियो, केही समयपछि सरकार परिवर्तन भयो । राजनीतिक अस्थिरताले पनि सहकारी विकासमा बाधा पुर्याइरहेको छ ।

अर्को कुरा, मेरो झोलामा अहिले ५ सय रुपैयाँ पनि छैन । एटीएममा गएर पैसा झिक्न पनि कतिपय अवस्थामा भ्याइँदैन । क्रेडिट कार्डले धेरै ठाउँमा चल्छ, अन्यत्र मोबाइल बैंकिङ छ, भनेपछि सहकारीका युवा सदस्यहरु अब प्रविधिमैत्री सेवा चाहन्छन् । यो विषयलाई हामीले सम्बोधन गर्नैपर्छ ।

त्यस्तै, सहकारीका विषयमा युवाहरुलाई चाहिने जति शिक्षा छैन, अर्को प्रविधिमा युवाको अपेक्षाअनुरुप फड्को मार्न सकेका छैनौं । सहकारीमा मेरो भविष्य सुरक्षित छ,  भन्नेमा युवाहरु आश्वस्त नभएसम्म उनीहरुको उल्लेख्य सहभागिता हुँदैन । सहकारी अभियन्ताहरुकै सन्तानहरु पनि किन आज यो क्षेत्रमा आकर्षित भैरहेका छैनन त ? सही हो, त्यो ‘अस्युरेन्स’ हामीले उपलब्ध गराउन सकेका छैनौं । प्रश्न गर्ने ठाउँ छ नि । अर्को सहकारीको संख्या धेरै भयो, एकीकरणमा जानै पर्छ जसले गर्दा न्यून लागतमा ठूलो र प्रविधिमैत्री कारोबार तथा मुनाफा वृद्धि सम्भव हुन्छ । यसले गर्दा प्रविधिमा पनि राम्रै खर्च गर्न सक्ने सामथ्र्य विकास हुन्छ ।

भर्खरै त्रिभुवन विश्व विद्यालयसँगको सहकार्यमा सहकारी विषयमा स्नातकोत्तरका कक्षा सञ्चालन गर्ने सम्झौता भएको छ, विद्यालयस्तरमा ९, १०, ११ र १२ मा । पाठ्यक्रम विकास केन्द्रले करिकुलम विकास गरेको छ, सहकारी पढाइ हुन्छ, जुन मेरै नेतृत्वमा भारतको मैसुर विश्वविद्यालय, बैंगलोर, दिल्लीका विश्वविद्यालयहरु भ्रमण गरी सम्भावव्यता अध्ययन गरेका थियौं । अर्कोतर्फ काठमाडौं विश्वविद्यालयसँगको सहकार्यमा ६ महिनादेखि १ वर्षको ‘डिप्लोमा इन कोअपरेटिभ म्यानेजमेन्ट कोर्ष’ चलाउँदैछौं । 

सहकारी क्षेत्रमा तपाईको आर्दशको हुनुहुन्छ ?
दिपक बाँस्कोटा सरसँग काम गर्ने मौका नपाएपनि डिप्लोमा कोर्ष गर्न र सहकारी क्षेत्रमा लाग्न प्रेरणा दिने, सबैलाई मिलाएर लानुपर्छ भन्ने सिकाउने सम्मानित व्यक्ति हुनुहुन्छ । आइसीए र आइसीए एपीमा, नेड्याकमा उहाँले सदस्यता दिलाउनुभयो, त्यहाँका व्यक्तित्वहरुलाई नेपालमा ल्याउने काम गर्नुभयो । त्यस्तै, केशब बडाल सरसँग धेरै कुराहरु सिक्ने मौका पाएँ, परिपक्व भएँ, जुन क्षेत्रमा लाग्ने हो त्यसमा पुर्ण समर्पण भावका साथ लाग्नुपर्छ र केही दिनुपर्छ भन्ने सिकाउनुभयो, निःस्वार्थ खट्न सिकाउनुभयो ।

हालसम्म सहकारीलाई माया गर्ने मन्त्री को पाउनुभयो ?
विभागीय मन्त्री नभएपनि भरतमोहन अधिकारीले सहकारी क्षेत्रलाई निक्कै माया गर्नुहुन्थ्यो । हाल कार्यबाहक प्रधानमन्त्री बालकृष्ण खाँड पनि सहकारीप्रति निक्कै सकारात्मक हुनुहुन्छ, उहाँ महासंघको सल्लाहकार पनि हुनुहुन्छ । शक्ति बस्नेत, स्वर्गीय पशुपति चौलागाई आदिको सहकारी क्षेत्रप्रति सधै सद्भाव पाएकी छु ।

तपाईलाई मनपर्ने सहकारी सचिव ?
गोपीनाथ मैनाली जस्तो अरु मैले पाइन । आइसीएको ग्लोबल बोर्ड बैठकमा सहभागिताका लागि जाने बेलामा मलाई गर्नुभएको सहयोगदेखि सहकारी क्षेत्रका विविध मुद्दाहरुमा सधै उहाँ सकारात्मक रहँदै आउनुभएको छ । उहाँप्रति मेरो सधै आदरभाव रहन्छ ।

सहकारी रजिष्ट्रारहरुमध्ये साँच्चिकै केही गर्रौ भन्ने को पाउनुभयो ?
डा. टोकराज पाण्डेले सहकारी क्षेत्रमा केही गर्न खोज्नुभयो । सन्दर्भ ब्याजदर लागू गर्ने, सहकारीको विवरण र तथ्याङ्क सार्वजनिक गर्ने आदि केही राम्रा कामहरु उहाँले गर्नुभयो । केही गरौं भन्न खोज्ने हुनुहुन्थ्यो उहाँ ।

आइसीएसँगको संलग्नतालाई कसरी हेर्नुहुन्छ ?
सन् २०१७ नोभेम्बर १७ मा मलेशियाको क्वालालम्पुरमा भएको अन्तर्राष्ट्रिय सहकारी महासंघ (आइसीए) को निर्वाचनबाट ग्लोबल बोर्ड सदस्य निर्वाचित भएँ । त्यसले विश्व सहकारी आन्दोलन नजिकबाट नियाल्ने मौका पाएँ  र नेपालको सहकारी अभियानलाई पनि विश्व सामु चिनाएँ । गर्व पनि लाग्छ । हामीले संविधानमा सहकारी लेख्न सफल भएपनि, विश्व मञ्चमा हाम्रो उपस्थिति दह्रो हुन सकेको छैन । मैल आफ्नो तर्फबाट ‘एक्टिभ बोर्ड अफ डाइरेक्टर’को रुपमा राखेकी छु तर आर्थिक योगदान विना सधै प्रभावशाली उपस्थिति जनाउन सकिदैन । यो मैले बुझेँ ।  र जति माथि पुग्दै गएँ त्यति संवेदनशील बन्दै गएँ । विश्व सहकारी अभियान जति देखेँ त्यति डर पनि बढ्दै गएको छ फेरि ।आजसम्म ३१ वटा मुलुक भ्रमण गरीसकेकी छु ।

आइसीएको संरचना र बजेटका विषयमा केही बताइदिनुहुन्छ कि ?
आइसीए ग्लोबल बोर्डमा अध्यक्षसहित १६ जना प्रत्यक्ष निर्वाचित सञ्चालकहरु हुन्छन् । ४ वटै महादेशका अध्यक्षहरु त्यहाँ पदेन उपाध्यक्ष रहन्छन् । ‘महिला तथा लैङ्गिक’ अनि ‘युवा समिति’ बाट गरी २ जना र बैंङ्किङ, आवास, कृषि तथा मत्स्य, बीमा, स्वास्थ्य, उद्योग कला तथा सेवा, आदि गरी विभिन्न विषयगत ८ वटा समितिहरु बाट छानिएर ४ जनाको प्रतिनिधित्व हुन्छ । यसले प्रत्यक्ष व्यवसाय वा अन्तरलगानी गर्दैन । आइसीएलाई युरोपेली युनियन (इयू) ले कुल बजेटको २० प्रतिशत रकम उपलब्ध गराउँछ, ५१ प्रतिशत खर्च सदस्यताबाट उठ्छ र अरु ‘डोनेशन’बाट चल्छ । 

आइसीए बैठकहरुमा निर्णय लिदाँ प्रत्येक एजेन्डामा ३ पटक हात उठाउने व्यवस्था हुन्छ, पक्षमा हुनेले ‘हुन्छ’, विपक्षमा हुनेले ‘हुन्न’ र अनुपस्थित रहने वा मत दिन नचाहनेले ‘अ्याब्सेन्ट’ भन्न पाउने व्यवस्था छ । त्यसैकारण, आइसीए साँच्चिकै प्रजातान्त्रिक निकाय लाग्छ । सहकारीलाई किन प्रजातान्त्रिक संस्था भन्दो रहेछ भन्ने कुराको खास अनुभूति आइसीएबाट थाहा पाएँ ।

सहकारीको साझा विश्व मञ्चको सञ्चालक समिति अर्थात् नीति निर्माण तहमा नेपालको तर्फबाट पहिलो र गौरवपूर्ण उपस्थिति जनाउने सफल सहकारीकर्मी बन्नुभएको छ ? सन् २०१७ देखिको हालसम्मको कार्यकालको स्वमुल्याङ्कन कसरी गर्नुहुन्छ ? 
सहकारी नियम, काुनन सिद्धान्त, मुल्य मान्यता आदि निर्माण गर्ने ठूलो प्लेटर्फम हो आइसीए । मैले बारम्बार भन्दै आएकी छुँ, ‘नेपाल आइसीए ग्लोबलमा पुग्ने बेला भएको छैन ।’ म संविधान सभा सदस्य भएको कारण, देशको मुल कानुनमा सहकारीको महत्व स्थापित गर्ने भूमिकामा प्रत्यक्ष संलग्न भएको कारण त्यहाँ पुगेँ, जनप्रतिनिधिहरुलाई उनीहरुले ठूलो सम्मान दिन्छन् त्यसैले हो, अन्यथा आइसीएमा पुग्न सकिदैनथ्यो ।

त्यहाँ पुगेपछि कोभिडले हामीलाई असहज तुल्यायो । यद्यपि, मैले आफुलाई सक्रिय सञ्चालकको रुपमा उभ्याउन सफल भएँ । २ वर्षअघि रुवान्डाको किगालीमा पनि समापन समारोहमा ‘पीस एन्ड ह्युमानिटिज्’को विषयमा १२ मिनेटको सम्बोधन गर्न दिइएको थियो । त्यो विरलै प्राप्त हुने मौका थियो । त्यसबेला मैले माओवादी द्धन्दकाल र सहकारी अभियानको भूमिका विषयमा बोलेकी थिएँ । नेपाललाई चिनाउने काम गर्यो त्यसले । म ‘एक्टिभ’ नभएको त्यो प्लेटफर्म प्राप्त हुँदैनथ्यो ।

‘क्लाइमेट एक्सन’ को बारेमा मैले बोल्दाखेरि गत सालको सहकारीको थिम नै राख्न मैले भूमिका खेलेको थिएँ । नेपाल भन्ने देश चिनाएँ, नेपाल पनि आइसीए ग्लोबल बोर्डमा सहभागी बन्न सक्ने ल्याकत राख्दछ भन्ने प्रमाणित गरेँ । नेपालका भएका महत्वपूर्ण सहकारी अभियानका बारेमा मैले महत्वपूर्ण बैठकहरुमा विश्व सहकारी अभियानलाई जानकारी गराएकी छु । संघीय संरचना र त्यसअनुरुप विकेन्द्रीत सहकारी अभियान र गतिविधिका बारेमा ‘अपडेटेड’ गराएकी छु । त्यो नै महत्वपूर्ण कुरा हो भन्ने लाग्छ । नेपालका बचत तथा ऋण सहकारीहरु एशिया प्रशान्त क्षेत्रीय ‘ब्रान्डिङ’ कार्यक्रममा आबद्ध भई स्तरीकृत भएका छन् भन्ने कुराहरु विश्वलाई बुझाएकी छु । सरकारसँग मिलेर काम गरेका छौं भनेर ‘बिफ्रिङ’ गराउँछु । अमेरिका, ब्राजिल र चीनका सहकारी निकायहरुसँग महासंघको सम्पर्क स्थापित गराएकी छु । 

यो परिचय ओमेदवीको मात्र होइन नेपाल र यहाँको सहकारी अभियानको परिचय फराकिलो बनेको हो । नेपालका संगिन नीतिगत एवम् अन्य मुद्दाहरुमा आइसीएलाई हामीले आग्रह गर्यौ भने विज्ञप्ति जारी गरी नेपाल सरकारको ध्यानाकर्षण गराउने काम गर्छ तर यसमा हामीले उनीहरुलाई जानकारी गराउनुपर्छ ।

तपाईको भविष्य खासगरी आइसीए ग्लोबल र महासंघलाई जोडेर कस्तो देख्नुहुन्छ ? योजना के छ ?
हाल आइसीए एशिया प्रशान्तको चुनाव आउँदैछ । आइसीए एपीमा यो पटक मिनराज सरले दाबी प्रस्तुत गर्नुभएको छ, हाल बडाल सर हुनुहुन्छ । आइसीए ग्लोबलको निर्वाचन भने सन् २०२२ को २० जुनमा स्पेनको बिल्बाओमा हुँदैछ, जसलाई स्पेनी श्रमिक सहकारीहरुको महासंघ (COCETA) ले आयोजना गर्दैछ । आइसीए ग्लोबलको निर्वाचनका बिषयमा अहिलेनै निर्णय भैसकेको छैन, समयको माग के कस्तो हुन्छ त्यसमा भर पर्छ ।

जहाँसम्म महासंघको कुरा छ, २ वर्षपछि हुने निर्वाचनमा, मलाई अध्यक्ष बन्न असहयोग वा असमझदारी हुन्छ भन्ने लाग्दैन । ४९ वर्ष प्रवेश गरेँ, २४ वर्ष सहकारीबाहेक अरु कुनै पेशा गरिनँ, जागिर, व्यापार वा अन्य क्षेत्रसँग संलग्नता छैन । सहकारीमा नेतृत्व तहमा बसेर भारतबाट डिप्लोमा, जापानबाट तालिमदेखि अन्य सबै किसिमका औपचारिक शिक्षा लिने असल विद्यार्थी पनि म हुँ, अर्को म महिला र जनजाति पनि हुँ यि सबै कारणले गर्दा म महासंघको भावी अध्यक्ष हुँदा अन्याय नै हुन्छ भन्ने लाग्दैन । बडाल सर मिनराज सरदेखि सबैजनाको सहयोग र सद्भाव मिल्छ भन्नेमा म विश्वस्त छु । महासंघको सञ्चालक, उपाध्यक्ष र बरिष्ठ उपाध्यक्ष हुँदासम्म निर्विरोध निर्वाचित भएर आएकी हुँ । म सिष्टम अनुसार आएकी छु । मैले अब म महासंघको अध्यक्षको दाबेदार हो भन्नुपर्छ जस्तो लाग्दैन, म स्वतः त्यसको हकदार हुँ । दिगो विकास लक्ष्य (एसडीजी) ले पनि उपल्ला निकायमा महिला सहभागितामा बिशेष जोड दिएका कारण पनि सबै हिसाबले महासंघको पहिलो महिला अध्यक्षको दाबेदार हुँ ।

दक्षिण कोरियाको राजधानी सोलमा हुने विश्व सहकारी सम्मेलनको तयारी कस्तो हुँदैछ ?
आइसीएको १ सय २५ औं वार्षिक साधारण सभा र ३३ औं विश्व सहकारी सम्मेलन दक्षिण कोरियाली राजधानीमा हुँदैछ जसको तयारी जोडतोडका साथ भैरहको छ । कोभिडका कारण १ वर्ष पछि धकेलिएको हो ‘सम्मेलनको अन्तिम चरणको तयारी हुँदैछ । अनुसन्धान समितिका सदस्यहरु सोल पुगिसक्नुभएको छ । यो पटक हाइब्रिड मोडल’मा सम्मेलन गरिदैंछ । अक्टोबर २१ मा पछिल्लो बैठक सम्पन्न भयो । म ‘गभर्नेन्स’ र ‘आइडेन्टीटी’ गरी दुई ‘भाइटल’ समितिमा छु । सबै समितिहरुले आफ्नो तर्फबाट छलफल गर्ने र एजेन्टा तयारी गर्ने काम भैरहेको छ । नोभेम्बर २९ तारिखमा आइसीए ग्लोबलको बोर्ड बैठक छ । २९ र ३० मा सबै समितिहरुको बैठक छ । नोभेम्बर ३० मा एशिया प्रशान्त क्षेत्रीय ११ औं महिला मञ्च (फोरम) पनि छ, जसमा म पनि वक्ता छु । १० औं मञ्च ३ वर्षअघि इरानमा भएको थियो जसमा पनि म वक्ता थिएँ । त्यसैगरी, ३० तारिखमा आइसीए एपीको निर्वाचन छ । डिसेम्बर १ देखि ३ सम्म चाहि सहकारी सम्मेलन हुँदैछ ।

यस वर्षको सम्मेलनको थिम ‘Deepening Our Cooeprative Identity’ भन्ने छ । जसले सहकारीका मुल्य मान्यता र सिद्धान्तहरुको परिपालनामा बिशेष जोड दिएको छ । मैले डिसेम्बर २ अर्थात् दोस्रो दिनको Plenary 3 को दोस्रो सत्र वा सेसन For Peace and Equality session को संयोजन तथा ‘चेयर’ गर्दैछु।  साकोस आवाजबाट साभार

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *