एमालेलाई धक्काः बहुमतबाट देशभर प्रतिपक्ष

सम्पादकीय
नयाँ संघीय व्यवस्थाको आगमन र नयाँ संविधान कार्यान्वयनमा आए सँगै नेकपा एमाले देशको पहिलो शक्तिको रुपमा उदायो । नेपालमै पहिलो पटक बाम गठबन्धनले ऐतिहासिक जित दर्ज ग¥यो । र करिब दुई तिहाईको सुविधाजनक बहुमत सहितको कम्युनिष्ट सरकार बन्यो । नेकपा एमाले, नेकपा माओवादी केन्द्रको संयुक्त सरकार बने पछि नागरिकमा नयाँ उत्साह थपियो । त्यही उत्साहकै कारण एमाले माओवादी पार्टी बिच एकीकरण भएर नेपाल कम्युनिष्ट पार्टी बन्यो । सरकारले राखेको सुखी नेपाली, समृद्ध नेपालको नाराले जनतामा अपेक्षा र महत्वकांक्षा बढायो । तर, दुर्भाग्य भन्नुपर्छ, नेकपा सर्वोच्च अदालतको आदेशमा विभाजित भएर पुरानै पार्टी मात्रै बनेन, सुविधाजनक बहुमत प्राप्त केन्द्र सरकारका साथै प्रदेश सरकार समेत ढल्यो ।

झन्डै दुई तिहाइ बहुमत सहित संघीय र सात मध्ये ६ प्रदेश सरकारको नेतृत्व गरेको एमाले आन्तरिक विवादकै चरम सिकार बन्यो । आफ्नै पार्टी भित्रको विवाद व्यवस्थापन गर्न नसक्दा पहिलो दल एमाले केन्द्र र प्रदेश दुवैतिर प्रतिपक्षमा सीमित भएको छ । गत २६ वैशाखमा गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङबाट सुरु भएको सरकार गुमाउने शृंखला सोमबार प्रदेश १ सम्म पुग्दा केन्द्र र प्रदेशको राजकीय सत्तामा एमालेको उपस्थिति शून्यमा झरेको छ । एमाले अध्यक्ष केपी शमौ ओलीको गलत नीति, कार्यशैली र पार्टी भित्रका नेताहरुको अतिवादकै कारण केन्द्रदेखि प्रदेशसम्मका सरकार गुमेर कांग्रेस नेतृत्वमा गठबन्धन सरकार बनेको छ । एमाले नेतृत्वको संघीय सरकार २८ असार, २०७८ मा ढल्यो भने गण्डकी प्रदेश सरकार २६ वैशाख, लुम्बिनी प्रदेश सरकार २७ साउन, बागमती प्रदेश सरकार १० कात्तिक, प्रदेश १ सरकार १५ कात्तिकमा गुम्यो ।

राष्ट्रिय राजनीतिमा ओली नेतृत्वको सरकारले पार्टी र सरकारबीचको सम्बन्धलाई व्यवस्थित गर्न नसकेकै कारण दुई दुई पटक संसद विघटन गरियो । यसले संविधानको भावना, मर्म माथि प्रहार गम्भीर प्रहार त ग¥यो नै, स्थिरता तर्फ उन्मुख नेपाली राजनीति पुनः अस्थिरताकै भूमरीमा फसेको छ । राजनीतिक दल भित्रै र अन्तर पार्टी विवाद, दाउपेच उत्कर्षमा पुग्दा सर्वोच्च अदालत समेत विवादमा तानिएको छ । खासगरी प्रधानन्यायधीश चोलेन्द्र शमशेर जबराले मन्त्री परिषद र संवैधानिक निकायको नियुक्तिमा भागबण्डा खोसे पछि अहिले उनी चरम संकटमा छन् । केन्द्रदेखि प्रदेश सम्मका एमाले नेतृत्वको सरकार बहिगर्मनले एमालेलाई त धक्का दिएको छ नै, जनताको भावना प्रतिकुल अघि बढ्न खोज्दा कसरी सत्ताबाट एकाएक प्रतिपक्षमा पुग्छन् भन्ने राम्रो पाठ सिकाएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *