बढ्न थाले ढोरपाटनमा पर्यटक

डम्मर बुढा मगर, बागलुङ
ढोरपाटन नेपालकै एक मात्र सिकार आरक्ष । तर पनि केही वर्ष अगाडि सम्म सहज सडक सुविधा, होटल, बिद्युत, सञ्चारको अभाव हुँदा चहल पहल कम थियो । पछिल्लो समय भने ढोरपाटनमा सडक सञ्जाल मात्र पुगेन, सञ्चारको पहुँच, सुविधा सम्पन्न होटल र होम स्टे, अरु सुविधा पनि क्रमशः थपिने क्रममा रहँदा ढोरपाटन पुग्नेहरुको संख्या बाक्लो देखिन थालेको छ ।

दुई वर्षदेखि कोरोनाले समेत गलाएको पर्यटनमा ढोरपाटनमा देखिएको पर्यटकहरुको चहल पहलले उत्साहित बनाएको छ । अहिले चाडबाडको समयमा दैनिकजसो आन्तरिक पर्यटकको भिडभाड नै हुने गरेको स्थानीय बताउँछन् ।

उच्च पहाडी क्षेत्रमा रहेको ढोरपाटन शान्त र मनोरम वातावरण, स्वच्छ हावापानी र गाउँले परिवेशका कारण पनि धेरैका लागि आकर्षणको गन्तव्य बनेको छ । हरेक वर्ष हिउँद बर्खा आन्तरिक पर्यटकहरु ढोरपाटन उपत्यकामा घुम्न जाने गर्छन् भने विदेशी पर्यटक साहसिक सिकारका लागि आउने गर्छन् । ढोरपाटनमा विशेष गरि असोज–मंसिर र फाल्गुन–चैत गरि दुई सिजनमा विदेशी पर्यटकहरु सिकार खेल्न आउने गर्छन् । उनीहरु सडकबाट नभई हवाई माध्यम मार्फत ढोरपाटनमा आउने गरेका छन् । उनीहरुलाई सडक मार्फत ढोरपाटन ल्याउनका लागि स्थानीय, प्रदेश र केन्द्र सरकारले ध्यान दिनु पर्ने देखिन्छ ।

दसैं र तिहारको अवधीमा ढोरपाटनमा सयौँ आन्तरिक पुगेका छन् । केही वर्ष अगाडिको तुलनामा यस वर्ष ढोरपाटनमा आन्तरिक पर्यटकहरुको आगमन धेरै भएको स्थानीय गगन पुनले बताउनुभयो । कोरोनाका कारण केही शिथिल बनेको ढोरपाटनको पर्यटन यसवर्ष निकै बढेको बताउनुहुन्छ । विशेष गरि बागलुङ, पर्वत, प्युठान, गुल्मी, बुटवल लगायतका स्थानबाट बढी आउने गरेको उहाँको भनाई छ ।

‘२÷३ वर्ष अगाडिसम्म यति धेरै मान्छेहरु ढोरपाटनमा आएको पाएको थिएन, तर यस वर्ष त निकै धेरै आएका छन्, दैनिक २ सय बढी पर्यटक ढोरपाटनमा आएको मैले पाएको छु, कोही गाडी लिएर आउँछन्, कोही मोटरसाइकल लिएर आउँछन्,’ पुनले भन्नुभयो ‘सडकको सुविधा भएर पनि होला, पहिले जस्तो पैदल हिँड्न परेन, गाडी ढोरपाटनको सबै ठाउँ पुग्छ ।’

पर्यटकको आमगन बढेसँगै ढोरपाटनमा व्यापार व्यवसाय पनि फस्टाउन थालेको छ । पुनले ढोरपाटनमा उत्पादन हुने आलु, स्याउ, सिमी लगायतका उत्पादित वस्तुहरुले समेत उचित मुल्य पाउन थालेको भन्दै ढोरपाटनवासी पनि अब व्यवसायसँग जोडिन थालेको बताउनुभयो । यहाँका नागरिकहरु अझै पनि शिक्षा स्वास्थ्य लगायतका पूर्वाधारबाट वञ्चित भएको भन्दै विकाससँग जोडिए उनीहरुको जीवन नै परिवर्तन हुने उहाँ बताउनुहुन्छ ।

स्थानीय गौमती पुनले ढोरपाटनमा पर्यटकहरुको आगमन बढेसँगै होटल व्यवसाय समेत फस्टाउन थालेको बताउनुहुन्छ । उहाँले गत वर्षहरुमा होटलहरुमा पाहुनाहरुको आगमन न्यून रहेकोमा अहिले निकै बढेको बताउनुहुन्छ ।

‘पोहोर परार साल तिर व्यापार खासै थिएन, होटलमा पाहुना पनि निकै कम आउने गर्थे, अझ कोरोनाले गर्दा झन् व्यवसाय ठप्पै जस्तै थियो, अहिले त मान्छेहरुको आगमन ह्वात्तै बढेको छ, त्यसले गर्दा व्यवसाय पनि राम्रो भएको छ,’ उहाँले भन्नुभयो ‘बर्खादेखि नै मान्छेहरु धेरै आउन थालेका थिए, यो दसैँ र तिहारमा पनि मान्छेहरुको निकै भिड भएको थियो, धेरै ठाउँबाट मान्छेहरु आएका थिए ।’

गुल्मीबाट ढोरपाटन घुम्न आएका ओमकार क्षेत्रीले ढोरपाटन निकै रमणीय रहेको तर त्यहाँ पुग्न सडक निकै अप्ठ्यारो हुँदा सास्ती खेप्नु परेको बताउनुभयो । क्षेत्रीले धेरै पहिलेदेखि ढोरपाटनको बारेमा सुनेको र तिहारको समयमा घुम्न आएको भन्दै सरकारले यहाँ पुग्ने सडकलाई व्यवस्थित बताउनु पर्ने बताउनुभयो ।

‘ढोरपाटन निकै रमाइलो रहेछ, धेरै पहिलेदेखि यसको बारेमा सुनेको थिएँ, तिहारको बेला साथीहरुसँग मिलेर घुम्न आएको बाटो निकै अप्ठ्यारो रहेछ, समस्या भयो, ढोरपाटनसम्म पुग्ने सडक राम्रो हुने भए, धेरै पर्यटकहरु आउने देखिन्छ,’ उहाँले भन्नुभयो ‘यहाँ व्यवस्थित होटल र पर्यटकलाई आकर्षक गर्ने खालका संरचना बनाउने भए विदेशी पर्यटकलाई पनि सहजै भित्राउन सकिने छ ।’

वर्षौँदेखि चर्चामा रहेको ढोरपाटन अझै पनि जनअपेक्षा अनुसार विकास हुन सकेको छैन । सरकारले ढोरपाटन क्षेत्रमा पर्यटनमैत्री विकासका पूर्वाधार निर्माण गरेमा पर्यटन प्रवद्र्धनमा उल्लेख्य टेवा पुग्ने उहाँको भनाई छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *