साधना पन्त, बागलुङ
बैदेशिक रोजगारमा जाने र पैसा कमाउने सोच र सपना अधिकांश युवाको मनमा हुन्छ । कसैका लागि यो रहर बन्छ, अधिक युवाका लागि विदेश बाध्यता । त्यसैले अधिंकाश गाउँ घरमा रोजगारीको शिलशिलामा विदेश नगएको मानिस पाउन मुश्किल हुन्छ । विदेश जाने लहर कायमै रहे पनि विदेश गएर स्वेदश फिरेर आफै उद्यममा लाग्ने, अरुलाई समेत रोजगार दिने संख्या पनि विस्तारै बढ्दो क्रममा छ ।
काठेखोला गाउँपालिका वडा नम्वर ७ देउरालीका ५३ वर्षिय केशव बहादुर कार्की पनि २४ वर्ष पहिला धन कमाउने आशामा साउदी जानुभएको थियो । दलालले साउदीमा फर्निचरकै काम गर्ने भनेर लगेता पनि साउदी पुगेपछि पेट्रोल पम्पमा काम लगाई दिएको र काम गरेको पैसा नदिए पछि ८ महिना सम्म साउदीमै अलपत्र परेको कार्की बताउनु हुन्छ । साउदीको ८ महिना अलपत्र पर्दाको क्षण सम्झदै कार्कीले भन्नुभयो–‘खान नपाएर कति दिन भोक भोकै सुतेको थिए, घर फर्किन्छु जस्तो लागेको थिएन, त्यो दिन सम्झदाँ विदेश कोही पनि नगए हुन्छ भन्ने लाग्दछ ।’ तर, नेपालीलाई विदेश नगए आफ्नो परिवारलाई सोचे जस्तो जीवनशैली र दैनिकी चल्न चलाउन कठिन हुने भएकाले बाध्यता भएको उहाँले बताउनुभयो ।
साउदीबाट दुःख पाएर नेपाल फर्किए पछि पनि बाध्यताले फेरि कार्की कतार पुग्नुभयो । कतारमा ५ वर्ष बसेर आफ्नै ठाउँमा केही गर्नुपर्दछ भन्ने सोच पलाए पछि नेपाल आएर फर्निचर संचालनमा ल्याएको उहाँको भनाई छ । कतारमा कमाएको ६ लाख रुपैयाँ लगानी गरेर फर्निचर गरेर फर्निचर संगै बुबाले चलाउदै आएको कुटानी पिसानीको मिल सञ्चालन गर्नुभयो । जेठो छोरा खिम बहादुर कार्की र श्रीमती कृष्ण कुमारी कार्कीको साथमा अहिले फर्निचर चलाउदै आउनुभएका कार्कीले महिनाको ६० हजार कमाई हुने बताउनु हुन्छ । फर्निचर र मिलबाट कमाएको पैसाले २ छोरा १ छोरीको पठनपाठन र भइपरी आउने सबै खर्च गर्न पुगिरहेको कार्की बताउनुहुन्छ ।
‘पहिला ३ जना कामदार पनि राखेको थिए अहिले जेठो छोराले सघाउन थालेको छ । सानैदेखि काठ दाउराको काम गरेको कारणले सिक्नका लागि अन्यत्र जानु परेन । फर्निचरमा आएका कामदारबाट पनि केही सिकेर अहिले छोरोलाई आफैले सिकाएको कार्की बताउनु हुन्छ । आफुले घर बनाउन चाहिने सम्पूर्ण काठका सामान, घर सजाउन चाहिने सामान, दराज, खाट, कुर्ची आदी सामानहरु बनाउने कार्कीले बताउनु भयो । अहिले सम्म धेरैजसो सामानहरु गाउँमै बिक्री भएका र बागलुङ बजार देखि बुटवल सम्म सामान पठाएको कार्कीले बताउनु भयो । उहाँले गाउँमा फर्निचर सञ्चालन गर्न गाह्रो भएको भन्दै सडकका कारण भनेको समयमा काठ दाउरा र कच्चा पदार्थ ल्याउन नसकिने बताउनुभयो ।
‘पहिला डिजेलबाट संचालन गरेको कुटनी पिसनी मिलमा ६७ सालदेखी बिजुली आएदेखि बिजुलीबाटै संचालन गर्दै आएको छु,’ उहाँले भन्नुभयो,‘पहिला पहिला राम्रो चल्ने मिल अहिले गाउँमा खेतीपाती कम गर्ने र बजारबाट चामाल, पिठो ल्याउने चलन चलेको हुदाँ मिल कम चल्छ ।’ मानिसहरुले कृषि कम गर्ने र बिलासिताको जीवन जिउन थाले पछि गाउँमा परम्परागत रुपमा चल्दै आएका कुटानी पिसानी मिल, ढिकी, जाँतोहरु लोप हुन थालेका छन् ।
‘विदेशमा गएर जे जति दुःख पीडा पाए, पाठ सिके,’ कार्कीले भन्नुभयो,‘ती दुःखहरु यही मिल, फर्निचर व्यवसायले बिर्साएको छ, घर परिवार सँग दुःख सुखमा हातेमालो गरेर जीवन व्यतित गर्न पाउदाको आनन्द र सन्तृष्टि मेरा लागि निकै ठूलो उपलब्धी लाग्छ ।’ फर्निचर पनि बजारमा चलेको नयाँ डिजाइन अनुसारका सामानहरु बनाउन नसके चल्न कठिने हुने बताउनु भयो । आगामी दिनमा फनिर्चरलाई थप व्यवस्थित गरेर गाउँकै युवालाई रोजगार दिने गरी सञ्चालन गर्ने योजना रहेको कार्कीले बताउनु भयो ।