महाधिवेशन प्रतिनिधि चयनका लागि एमाले बागलुङले बनायो निर्वाचन समिति


आदर्श अनलाइन, बागलुङ

पार्टीको राष्ट्रिय महाधिवेशनमा सहभागि हुने प्रतिनिधि चयनका लागि नेकपा एमाले बागलुङले प्रक्रिया अगाडि बढाएको छ ।

पार्टी जिल्ला सचिवालयको मंगलवार सम्पन्न वैठकले पार्टीको जिल्ला निर्वाचन आयोगका अध्यक्ष विष्णु प्रसाद शर्माको नेतृत्वमा १३ सदस्यीय निर्वाचन समिति चयन गरी निर्वाचन प्रक्रिया अगाडि बढाउन निर्देशन गरेको जिल्ला अध्यक्ष इन्द्रलाल सापकोटाले जानकारी दिनुभयो । समितिका अधिवक्ताहरु हरिप्रसाद शर्मा, राजु गौतम, राम शर्मा लगायत रहेको एमालेले जनाएको छ ।

एमालेले आगामी मंसिर १० देखि १२ गतेसम्म हुने दशौ राष्ट्रिय महाधिवेशनका लागि कात्तिक २७ गते देशभर एकैसाथ प्रतिनिधि चयन गर्दैछ ।

प्रतिनिधिसभा निर्वाचन क्षेत्र अन्तरगतबाट संगठित सदस्यहरुको संख्याका आधारमा बागलुङको क्षेत्र नम्बर १ बाट ४ पुरुष र २ महिला सहित ६ जना, क्षेत्र नम्बर २ बाट ३ पुरुष र १ महिला गरी ४ जना तथा जिल्लाभरीबाट २ जना दलित गरी १२ जना प्रतिनिधि चयन हुने भएका छन् ।

प्रतिनिधि चयन गर्नका लागि प्रदेश कमिटिले निर्वाचन कार्यक्रम तय गरी पठाएकोछ । निर्वाचन कार्यक्रम अन्तरगत कात्तिक २४ गते ११ बजेभित्र मतदाता नामावली प्रकाशन, ५ बजेसम्म निर्वाचन क्षेत्र छनौट, २५ गते बिहान १० बजेदेखि ५ बजेसम्म उमेदवारी दर्ता, बेलुकी ६ बजे उमेदवारको नामावली प्रकाशन, २६ गते बिहान १० बजेसम्म उमेदवारीमाथि दावा विरोध, ५ बजेसम्म उमेदवारी फिर्ता, २७ गते प्रतिनिधि छनौट र घोषणा कार्यक्रम रहेको छ ।

वैठकले प्रतिनिधि चयन प्रक्रियालाई प्रदेश निर्वाचन क्षेत्र अन्तरगत ४ वटा केन्द्रमा व्यवस्थापनका लागि बागलुङ नगरपालिकाका कृष्ण पाठक, कुश्मिसेरामा सावित्रा राना, बडीगाडमा विष्णु भुषाल र ढोरपाटनमा लक्ष्मण पुनलाई संयोजनको जिम्मेवारी दिएको छ ।

महाधिवेनका लागि प्रतिनिधि संख्या थोरै भएको र आकांक्षी धेरै भएकाले निर्वाचन हुन सक्ने संभावनालाई मध्यनजर गरी निर्वाचन कार्यक्रम तय भएको छ । कात्तिक २६ गतेसम्म सर्वसम्मतको प्रयास गर्ने र नभएमा निर्वाचन गर्ने तयारी एमाले बागलुङले गरेको छ । सर्वसम्मत नभएर निर्वाचनमै जानु पर्ने भएमा २७ गते मतदानको तयारी गरिएको जिल्ला सचिव विष्णु भुषालले जानकारी दिनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *