राजनीतिमा युवाको अग्नी परीक्षा

सम्पादकीय
अहिले नेपाली राजनीतिमा उतार चढाव चलिरहेको छ । मुलुकको नयाँ संविधान २०७२ ले परिकल्पना गरेको नयाँ संघीय व्यवस्था कार्यान्वयनका क्रममा तीन तहको निर्वाचन भयो । र नेपाली इतिहासमा पहिलो पटक केन्द्र अर्थात् संघ, प्रदेश र स्थानीय तह गरेर तीन वटा सरकार बन्यो । गाउँ गाउँमा सिहंदरबार भन्ने उद्घोष सहित नागरिकका सानातिना माग र समस्या समाधान गर्न स्थानीय सरकार बन्यो । स्थानीयले सम्बोधन गर्न नसक्ने काम प्रदेश सरकार र प्रदेश सरकारले पनि सम्बोधन गर्न नसक्ने काम केन्द्र संघ सरकारले गर्ने अवधारणाबाट बनेका तीन तहका सरकारले केही सकारात्मक काम पनि गरे । तर, तेस्रो वर्ष पार गरे यता सत्तारुढ दलहरु बिचमै किचलो, विवाद उत्कर्षमा पुग्यो । केन्द्रीय राजनीति तातिरहे पनि जिल्ला र गाउँ तहमा राजनीतिक गतिविधि यसक्रममा निकै सुस्त बने ।

राजनीतिक स्थिरताको अपेक्षा, विश्वास र भरोसामा बसिरहेका बेला सत्तारु दलहरु विभाजित, संसद बिघटन जस्ता आश्चर्यजनक घटना भयो । देशले अप्रिय राजनीतिक घटनाक्रमको सामना गरिरहेका बेला मुख्य राजनीतिक दलहरु अनिवार्य रुपमा पार्टी महाधिवेशन गर्नैपर्ने दबाबमा थिए । नेपाली कांग्रेस, नेकपा एमालेले यसका लागि आवश्यक कदम अघि बढाएका छन् । जस अनुसार कांग्रेसले वडा र पालिका तहको निर्वाचनबाट नयाँ नेतृत्व र प्रतिनिधि चयन गरिसकेको छ भने एमालेले पनि वडा र पालिकाको नेतृत्व चयन सकेर अब मंसिरमा चितवनमा हुने महाधिवेशनका लागि जिल्ला, क्षेत्र र प्रदेश प्रतिनिधि छनोटमा सक्रिय छ । यसक्रममा वडा तहमा नेपाली कांग्रेसको उत्साहजनक युवा सहभागिता देखियो । एमालेमा पनि युवाहरुको उपस्थिति बढ्यो । तर, यी युवाहरुले पार्टी संगठनलाई अब के कसरी हाँक्छन् ? भन्ने सवाल मुख्य बनेको छ ।

राजनीति र हर क्षेत्रमा युवाको नारा र उपस्थिति बाक्लो छ । अहिले मुख्यतः कांग्रेस, एमालेको वडा र पालिका तहमा युवाहरुको उल्लेख्य उपस्थिति हुनु नेपाली राजनीतिका लागि सुखद हो । तर, अहिले नेतृत्वमा आएका युवाहरुले कसरी पार्टी संगठन चलाउँछन् ? आफ्नो व्यक्तिगत शिक्षादिक्षा र भविष्य बनाउने समयमा राजनीतिमा कति टिकाउ हुन सक्छन् ? युवाहरुका लागि स्वयम् व्यक्तित्व र नेतृत्व क्षमता निखार्न विद्यार्थी र युवा संगठनहरु पनि छन्, त्यसमा रहँदा उनीहरुले कति नेतृत्व कौशल देखाउन सके ? आफ्नो पदिय जिम्मेवारी र भूमिका निर्वाह गरे ? यी यावत विषय, सवाल र प्रश्नले अहिले राजनीतिमा उदाएका युवाहरु घेरिएका छन् । यो युवा नेतृत्वका लागि एक किसिमको अग्नी परीक्षा हो । यसमा युवाहरुलाई असफल हुने छुट छैन ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *