सज्जन कुमार सिंह
मूल त कम्युनिष्टहरु माक्र्सवादी चिन्तन र दर्शनमा विश्वास गर्छन् । माक्सवादी दर्शन सर्वहारावर्गको विश्व दृष्टिकोण हो । यसलाई द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवाद भनिन्छ । यो एक वैज्ञानिक दर्शन शास्त्र हो । यही दर्शन शास्त्रको मूल बाटो र कम्युनिष्टको झण्डा मुनि रहेका नेपाली कम्युनिष्टहरुले आफ्नो मूल सैद्धान्तिक बाटो बिराउदै गएका छन् ।
प्रजातन्त्रिक,धार्मिक मान्यता राख्ने पार्टीहरु भन्दा आफूलाई निकै क्रान्तिकारी र परिवर्तनकारी ठान्ने कम्युनिष्टहरु व्यवहारिक र साँस्कृतिक रुपमा निकै गिरिसकेका छन् । उनीहरुले कम्युनिष्ट मान्यताको आधारभुत कुराहरु समेत छाड्दै गएका छन् । माक्सवादी दर्शनको जन्म ऐतिहासिक आवश्यकताको कारणबाट भएको थियो । विश्व राजनीतिक रंगमञ्चमा एक स्वाधीन शक्तिको रूपमा देखा परेपछि सर्वहारावर्गको लागि एक साँच्चिकै वैज्ञानिक दर्शनको खाँचो थियो । त्यो एक प्रकारको ऐतिहासिक आवश्यकता पुरा गर्न माक्सवादी दर्शन अब अर्थात् द्वन्द्वात्मक र ऐतिहासिक भौतिकवादी दर्शनको उदय भयो ।
विश्वको क्रान्तिकारी रूपान्तरण गर्ने ऐतिहासिक जिम्मेवारी बहन गरेको सर्वहारा वर्गको प्रयासलाई माक्सवादी दर्शनले सैद्धान्तिक आधार प्रदान ग¥यो । माक्सवादी दर्शनमा सर्वहारा वर्गले संसारलाई ठिक सँग बुझ्ने र त्यसलाई बदल्ने एक अचुक बौद्धिक अस्त्र भेटायो । लेनिनको भाषामा भन्नू पर्दा “माक्सको दर्शन एउटा यस्तो परिपूर्ण भौतिकवाद हो, जसले मानव जातिलाई र खास मजदुर वर्गलाई ज्ञानका शक्तिशाली औजारहरू प्रदान गरेको छ ।“
आम सर्वहारा शोषित, पीडित थिचोमिचोमा परेका बर्ग, क्षेत्र, लिंगको समुदायलाई समग्र रुपमा माथि नउठाए सम्म कुनै पनि देश र भुगोलको समान विकास कदापि हुँदैन ।यस्तै चर्का नारा रन्काउने नेपाली कम्युनिष्टहरुको पतनको मूख्य कारण पनि यही बनिरह्यो कि उनीहरुले माक्सवादि दर्शन र मान्यतालाई नीहित स्वार्थमा परि छाड्दै गए । माक्सले भने झै “जसरी दर्शनले र्सवहारा वर्गमा आफ्नो भौतिक हतियार भेटाउँछ, त्यसरी नै र्सवहारा वर्गले दर्शनमा आफ्नो बौद्धिक हतियार भेटाउँछ ।“ आफ्नो मुख्य हतियार नै बिर्सेर देश बदल्न हिँडेका धेरै नेताहरु बदलिएँ । उनीहरुको खाने शैली, लगाउने कपडाको ब्राण्ड अनि उनीहरु उठबस गर्ने व्यक्तिहरु बदलिए तर देश र आम सर्वहारा वर्गको अवस्था जहाँको त्यही छ ।
मूलतः भौतिकवादमा विश्वास गर्ने भनिएका कम्युनिष्टहरुको साँस्कृतिक र धार्मिक चेत व्यवहारिकतः निकै बिडम्बनापूर्ण, निरिह छ । उनीहरु आज पनि ढुंगा,मूर्ति र भैंसी पूजामा विश्वास गर्छन् । गरिब, निमुखा र गरिबको झुपडीको प्रतिनिधित्व गर्ने भनेका नेताहरु घर, बंगला र सुनचाँदी जोड्नमा व्यस्त छन् । आजकाल उनीहरुलाई अलि मैला कपडा लगाएका, श्रम गर्नेहरु गन्हाउन थालेको छ । उनीहरुको बर्ग नै फेरिएको छ ।
कम्युनिष्ट हुनलाई के–के गर्न पाइने ? के–के गर्न नपाइने भन्ने सीमाहरु आजकाल भताभुंग भएका छन् । आफूलाई कम्युनिष्ट भन्न रुचाउनेहरुले जतिसुकै रूढिवादी परम्परा अँगाले पनि जति नै ढोंगी संस्कृति संस्कार अंगाले पनि आफूलाई अरु भन्दा फरक, अरु भन्दा क्रान्तिकारी नै सम्झन्छन् ।
सामाजिक, साँस्कृतिक रुपमा विचलित व्यक्तिहरुलाई कसरी कम्युनिष्ट भन्ने ? जसले इश्वरीय शक्ति, राम लक्ष्मण,सीता र लक्ष्मीलाई आफ्नो मूख्य शक्ति ठान्छन् । जो मनोकामना पूरा होस् भन्दै बोका, राँगा र पशुहरुको बध गरेर आफ्नो मनोकामना पूरा होस् भन्छन् । राम,ठोरि र मन्दिरका लागि मरिहत्ते गर्छन् । छोराछोरीका विवाहमा सुनचाँदीले छापेर पुरै पुजीवादीहरुले जस्तो गरि विवाह गर्छन् ।
सर्वहाराको मुक्तिका लागि लड्ने कम्युनिष्ट नेताहरु सात पुस्तालाई पुग्ने सम्पत्ति जोड्नमा सबै शक्ति केन्द्रित गर्दैछन् । यसकै प्रतिफल आजकाल आरोप लाग्न थालेको छ कि कम्युनिष्टहरु त ‘कमाउनिष्ट’ हुन थाले । के अझै पनि यो आरोपलाई चिर्ने बेला भएन त ?