आदर्श अनलाइन, बागलुङ
नेकपा एमालेको दशौँ राष्ट्रिय महाधिवेशनका लागि बागलुङ क्षेत्र नं. १ बाट २ महिला र अन्य ४ सहित ६ जना सर्वसम्मत चयन भएका छन् । महाधिवेशन प्रतिनिधिमा पार्टीका जिल्ला अध्यक्ष इन्द्रलाल सापकोटा, प्रदेश कमिटि सचिवालय सदस्यहरु जनक पौडेल र हिरा बहादुर केसी, प्रदेश कमिटि सदस्य तथा संघीय सांसद डा.सूर्य पाठक सर्वसम्मत चयन हुनु भएको हो ।
२ जना महिलातर्फ प्रदेश कमिटि सदस्य गीता शर्मा र जिल्ला सचिवालय सदस्य तथा प्रदेशसभा सदस्य सावित्रा राना चयन भएको एमाले जिल्ला सचिव विष्णु प्रसाद भुषालले जानकारी दिनुभयो ।
सर्वसम्मत गराउनका लागि बिहानै देखि बसेको कार्यदलले सर्वसम्मत रुपमा प्रतिनिधिको नाम घोषणा गरेको हो । महाधिवेशन प्रतिनिधिका दावेदारहरु सहित बिहान बसेको बैठकले केन्द्रीय सदस्य गोविन्द बहादुर नेपाली, केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज मन कुमारी केसी जिसी र जिल्ला सचिव विष्णु भुषाललाई सर्वसम्मत गराउने जिम्मेवारी दिएको थियो ।
यस्तै एमाले गण्डकी प्रदेश कमिटिबाट प्रदेश कमिटि सदस्य तथा जैमिनी नगरपालिकाका उपप्रमुख लिला राना चयन हुनु भएको छ । बागलुङ क्षेत्र नम्बर दुइबाट यस अघि नै महिलातर्फ जिल्ला सचिवालय सदस्य यमुना राना तथा अन्य ३ जनामा प्रदेश कमिटि सदस्यहरु मोहनलाल शर्मा, सञ्जय शेरचन (सुनिल) र तुलसीराम अर्याल सर्वसम्मत चयन हुनु भएको छ ।
जिल्लाबाट चयन हुने दुई जना दलित प्रतिनिधिमा एमाले प्रदेश कमिटिका सदस्य तथा ढोरपाटन नगरपालिकाका प्रमुख देव कुमार नेपाली र एमाले बागलुङ नगर कमिटिका अध्यक्ष धन बहादुर परियार यस अघि नै सर्वसम्मत चयन भएको निर्वाचन समितिका अध्यक्ष विष्णु प्रसाद शर्माले जानकारी दिनुभयो ।