जिवन शाक्य
जति बढी एकेडेमिक ज्ञानको डिग्री हासिल गरे पनि ध्यान फलित भएर शान्ति, स्वास्थ्यको अनुभुति नभएको मान्छेहरुको जिन्दगी आखिरमा माग्नेले पैसा, खाना मागे जस्तै मनले शान्ति, स्वास्थ्य, सन्तोष मागिरहेकै हुन्छ ।
भगवान गौतम बुद्ध भन्नुहुन्छ– “असल आचरणलाई नै मैले सबै भन्दा श्रेष्ठ, उच्च मान्दछु” । आचरण वा व्यवहार स्वच्छ, स्वस्थ, स्पष्ट र दृढ नभए सम्म कुनै पनि मान्छेको जीवन सार्थक शान्त सफल हुनै सक्दैन । वास्तवमा मान्छेको मूल्यांकन उसको आचरण वा व्यवहारले नै गरिन्छ र मान्छेलाई असल खराब महान भनेर आचरण जीवनशैलीबाट नै छुट्याएका हुन्छौ । राम्रो कुरा देख्न, सुन्न उपभोग गर्न सबैलाई मन पर्छ, बिग्रृेको भत्केको फोहोर दुषित कुरो कसैलाई मन पर्दैन । नरम सम्मानपूर्ण मिठासले भरिएको बोलि, बचन र व्यवहार कसलाई मन पर्र्दैन होला ? त्यसैले स्पष्ट छ, उच्च, श्रेष्ठ आचरण ब्यवहार गर्न सक्ने क्षमता दक्षता विकसित गर्नु नै मान्छेका लक्ष्य, उद्धेश्य हुनु पर्छ भन्ने हो ।
भगवान गौतम बुद्धले बुद्धत्व प्राप्त गरेपछि यही सन्देश दिनु भएको थियो । पञ्चशील, अष्ट मध्यम मार्ग जस्ता महान मानविय शील र आचरणको बाटो जुन विधि सम्मत थियो, मानव मात्रको कल्याणको खातिर थियो, तत्कालिन बाटोघाटोको सुविधा नभएको बेलामा पनि नेपालको तराई भाग र भारतको विभिन्न ठाउँमा पैदलै देशना गर्दै सिकाउनु भयो । उहाँको शील आचरणलाई अनुसरण गरेर तत्कालीन समयमा धेरै मान्छेहरुले निर्वाण प्राप्त गर्न सकेको इतिहास छ । सम्रात राजा अशोक जसले आफना भाई भारदारहरु लगायत धेरै मान्छेहरुलाई मारेर भारत वर्षको धेरै साना साना राज्यहरुलाई युद्धमा जितेका थिए, पछि बुद्ध शिक्षाको शरणमा परेका थिए र उहाँले नै विजया दशमीको दिनलाई अहिंसा दिवसको रुपमा मनाउने चलन चलाउनुभएको थियो ।
नेपालको कपिलवस्तुमा जन्मेका सिद्धार्थ गौतमले बुद्धत्व पाउनु भएको ध्यान तपस्याले नै गर्दा हो । उहाँमा शुद्ध स्वभाव आचरण त पहिला देखि नै थियो तर ध्यान वा कठिन तपस्यामा लागेर बुद्धत्व प्राप्त गर्न सफल हुनु भएको इतिहास छ । आज पनि भारतमा जति पनि ठूला ठूला सन्त ऋषि मुनीहरु छन्, भए, शुद्ध शील आचरणका साथै ध्यानको मार्ग अपनाउन सकेरै भएका थिए । साथै उहाँहरुले सबैलाई ध्यान साध्न वा ध्यानमा केन्द्रित हुन नै सिकाइ रहेका देखिन्छन् । ध्यान नै एउटा यस्तो बहुमुल्य मार्ग हो, जसबाट निर्मल, सुक्ष्म सम्वेदनशीलता, होश चेतनाको विकास हुन्छ भनिन्छ । ध्यान फलित हुनको लागि शरीर, मन, आचरण, ब्यवहार, शुद्ध निर्मल हुनु अति आवश्यक हुन्छ । ध्यानवाट कुनै पनि मान्छेले आफ्नो कमजोरी, क्षमता, गुणहरु जान्ने अवसर प्राप्त गर्न सक्छ । आफनो र अरुको स्वभाव वास्तविकता, सत्य के हो ? थाहा पाउन सक्षम भई श्रेष्ठ आचरण गर्र्ने क्षमता प्राप्त गर्न सक्छ भनिन्छ । अतितको पछुतो र भविष्यको चिन्ताबाट मुक्त भई वर्तमानमा सचेत सजग भई काम गने प्रेरणा हौसला ध्यानवाट प्राप्त हुन्छ भनिन्छ ।
प्रकृतिको विधि, नियमलाई अनुशरण गर्नै पर्छ, बोलिचाली, मन, बचन, व्यवहारले अरुलाई घात हुने गरि काम गर्र्ने वा हिंसाको बाटोवाट ध्यानको मार्ग फलित हुन सक्दैन, यस्तो बाटो त्याग्नै पर्छ । ध्यानका लागि धैर्यता अति आवश्यक कुरो हो । मनको चञ्चलतालाई नबुझने र काम क्रोध, लोभ, मोह अहंकार, द्धेषको दिल दिमाग अशान्त, दुषित भ्रमित गर्ने प्र्रवृतिले ध्यानको मार्गमा ठुलो बाधा, अड्चन पैदा गर्छ । किनभने ध्यान भनेको श्वास, शरीर र मनको सुक्ष्म क्रिया, गति, दबाब, धड्कन, कम्पन चाहे जति नै तिव्र प्रतिकुल कठिन.नै किन नहोस्, जानेर थाहा पाएर बिना प्रतिक्रिया लामो समय सम्म निरीक्षण, अवलोकन गर्ने विधि हो भनिन्छ । यो बाटोबाट गुज्रदै गर्दा शुरुमा कम्ती सकस हुँदैन । तर, थाहा पाउदै बिना प्रतिक्रिया सकारात्मक र श्रद्धापूर्वक निरीक्षण गर्दै अघि बढ्दै जादाँ पछि विस्तारै शान्ति, विश्राम, स्वास्थ्यको अनुभुति हुन्छ । यसमा धेरै लामो समय सम्म गुज्रन सक्ने क्षमता विकसित भयो भने ठूलो दैवी इश्वरिय शक्ति पाउन सकिन्छ भनिन्छ । विना शान्ति स्वस्थताको अनुभव मान्छेको जीवन अपुरो र असन्तोष, रोगी हुन्छ । यसको लागि भौतारि राख्ने हुन्छ भनेर सन्तहरुले भन्ने गरेका छन् ।
भन्तेहरुको जीवनलाई नियाल्ने अध्ययन गर्ने हो भने हामी यस्तै पाउँछौ । उहाँहरुले विहान नास्ता, एकछाक विहान खाना खानु हुन्छ, बेलुकी चपाउने कुरा खानु हुन्न । एउटै पहेलो वस्त्र, पहिरन गरेर विहान सबेरै उठ्ने नियमित रुपमा शौच क्रिया गरेर केही योग, ब्यायाम गरेपछि उहाँहरु शान्त, स्वच्छ कोठामा सजिलो आसनमा ढाड सिधा राखेर ध्यानमा बस्नु हुन्छ । खानै नखाइकन ३ दिन,७ दिन पनि ध्यान बस्नु हुन्छ । भगवान बुद्धको १० पारमिता शिक्षा अन्तर्गत नै पञ्चशील अष्टशील, ध्यान मार्गका धेरै विधि, अनुशासन संघको नियम अनुसार पालन गर्नुहुन्छ । तर, सबैै राम्रा सन्त छन् भन्न सकिदैन । कोही क्रोध मोहको आगो ओकल्नेहरु र लोभ मोहमा पनि फसेका छन्, होला । नयाँ भन्ते गुरुमाहरु र सांसारिक लोक जीवनमा बाँच्नेहरु पार्टी नेता, कार्यकर्ताहरुमा सकारात्मक सोच ब्यवहारको मात्रा त्यति फरक हुदैन, उचाई कम नै हुन्छ र बाहिरी आकर्षणमा फस्छ नै ।
शुरु शुरुमा श्वासलाई माध्यम बनाएर आउने जाने श्वासको क्रिया गति जस्तो छ, त्यस्तै रुपमा हेर्ने अवलोकन गर्ने, गर्दै गएपछि विस्तारै पछि मुटुको धड्कन, कम्पनको गति, भाव, चाप, दबाब जहाँ भए पनि स्वीकारपूर्वक हेर्ने निरीक्षण गर्ने शरीरको आसनलाई नखल्बल्याइकन अवलोकन गर्दै जाने भनेर भन्तेहरु सिकाउनु हुन्छ । कुनै इश्वरको कल्पनामा एकाग्र भएर बस्ने ध्यान होइन भन्नुहुन्छ । एउटै आसनमा शुरुमा ५,१० मिनेट नचलिकन बस्न पनि कठिन हुन्छ । कुरा त्यतिकै खेल्छ, शंका उपशंका धेरै उठ्छ । तर, विस्तारै बस्न सक्ने हेर्ने अवलोकन गर्ने बानीले श्वास, मनको आन्तरिक क्रिया गतिको तरंग, कम्पन दबाब चाप जुन शरीर मनमा विकृति, विसंगतिको थुप्रो हो । विस्तारै बाहिर निस्कदै शमन भएर स्वस्थ स्वच्छ हुदै आउँछ भन्नुहुन्छ । ध्यान एउटा कला, विधि हो, लामो सिढी हो, जुन जीवन रहुन्जेल मान्छेलाई अपनाउनु आवश्यक छ । यसबाट विचलित हुनु पलायन हुनु नै दुःख, कष्ट रोगको भूमरीमा फस्नु हो भनिन्छ । ध्यानका लागि एक्लै घरमा र समूहमा पनि बस्ने वानीको विकास गर्नु आवश्यक छ भनिन्छ ।
अअmै पनि जन्मेदेखि सिकेको राग द्धेष, तेरो मेरो काम, क्रोध, लोभ, मोहको संस्कार, अभाव गरिबीको करिव ४,५ दशकको अवस्था कटेपछि पनि संघर्षमय भोगाईले गर्दा निद्रा सपना वेहोशीमै बित्छ । कहिले निद्रामा डराएर बोलिरहेको चिच्याएको हुन्छु, कतिपय काम हतारमा गर्ने बानी हटिसकेको छैन । कतिपय निद्रा नराम्रो सपना देखेर ब्युँझिदाँको अवस्था नियाल्दा हेर्दा मुटुको धड्कन, कम्पन शुरुमा तिव्र गतिमा चलिरहेको हुन्छ । श्वास अस्वभाविक लाग्छ, शरीरको विभिन्न भागमा चाप दबाब हुन्छ । भाव पनि नमिठो सहन कठिन जस्तो लाग्छ, रागको राँको ओकलिराखेको जस्तो देखिन्छ । कतै खुट्टा पाइतालामा नमिठो दुखाई भए जस्तो पनि हुन्छ । घरिघरि कोल्टेपाल्टे फेर्न पर्ने जस्तो भाव उठ्छ । शुरु शुरुमा र पहिला पहिला कति कोल्टेपाल्टे फेरियो ठेगान नै छैन । यस्तो क्रिया घटना बेहोशी अवस्थाले घेर्दा बराबर भइरहेको महशुस हुन्छ । तर, यो सबै आप्mनै नकारात्मक सोच, कर्म र भोगाईको फल सम्झेर सकारात्मक रुपमा लिदै हेर्ने निरीक्षण गर्ने केही बानी बसेको छ । राती र विहानपख उठ्दा ओछ्यानमा पल्टिएको अवस्थामानै नचलिकन अवलोकन गर्दै जाने हुन्छ । शरीर र मन अझै गल्तीले अचेत अवस्थामा क्रोध, लोभ मोह र रागको संस्कारमा फस्दा आगोको राको ओकलिराखेको जस्तै हुन्छ । खानपान बढी मसलेदार, चिल्लो, नुन चर्र्को, केही बढी पिउँदा पनि शरीर मन हेर्न नसकिने अवस्थामा गए जस्तोे अनुभूति हुन्छ ।
विहान सवेरै योग पछिको सकारात्मक सोच र ध्यानको अवस्थामा श्वास, मुटुको गति, शरीरको आन्तरिक गति तरंग शान्त, संगितमय जस्तो पनि महशुस हुन्छ । जस्तो तलाउको पानीमा ढुंगा हान्दा छालको तरंग आउँछ र केही छिन पछि विस्तारै शान्त, स्वच्छ र आफ्नै छवि देखिने हुन्छ । त्यस्तै विचार, भावहरु पनि तरंग र छाल जस्तै उठ्ने र विस्तारै जाने हुन्छ । प्रेसर कुकरको आवाज विस्तारै बन्द हुने बेलामा शान्त मिठो भए जस्तो । ध्यानको अवस्थामा श्वास, शरीर, मन मुटुको आन्तरिक सुक्ष्म क्रिया संग खानपान, रिस, राग, मोह, द्धेष, अहंकार संग सम्बन्धित छ भन्ने लाग्छ । स्वास्थ्य के हो ? विश्राम के हो ? शान्ति के हो ? यसको गहनता जानकारी भए जस्तो हुन्छ । तर, ध्यानको यात्राको सिढी अझै चढ्नु पर्ने र गहि¥याउनै पर्ने अनुभूति भएको छ । ध्यानको मार्गवाट नै सार्थक जीवनको अनुभूति गर्न सकिन्छ जस्तो लाग्छ । ध्यान विनाको अहंकारी बेहोशी जीवनले कति दुर्घटना निम्त्यायो ? कति क्षति हानी नोक्सानी भयो, भईरहेको छ ? यसको लामो इतिहास छ ।
ध्यान बिनाको अचेत नकारात्मक जीवनले हत्या, हिंसा, युद्धको थुप्रै काण्डहरु नेपालमा र विश्वमा पनि अझै घटिरहेको छ । जति बढी एकेडेमिक ज्ञानको डिग्री हासिल गरे पनि ध्यान फलित भएर शान्ति, स्वास्थ्यको अनुभुति नभएको मान्छेहरुको जिन्दगी आखिरमा माग्नेले पैसा, खाना मागे जस्तै मनले शान्ति, स्वास्थ्य, सन्तोष मागिरहेकै हुन्छ । बेकार सार्थकता नभएको जस्तो लाग्छ, किनभने मानसिक, सामाजिक र आध्यात्मिक स्वास्थ्य सोच, चेतनाको विकास हुन पाउदैन । भवतु सब्ब मंगलम् ।