धौलागिरी क्षेत्रमा भीषण हिम पहिरो,भागदौडमा दुई शिक्षक र एक विद्यार्थीको खुट्टा भाँचियो

एसके थकाली, मुस्ताङ

मुस्ताङको थासाङ गाउँपालिका-२ कोवाङ,लार्जुङ र बोक्सी खोला माथिको हिमाली लेकमा भीषण हिम पहिरो गएको छ ।

आइतबार बिहान करिब ११ बजे तिर हिम पहिरो गएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय मुस्ताङका अनुसार थासाङ गापा माथि धौलागिरी क्षेत्रको मानापाथी हिमालबाट हिम पहिरो खसेको हो। जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक आशिष अधिकारीका अनुसार हिम पहिरो करिब ३० मिनेटसम्म जारी रहेको थियो ।

हिमपहिरोका कारण थासाङ गापाको वडा-२ को कोवाङ,लार्जुङ,नाउरिकोट,बोक्सी खोलालगायतमा बसोबास गरेका स्थानीयको भागदौड चलेको थियो । हिम पहिरो खसेका कारण बेनी(जोमसोम सडक यातायात समेत ३० मिनेट सम्म प्रहरीले बन्द गर्नु परेको थियो । प्रहरी निरीक्षक अधिकारीका अनुसार मानापाथी हिमालबाट खसेको हिम पहिरोका कारण बोक्सी खोलाको पानीको बहाव समेत तेब्बर भएको थियो ।

धौलागिरी क्षेत्रको मानापाथी हिमालबाट उर्लिएर खसेको हिमपहिरोका कारण कोवाङमा अवस्थित जनआर्दश अमरसिंह माध्यमिक विद्यालयका शिक्षक तथा विद्यार्थीको भागदौड चलेको विद्यालयका निमित्त प्रधानाध्यापक खेम गुरुङले जानकारी दिनुभयो ।

उहाँका अनुसार हिम पहिरोका कारण विद्यालयमा भागदौड हुँदा दुई शिक्षक र एक विद्यार्थीको खुट्टा भाँचिएको छ। ‘ धौलागिरि आधार शिविरबाट ठूलो भिषण हिमपहिरो आयो,विद्यालय शैक्षिक पठन(पाठन चलिरहेको थियो,‘उहाँले भन्नुभयो,’ हिम पहिरो खसेको पत्तो पाएपछि विद्यालयका सबैमा भागदौड सुरु भयो ।’

विद्यालयका प्राधानाध्यापक गुरुङले अहिले विद्यार्थी र शिक्षक लगायतलाई सुरक्षित स्थानमा स्थान्तरण गरिएको जानकारी दिनुभयो । उहाँले अझै थप हिम पहिरो जानसक्ने भएकाले विद्यालयका सबैलाई सुरक्षित स्थानमा सारिएको बताउनुभयो ।

स्थानीयका अनुसार हिम पहिरोका धक्काको असर कोवाङ,लार्जुङ,बोक्सी खोला र नाउरिकोट समेतमा परेको थियो । अहिले सो क्षेत्रमा तीब्र गतिमा हावा चलेको स्थानीय बताउँछन् । जिल्ला प्रहरी कार्यालय मुस्ताङले अहिले हिम पहिरो रोकिएको र कोवाङ प्रहरी चौकीका इञ्चार्ज नेत्र जिटीसहितको ६ जनाको प्रहरी टोली घटनास्थल अवलोकन गर्न पुगेको प्रहरी निरीक्षक अधिकारीले जनानुभयो ।

‘हिम पहिरोको अवस्था ,हिम पहिरोले कहाँ कहाँ के कति क्षति पुर्‍यायो सोबारे जानकारी लिन प्रहरी टोली खटाएका छौं, प्रहरी निरीक्षक अधिकारीले भन्नुभयो, ‘अहिले म्म भौतिक तथा मानवीय क्षतिको जानकारी आएको छैन ।’

प्रहरीका अनुसार थासाङ-२ को हिम पहिरो जोखिम क्षेत्रका घरधुरीलाई सुरक्षित स्थानमा स्थान्तरण गर्ने तयारी भइरहेको जनाइएको छ ।

केही वर्षअघि सो क्षेत्रमा हिम पहिरो खस्दा थासाङ(२ क्षेत्रमा भौतिक तथा मानवीय क्षति भएको थियो । खर्कको चरनक्षेत्रमा रहेका याकरचौरीहरु समेत मरेका थिए। पछिल्लो समय जलवायु परिवर्तनका प्राकृतिक विपद्का घटनाहरु हुन थालेका छन् ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *