–आदर्श अनलाइन, बागलुङ
विप्लप नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले आज आव्हान गरेको नेपाल बन्दको बागलुङमा प्रभाव परेको छ ।
पेट्रोलिमय पदार्थ र खाना पकाउने एलपी ग्यासको मूल्य बृद्धिको बिरोधमा नेकपाले नेपाल बन्द गरेको छ । बन्दको प्रभावले बागलुङ बजार सुनसान बनेको छ भने यातयातका साधनहरु ठप्प भएका छन् । बजार सहित मध्यपहाडी राजमार्गमा बाक्लो सुरक्षाकर्मी परिचालन गरिएको छ । यातयातका साधन ठप्प हुँदा यात्रुहरु अलपत्र परेका छन् ।
बागलुङ बजारमा बन्द गराउदै हिड्ने छिटफूट मात्रै नेता कार्यकर्ता देखिएपनि बजारक्षेत्र भने ठप्प भएको छ । बन्दको प्रभाव शैक्षिक संघ संस्था तथा वित्तिय क्षेत्रमा समेत पर्ने देखिएको छ । जबरजस्ती बन्द गराउनेहरु नदेखिएको भएपनि बजार सुनसान भएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायव उपरिक्षक इकवाल हवारीले जानकारी दिनुभयो ।
अहिलले सम्म बन्द गराउदै हिड्ने नेता कार्यकर्ता पक्राउ नगरिएको प्रहरीको भनाई छ । प्रहरीले बन्दलाई लक्षित गरी बाक्लो सुरक्षाकर्मी परिचालन गरेको छ । बागलुङ जिल्लाको ठाउँ–ठाउँमा शसस्त्र प्रहरी र नेपाल प्रहरी परिचालन गरेको छ । बागलुङमा हाल सम्म कुनै अप्रिय घटना भने नभएको प्रहरीको भनाई छ ।