सम्पादकीय
राष्ट्रिय जनगणना १० वर्षमा यसपटक भइरहेको छ । प्रत्येक १० वर्षको अन्तरालमा गरिने भएकाले पनि यसको महत्व सहजै अनुमान गर्न सकिन्छ । २०६८ सालमा गरिएको राष्ट्रिय जनगणना २०७८ मा भइरहेको छ । केही महिना पहिले देखि नै यसको तयारी गरिए पनि कोरोना भाइरसको संक्रमण लगायतका कारण स्थगन भयो । र अहिले फेरि देशभर सुपरभाइजर र गणक खटाएर जनगणना गर्ने क्रम जारी छ । यसरी जनगणना गर्दा गणकहरु जिम्मेवार नभएको गुनासो एक पछि अर्को आउन थालेको छ । यो दुखद र गम्भीर कुरा हो ।
गणनाका क्रममा पेन्सिल प्रयोग गरिएको विषय, नागरिकले भन्ने गणकले अर्कै लेख्ने, नागरिक काम विशेष या खेतिपातीले घरमा नभए छिमेकीलाई सोध्ने र काम चलाउ हिसाबले तथ्यांक संकलन गर्ने, धर्म, जाति लगायतका सवालमा रेडिमेड उत्तर लेख्ने लगायतका गुनासाहरु अहिले आइरहेका छन् । बुधवार मात्रै बागलुङ जिल्लाको निसीखोला गाउँपालिका वडा नम्बर ६ मा जनगणनाका लागि खटिएका गणकहरुले लापरवाही गरेको समाचार सार्वजनिक छ । निसीखोला वडा नम्बर ५ र ६ का नागरिकहरुले जनगणनामा खटिएका गणकले जनप्रतिनिधिसँग कुनै पनि समन्वय नगरि त्रुटीपूर्ण गणना गरेको भन्दै सच्याएर पुनः गणना गर्न माग गरेका छन् । उनीहरुले गणकले गणना फर्म नभरी एकमुष्ट कापीमा विवरण संकलन गरेको पाइएको छ । यो गणनाको भावना, मर्म विपरितको कार्य हो ।
राष्ट्रिय जनगणना केबल जनसंख्याको पहिचानका लागि मात्र होइन, जनगणनामा सोधिएका अनेक प्रश्नबाट आउने देशको तथ्य र तथ्यांकले हर क्षेत्रको विकास, समृद्धि र परिवर्तनमा योजनावद्ध ढंगले काम गर्न सघाउ पु¥याउँछ । कुन कुन क्षेत्रमा देशको के कस्तो अवस्था छ, हामी अब के कसरी अघि बढ्नुपर्छ ? जस्ता प्रश्न र सवालमा नीति निर्माण देखि राज्य सञ्चालकहरुलाई सोच्न र सोही अनुरुपका योजना बनाउने प्रमुख आधार बन्छ । पहिलेको तुलनामा अहिले नागरिकमा गणनामा सही तथ्यांक आउनुपर्छ, र दिनुपर्छ भन्ने जागरण व्यापक छ । त्यो जातिगत सवालदेखि धार्मिक सवालमा पनि समुदायगत अग्रसरता पनि देखिएको छ । गणनामा कतै अञ्जानवस त्रुटी हुनसक्छ, यसमा नियत जोडिनु हुन्न । जनगणनामा सुपरभाइजर र गणक त जिम्मेवार हुनैपर्छ, त्यतिकै जिम्मेवार हरेक नागरिक पनि हुन आवश्यक छ । अनि मात्र सही तथ्य र तथ्यांक संकलित हुनेछ ।